कला

चलचित्र निर्देशक समाजको अध्यक्षमा एक मतान्तरले रक्षा राणा विजयी

15 Shares

काठमाडौं । चलचित्रका निर्देशकहरूको छाता संगठन चलचित्र निर्देशक समाजले नयाँ नेतृत्व पाएको छ । चलचित्र सम्पादनवाट निर्देशनमा होमिएकी रक्षा राणा नयाँ अध्यक्षमा निर्वाचित भएकी हुन् । निर्देशक समाजले दोस्रो पटक महिला अध्यक्ष समेत पाएको छ । यसअघि सुचित्रा श्रेष्ठले अध्यक्षको रुपमा कार्यकाल पुरा गरिसकेकी छन् ।

अध्यक्षका लागि चार जनाबीच प्रतिस्पर्धा भएको हो । जसमध्ये रक्षा राणाले ४५ मत प्राप्त गर्दा सुचित्रा श्रेष्ठले ४४ मत प्राप्त गरेकी थिइन् । राणाले पुर्वअध्यक्ष सुचित्रा श्रेष्ठलाई एक मतान्तरले पराजित गर्दै अध्यक्ष बनेकी हुन् । हारसँगै सुचित्रा लगातार अध्यक्ष बन्नबाट बञ्चित भएकी छिन् । अध्यक्षका अन्य दुई प्रत्यासीहरू लक्ष्मण रिजाल र शेखर खनालले क्रमशः १९ र ३ मत पाएका छन् ।

यसैगरी चार जनाको उम्मेदवारी परेको उपाध्यक्ष पदमा ६२ मत सहित राजेन्द्रकुमार उप्रेती र ५८ मत सहित राजु अधिकारी विजयी भएका छन् । जसमध्ये उपाध्यक्षका दुई प्रत्यासीहरू विजय रत्न तुलाधरले ५७ र आर.बि.के शरदले २१ मत पाएका थिए ।
त्यसरी नै महासचिव पदमा जनकदीप पराजुली ६१ मत पाएर विजयी भएका छन् । महासचिव पदका अन्य दुई प्रत्यासीहरू समीर बलामी र दिनेश लिंगदेनले क्रमशः ४० र ११ मत प्राप्त गरे ।
यता सचिव पदमा भने ५९ मत ल्याएर अरुण कुमार प्रधान विजयी बने । कोषाध्यक्ष, सह–कोषाध्यक्ष र सदस्यहरु भने निर्विरोध चुनिएका छन् । चलचित्र विकास बोर्डको हलमा भएको निर्देशक समाजको निर्वाचनका लागि २१७ जना मतदाता थिए । तर, जम्मा १३४ भोट मात्र खसेको थियो ।

प्रकाशित: २९ मंसिर २०७६ १६:०६ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी