महाकवि देवकोटाको ११४औँ जन्मजयन्तीमा रचना वाचन

महाकवि देवकोटाको ११४औँ जन्मजयन्तीमा रचना वाचन


महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४औँ जन्मजयन्ती मनाइएको छ । 

शुक्रवार नेपाल प्रज्ञा–प्रतिष्ठानले एक औपचारिक कार्यक्रम गरी महाकवि देवकोटाको जन्मजयन्ती मनाएको हो । जन्मजयन्तीको अवसर पारेर प्रज्ञा–प्रतिष्ठानको महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालयमा उनको व्यक्तित्व चर्चा तथा रचनावाचन कार्यक्रमसमेत गरेको छ । 

कार्यक्रममा कवि देवी नेपालले महाकवि देवकोटाको व्यक्तित्व बारे चर्चा गर्दै देवकोटाको सामाजिक, सांस्कृतिक र जिम्मेवारीको पक्षहरु विभिन्न भएपनि कृतित्वको पक्ष सबैभन्दा बलियो भएको बताए । उनले महाकवि देवकोटाले नेपाली भाषा प्रकाशिनी समिति, युगवाणी र इन्द्रेणी पत्रिकाको सम्पादक, नेपाली साहित्य परिषद्को सभापति, काव्य प्रतिष्ठानको अध्यक्ष लगायतको जिम्मेवारीमा रहेर उल्लेखनीय काम गरेकाे बताए । 

त्यस्तै त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस र कमर्स क्याम्पसमा प्राध्यापन गराएको पनि उल्लेख गरे । नेपाल प्रज्ञा–प्रतिष्ठानको परिकल्पनाकार नै महाकवि देवकोटा भएको उनकाे भनाई छ ।
 
कवि नेपालले महाकवि देवकोटाले वि.सं. १९९१ साल मंसिर १५ गतेको गोरखापत्रमा कविता प्रकाशन गरेर नेपाली साहित्यमा औपचारिक रुपमा प्रवेश गरेको भन्दै उनले २४ वर्ष ९ महिना १४ दिनसम्म औपचारिक रुपमा कविता लेखनको कर्म गरेकाे बताए । नेपालले देवकोटाको सम्झनामा कविता वाचन पनि गरे ।  

त्यसैगरी कार्यक्रममा कवि मञ्जिला अनिलले पनि महाकवि देवकोटाले आफ्नो जीवनकालमा लेखेको अन्तिम कविता वाचन गरेर सुनाए । उनले देवकोटाले मानवतावादी धारमा कविता लेख्ने गरेको उल्लेख गरे । देवकोटाले लेखेको कविता वाचन गरेर कवि रेजिना आपगाइले पनि उनीप्रति सम्मान व्यक्त गरे । 
 
महाकवि देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटाको जन्म लक्ष्मीपूजाको दिन भएपनि प्रज्ञा प्रतिष्ठानले महाकविको जन्म दविसको पूर्वसन्ध्यामा कार्यक्रम गरी महाकविको योगदानको स्मरण गरेको हो । 

Logo