चौथो हिमालयन ट्राभल मार्ट सकारात्मक सन्देशसहित भव्यताका साथ सम्पन्न

चौथो हिमालयन ट्राभल मार्ट सकारात्मक सन्देशसहित भव्यताका साथ सम्पन्न


चौथो हिमालयन ट्राभल मार्ट (एचटीएम २०२३) विभिन्न २५ मुलुकका ७०० भन्दा बढी प्रतिनिधिहरुको सहभागितासहित विश्वव्यापी कोरोना महामारी पछिको पर्यटन पुनरुत्थान र प्रवद्र्धनमा केन्द्रीत रही सकारात्मक सन्देशका साथ काठमाडौँमा भव्यताका साथ सम्पन्न भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको स्वामित्व अन्तर्गत नेपाल पर्यटन बोर्ड, नेपालवायु सेवा निगम, एवम पर्यटन क्षेत्रका विभिन्न संघ–संस्था तथा निजी क्षेत्रका व्यवसायीहरुको विशेष सहयोग तथा सहकार्यमा पाटा नेपाल च्याप्टर द्धारा आयोजना भएको चार दिने ट्राभल मार्ट नेपालमा पर्यटन प्रवद्र्धनका लागि आयोजना हुने देशकै प्रमुख एवं सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय ट्राभल ट्रेड मेलाको रुपमा स्थापित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले हिमालयन ट्राभल मार्ट २०२३ को समुद्घाटन गरे । साे समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई हिमालय प्रवेशद्धारको रुपमा पहिचान गराउँदै नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको प्रतिष्ठित हिमालयन ट्राभल मार्टको चौथो संस्करण नेपाल सरकारले आतिथ्यता एवम् आयोजना गरेकोमा खुशी तथा गौरव व्यक्त गर्दै नेपाल लगायत हिमालय क्षेत्रको पर्यटन प्रवद्र्धनकालागि हिमालयन ट्राभल मार्ट प्रमुख मञ्च बनेको बताए ।

उनले देशमा आर्थिक वृद्धि र अनेकन रोजगारीको अवसरहरु सिर्जना गर्न प्रचुर सम्भावनाहरु रहेको पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै नेपाललाई ‘इमर्सिभ एन्ड ट्रान्सफरमेटिभ’ जीवन्त अनुभवहरु प्रदानगर्ने एक आकर्षक पर्यटन गन्तव्यको रुपमा विकास गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताए । उक्त लक्ष्य हाशिल गर्न पूर्वाधार सुधार, सडक विमानस्थल र अन्य यातायात सुविधाको विकास र स्तरोन्नत्ति, आवश्यक नीति सुधार, उड्डयन क्षेत्रको सुदृढिकरण, निजी क्षेत्र र व्यवसायी समुदायलाई प्रोत्साहन र देशमा दिगो पर्यटन प्रवद्र्धन लगायतका थुप्रै प्राथमिकताहरु पहिचान गरी सरकारले काम गरिरहेको बताए  ।

संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले उद्घाटन समारोहमा समापन मन्तव्य राख्दै मार्टमा सहभागी सबै अन्तर्राष्ट्रिय प्रतिनिधिहरूलाई स्वागतगर्न पाउँदा आफू खुसी भएको र ट्राभल मार्टले नेपालको पर्यटन सम्भाव्यता उजागर गर्दै विश्वभरका ट्राभल ट्रेड व्यवसायीहरूसँग सम्पर्क स्थापितगर्न उत्कृष्ट अवसर प्रदान गरेको र पर्यटन प्रवद्र्धनमा उल्लेख्य योगदान पुर्याउने विश्वास व्यक्त गरे । 

पर्यटन राज्यमन्त्री सुशीला सिरपाली ठकुरीले नेपाल पर्यटनका लागि अथाह सम्भावनाको गन्तव्य भएकोले सरकारी तथा निजी क्षेत्रका सम्पूर्ण सरोकारवालाहरुले एकजुट भएर प्रवद्र्धनमा जुट्नुपर्ने बताइन् । 

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले उपस्थित सबै प्रतिनिधि तथाअतिथिहरूलाई हार्दिक स्वागत व्यक्त गर्दै पर्यटन प्रवद्र्धन, विस्तार र दिगो विकासकालागि पाटा नेपालको भिजन, मिसनहरू तथा कार्य योजना पेश गरे । उनले पर्यटन नेटवर्किङ तथा व्यापार आदन प्रदानका लागि अनुपम अवसरहरू प्रदानगर्ने, पर्यटन सम्बन्धी सम सामयिक विषय तथा मुद्दाहरुमा महत्वपूर्ण अन्तर दृष्टिहरु साझागर्ने र गन्तव्य प्रवर्द्धनकालागि हिमालयन ट्राभल मार्ट नेपालको एक अत्यधिक सफल र प्रभावकारी अन्तर्राष्ट्रिय कार्यक्रम बनेको बताए ।

त्यसैगरी कार्यक्रममा लर्ड ब्रायनविल्की–मास्टर अफ द अर्डर अफ द ब्रिटिश एम्पायर, पाटा अन्तर्राष्ट्रियका उपाध्यक्ष बेन्जा मिन लियाओ, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराजअधिकारीले  नेपालको पर्यटन प्रवद्र्धनका लागिआफ्नो विचारहरु व्यक्त गरे ।

मार्टको उद्घाटन समारोहलाई ग्रीन च्वाडी नेचर रिट्रीटका थारु महिला समूह, तारकेश्वर भजन समूह, पाटा नेपाल स्टुडेन्ट च्याप्टर र सुर सुधा साँगितिक टोलीद्धारा प्रस्तुत मनमोहक सांस्कृतिक प्रस्तुतिले एक मन मोहक वातावरण सिर्जना गरेको थियो ।

जुन ७मा “रि कनेक्टिङ, रिबिल्डिङ एन्ड रिइन्भिगोरेटिङ” भन्ने मूल नाराका साथ आयोजित हिमालयन ट्राभल मार्ट–२०२३ कन्फ्रेन्समा राष्ट्रिय र अन्तर्राष्ट्रिय अग्रणी एवं प्रभावशाली वक्ताहरुद्वारा अशल उड्डयन क्षेत्र, नेपालको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलहरुको सम्भावना, चिनियाँ यात्रुहरूको पुनर्रागमन, युरोपेली पर्यटकहरुको यात्रा प्रचलन र नेपालकालागि पर्यटनका  अवसरहरू, सामुदायिक पर्यटन मार्फत दिगो पर्यटनको निर्माण, क्षेत्रीय पर्यटन सम्भाव्यताको  प्रवर्द्धन, जलवायु परिवर्तन, दिगो पर्यटन, रेजिलियन्स, साहसिक पर्यटन र शिक्षामा नवीन अभ्यास लगायत विभिन्न सम सामयिक विषयहरूमा आकर्षक छलफल र अन्तर्दृष्टि प्रदान गरिएको थियो।

यस वर्ष, जुन ८ र ९ मा आयोजित दुई दिने बीटुबी मार्ट (क्रेता–विक्रेता भेटघाट) कार्यक्रममा अमेरिका, युरोप, रसिया तथा सिआइएस, एशिया र यूएईराष्ट्रहरु बाट ५० वटा क्रेता संस्थाहरु सहित नेपाल, श्रीलंका र भुटानका ४० वटा बिक्रेता संस्थाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमले सहभागीहरूलाई सम्पर्क सञ्जाल पुनःस्थापित गर्न र नयाँ व्यापार साझेदारी तथा नेटवर्किङ अवसरहरू विस्तार गर्न अवसर प्रदान गरेको छ । बीटुबी मार्टको क्रममा प्रतिनिधिहरूलाई नेवारी, मिथिला र थारु लगायतका विभिन्न परिकारहरु ग्रहण गर्ने अवसर तथा अनुभव प्रदान गरिएको थियो ।

मन्त्रालयले पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डसँग मिलेर पाचौँ हिमालयन ट्राभल मार्ट (एचटीएम २०२४) आगामी वर्ष जुन ४ देखि ७ सम्म काठमाडौंमा आयोजना गर्ने घोषणा गरेको छ।

Logo