#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व70407433222521633149219
नेपाल5041

काठमाडौं ।
चौधरी फाउन्डेसनले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र मास्क वितरण कार्य बिहिबार पनि जारी राखेको छ । विश्वभर फैलिएको नोवेल कोरोना भाइरसको रोकथाममा सरकारले अपनाएको उच्च सतर्कतालाई सहयोग गर्न फाउन्डेसनले ती सामाग्री उपलब्ध गराएको हो ।

देशभर खटिएका फाउन्डेसनका टोलीहरूले बिहिबार जिल्ला प्रशासन कार्यालय बर्दिया, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतस्थित स्वास्थ्य सेवा निर्देशनालय, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, जिल्ला प्रशासन कार्यालय कैलाली, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, प्रदेश १ को प्रादेशिक अस्पताल, कान्ति बाल अस्पताल महाराजगन्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र रुकुम पश्चिम जिल्ला अस्पताललाई पीपीई हस्तान्तरण गरेको छ। फाउन्डेसनले बुधबार पाल्पा जिल्ला अस्पताल, कोरोना विशेष अस्पताल भरतपुर, सहज हेल्थ फाउन्डेसन गैंडाकोट, पिताउन्जी हेल्थ पोस्ट भेडाबारी, नवलपुर, प्राइमेरी हेल्थ सेन्टर दुम्कौली, लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल भैरहवा, आयुर्वेद अस्पताल दाङ र प्रदेश प्रहरी अस्पताल नेपालगन्जमा सुरक्षा उपकरण वितरण गरेको थियो ।

फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले ट्वीट गर्दै २–३ दिनभित्रमा धेरैभन्दा धेरै केन्द्रमा सामग्री पुर्याउने प्रतिबद्धता जनाएका छन् । देशभर अभाव देखिएका परिक्षण किट, मास्क, स्यानिटाइजर, अक्सिजन उपकरण, भेन्टिलेटर जस्ता सामग्री चीनका सान्जेन, ग्वान्जाओलगायत शहरमा तयार राखिए पनि ढुवानी असहजता देखिएको भन्दै उनले विमान व्यवस्थापनका लागि सरकारसँग आग्रह गरेका छन् । ‘अबको समस्या पीपीईमात्रै होइन, उपचार सामग्रीको पनि हो । ती सामग्री चीनबाट ल्याउनका लागि विमान व्यवस्थापन गरी दिन सरकारी निकायसँगै हाम्रा मित्र, साझेदारहरूसँग नियमित सम्पर्कमा छौँ ’–अध्यक्ष चौधरीले भनेका छन्–‘भारत कोरोनाविरुद्ध आफैं संघर्ष गरिरहेको अवस्थामा त्यहाँ यी सामग्रीहरू निर्यातका लागि अहिले प्रतिबन्धित छन् । तर, पनि हामीले दूतावासहरू र परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारसँग आग्रह गरिरहेका छौँ ।’

त्यस्तै उनले जतिसक्दो चाँडो र धेरै भन्दा धेरै सुरक्षा उपकरण वितरण गर्न दत्तचित्त भएर लाग्ने पनि उल्लेख गरेका छन् ।