६ माघ २०७८ बिहीबार

0 Shares

आज गाईजात्रा : जम्न छाड्यो हास्य कार्यक्रम

काठमाडौं,

कुनै बेला शोक बिर्साउन विभिन्न प्रहसन तथा हास्य व्यङ्ग्यात्मक कार्यक्रम गरेर गाईजात्रा गरिथ्यो । तर अहिलेको गाईजात्रा महोत्सवमा न त हाँस्न दर्शकको बाक्लो जमघट हुन्छ न त कलाकारबीच कसले बढी हँसाउने भन्ने प्रतिस्पर्धा नै चल्छ ।

तिथि अनुसार गाईजात्रा एक दिन पर्ने भए पनि नेपाली हास्य कलाकारहरूले यो जात्रा तीन दिनदेखि पाँच दिनसम्म मनाउँछन् । हास्य कलाकार मात्र नभएर अन्य विधाका कलाकार पनि व्यङ्ग्यात्मक गीत, नृत्य, अभिनयको प्रस्तुति दिँदै आउने गर्थे । पछिल्ला केही वर्षमा चर्चित हास्य कलाकार चलचित्र निर्माणमा होमिन थालेपछि गाईजात्राको रौनक अझै घटिरहेको छ । सधैँ गाईजात्राको कार्यक्रममा व्यस्त हुनुहुने हास्य कलाकार शिवहरि पौड्यालले यसपालि त्यस्तो कार्यक्रम नरहेको बताउनुभयो । उहाँले आफू नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त रहेको जानकारी दिनुभयो ।

शिवहरि मात्र होइन प्रख्यात हास्य जोडी दीपक–दीपा पनि चलचित्रमै व्यस्त रहनुहुनेछ । ‘छ माया छपक्कै’को छायाङ्कनमा व्यस्त भएको बताउँदै दीपाश्री निरौलाले भन्नुभयो, ‘‘यसपालि गाईजात्राकै दिन मात्र गाईजात्रा मनाउँछौँ । ’’

राजधानीमा गाईजात्राको रौनक त्यति देखिएको छैन कलाकार गिरी, भन्नुहुन्छ, ‘‘हास्य विधाका कलाकारलाई गाईजात्राको निकै चटारो भइसक्थ्यो, अन्तिम रिहर्सल, पोसाक, शृङ्गार र सङ्गीतको चाँजोपाँजो मिलाउँदै हल, साउन्ड सिस्टम र टिकट बिक्री जस्ता काममा सरिक भइसकेका हुन्थेँ तर काठमाडौँमा यसपालि त्यस्तो कुनै चहलपहल देखिँदैन ।’’

विगतमा गाईजात्रा कार्यक्रम कलाकारहरूका लागि एक उत्सव नै हुन्थ्यो । तर पछिल्लो पटक कलाकारहरूले गर्दै आएको हास्य कार्यक्रमहरूले गाली, गलौज र अश्लीलता बढेको भन्ने आरोप लाग्न थालेको छ । कलाकार मनोज गजुरेलले भन्नुभयो, ‘‘जसलाई जे पायो त्यही भनेर गाईजात्राको नाममा विकृति भित्र्याइएको छ । गाईजात्राको पुरानो संस्कृति र परम्परा हट्दै जानु र छाडा व्यङ्ग्यले प्रश्रय पाउनु दुःखद हो, त्यस्ता प्रवृत्ति रोक्नुपर्छ । ’’

हास्य कलाकार रवि डङ्गोल सामाजिक विषयमा गरिने व्यङ्ग्यले परिवर्तनमा केही भए पनि असर पर्ने बताउनुहुन्छ । डङ्गोलले हास्यव्यङ्ग्य नैतिक दबाब दिने गतिलो माध्यम हो तर यो माध्यमलाई निकै हल्कारूपमा लिनेमा गुनासो व्यक्त गर्नुभयो ।
गोरखापत्रबाट

प्रकाशित: ३१ साउन २०७६ ०६:३८ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी