विश्वमा आणविक हतियारको खतरा बढ्दै, अमेरिका, चीन र रुस ठूला आणविक शक्ति राष्ट्र

विश्वमा आणविक हतियारको खतरा बढ्दै, अमेरिका, चीन र रुस ठूला आणविक शक्ति राष्ट्र

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । विश्वमा आणविक हतियारको खतरा पुनः बढ्दै गएको छ । स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युट (सिपरी)को नयाँ प्रतिवेदनले आणविक हतियारको नयाँ होडबाजी बढ्दै गएको देखाएको छ ।

प्रतिवेदनमा आणविक शक्ति सम्पन्न देशहरूले अब आफ्ना हतियारहरूलाई केवल भण्डारणमा सीमित राख्नुको सट्टा मिसाइल तथा अन्य डेलिभरी प्रणाली (प्रहार गर्ने माध्यम) मा तैनाथ गरिरहेको उल्लेख छ ।

सिपरीका अनुसार विश्वमा कुल करिब १२ हजार १८७ आणविक वारहेड रहेका छन्, जसमध्ये करिब नौ हजार ७४५ सैन्य प्रयोजनका लागि उपलब्ध छन् । संस्थाले चेतावनी दिँदै शीतयुद्धपछि लगातार घट्दै आएको आणविक भण्डार अब आगामी वर्षहरूमा फेरि बढ्न सक्ने जनाएको छ ।

प्रतिवेदनअनुसार अमेरिका र रुस अझै पनि विश्वका सबैभन्दा ठूला आणविक शक्ति सम्पन्न राष्ट्र हुन् । दुवैसँग पाँच हजारभन्दा बढी वारहेड मौज्दात छन् । चीनले सबैभन्दा तीव्र गतिमा आफ्नो आणविक भण्डार विस्तार गरिरहेको छ । सन् २०३० सम्ममा चीनसँग एक हजारसम्म आणविक हतियार हुन सक्ने अनुमान गरिएको छ ।

सिपरीले विश्वव्यापी रूपमा बढ्दो भूराजनीतिक प्रतिस्पर्धा, हतियार नियन्त्रणसम्बन्धी सम्झौताहरू कमजोर बन्दै जानु तथा युक्रेन–रुस युद्धजस्ता संकटहरूले आणविक जोखिमलाई थप बढावा दिइरहेको उल्लेख गरेको छ ।

दक्षिण एसियामा पनि आणविक हतियारको होडबाजी जारी रहेको प्रतिवेदनमा उल्लेख छ । सिपरीका अनुसार भारतले आफ्नो आणविक हतियार भण्डार बढाएर करिब १९० वारहेड पुर्‍याएको छ । पाकिस्तानसँग करिब १७० वारहेड रहेका छन् ।

प्रतिवेदनमा पाकिस्तानले निरन्तर विखण्डनीय पदार्थ संकलन गरिरहेको उल्लेख छ । यसका कारण आगामी वर्षहरूमा उसको आणविक भण्डार अझ बढ्न सक्नेछ ।

संस्थाले भारत–पाकिस्तानसहित विभिन्न देशहरूमा आणविक हतियारको आधुनिकीकरण तीव्र गतिमा भइरहेको भन्दै यसलाई विश्व सुरक्षाका लागि चिन्ताको विषय बनेको बताएको छ । यो प्रवृत्तिले भविष्यमा आणविक जोखिमलाई अझ गम्भीर बनाउन सक्ने चेतावनी पनि दिएको छ । डीडब्ल्यू

Logo