जीर्णोद्धार नहुँदा ढल्न लाग्यो घुमाउने चैनपुरको पाटी

जीर्णोद्धार नहुँदा ढल्न लाग्यो घुमाउने चैनपुरको पाटी


उचित संरक्षण र मर्मत सम्भार नहुँदा नेपालका थुप्रै ऐतिहासिक र पुरातात्विक महत्वका सम्पदा नष्ट हुँदै गएका छन्। संरक्षणको अभावमा कतिपय सम्पदा ढलेर माटोमा मिलिसके। कतिपय ढल्ने क्रममा छन्। यस्ता सम्पदाको संरक्षणमा सरकारको यथोचित ध्यान पुग्न सकेको छैन। 

संरक्षणको अभावमा प्राचीन पाटी-पौवाहरू जीर्ण बन्दै र भत्कँदै गएका छन्। यात्रामा निस्किएकालाई बास बस्न र आराम गर्न बनाइएका त्यस्ता पाटी-पौवाको न अहिले उपयोग छ, न संरक्षण नै। त्यसैले नेपाली प्राचीन हस्तकलाको इतिहास बेकेका ती सम्पदा बिस्तारै लोप हुँदै जाने क्रम बढ्दो छ। 

पूर्वबाट सुनकोसी किनार हुँदै काठमाडौँ यात्रा गर्ने यात्रीहरूका लागि बाटो छेउमा बनाइएका प्राचीन पाटी–पौवा धेरै ढलिसके। ती प्राचीन सम्पदा इतिहास बने। इतिहास बोकेर बसेका केही बाँकी सम्पदाको पनि संरक्षण हुन सकेको छैन।

संरक्षण र मर्मत सम्भारको अभावमा सिन्धुलीको हालको सुनकोसी गाउँपालिका-६ घुमाउने चैनपुरमा रहेको पाटी पनि ढल्ने अवस्थामा पुगेको छ। विक्रम संवत् १८५० साल तिर बनेको सो पाटी अहिले जीर्ण बनेको छ। 

तत्कालीन अमारेका अरिमर्दन थापाले घुमाउने चैनपुर डाँडामा पाटी बनाउन काठ बोकाएर मानिस पठाउँदा चैनपुरका बासिन्दाहरू रुपदल कर्की, हिमदल कार्की र बाग्दल कार्कीले आफ्नो गाउँमा आफैँ पाटी बनाउने भन्दै अमारेका थापालाई घुमाउने चैनपुरको खेतमा पाटी बनाउन सुझाव दिएको इतिहास रहेको स्थानीय उमेश कार्की बताउँछन्। 

त्यसपछि अमारेका थापाले चैनपुरको खेतमा र चैनपुरका कार्कीहरूले चैनपुर डाँडामा पाटी बनाएको इतिहास छ । ‘खेतको र डाँडाको दुवै पाटी एकैसाथ बनको भन्ने इतिहास पाइन्छ’, कार्कीले भने। 

२ सय ३० वर्ष लामो इतिहास बोकेको घुमाउने चैनपुरको पाटीमा कलात्मक झ्याल, मेठ र टुँडालहरू राखिएका छन्। यो पार्टीले ठुला ठुला भूकम्प सह्यो, घाम, पानी, हावा हुरी खेप्यो। यी सबै कुरा झेल्दै पाटी अहिले पनि उभिइरहेको छ। पाटीको मर्मत सम्भार र जीर्णाेद्धार नहुँदा बिस्तारै जीर्ण बन्दै गएको छ। 

अब पनि जीर्णाेद्धार नगर्ने हो भने सो पाटी कुनै पनि बेला ढल्ने अवस्थामा पुगेको छ। ‘अब पनि मर्मत न गर्ने हो भने यो पाटी पनि इतिहास बन्छ’, कार्कीले भने। सो पाटी जीर्णोद्धार गर्न स्थानीयबाट सम्भव छैन। ऐतिहासिक र पुरातात्विक महत्वको संरचना भएकोले पनि त्यसको पुरातात्विक हिसाबले जीर्णाेद्धार गर्न सरकारले ध्यान दिन आवश्यक छ। 

पार्टी संरक्षणको लागि स्थानीयले समिति पनि बनाएका छन्। स्थानीय इन्द्रबहादुर र्कार्कीको अध्यक्षतामा समिति छ। समितिको कोषमा अहिले करिब २ लाख ५० हजार रुपैयाँ छ। 

सुनकोसी गाउँपालिकी-६ को घुमाउने चैनपुर फाँटमा सो पाटीको नाममा केही गुठीको जग्गा पनि छ। पाटीको नाममा सो फाँटमा २ रोपनी ४ आना जग्गा रहेको कार्कीले जानकारी दिए। जसबाट पाटीको कोषमा वार्षिक ९ हजार रुपैँया आउँछ। पाटीको आम्दानीको स्रोत त्यति हो। 

त्यति आम्दानीले न पाटीको मर्मत गर्न पुग्छ, न संरक्षणको लागि नै सो रकम पर्याप्त हुन्छ। सरकारले जीर्णोद्धारको काम नथाल्ने हो भने पाटी कुनै पनि बेला ढल्न सक्छ। हेर्दाहेर्दै ज्युँदो इतिहास माटोमा मिल्न सक्छ। 

Logo