२० मंसिर २०७८ सोमबार

0 Shares

'संघर्ष र साधनाले आज फलैफलले नुहेको वृक्ष झैं भएको छु' -शिव परियार, गायक (भिडियाेसहित)

काठमाडौं ।

काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आज मेरो सांगीतिक करियर नुहेको छ ।

सन् १९९४ मा कक्षा ७ मा पढ्दै गर्दा बाल गायनबाट संगीत यात्रा तय गरेका शिव परियार आज नेपाली संगीत क्षेत्रमा सफल अनि चर्चित गायककारूपमा परिचित छन् । पहिलो पटक सन् २००३ मा पहिलो गीत रेकर्ड गराएका गायक परियारले हालसम्म १० एल्बम र ३ सय बढी गीतमा स्वर भरिसकेका छन् ।

जीवनको लामो समय नेपाली गीतसंगीत क्षेत्रका लागि संघर्ष गरेका परियार पछिल्ला दिन पनि संगीत जगतमै क्रियाशिल छन् । उनका थुप्रै गीतहरू स्रोता दर्शकका मन/मस्तिष्कमा प्रिय छन् । उनको आवाजमा भरिएका ‘क्या दामी भो’, ‘पिलायो साथीले’, ‘फेवातालमा साइँली’, ‘धेरै चोटी मरेँ म त…’ लगायत दर्जनौं गीत नेपाली स्रोताका लागि कर्णप्रिय छन् । गायक परियार गायनमा मात्र होइन व्यावसायिक रूपमा पनि निर्कै चर्चित र व्यस्त गायक हुन् ।

स्टेज प्रस्तुति तथा राष्ट्रिय , अन्तर्राष्ट्रिय महोत्सवहरूमा व्यस्त रहने परियार पछिल्ला दिनमा भने कोरोना असरका कारण उती व्यस्त छैनन् । यद्यपि उनले लकडाउनकै समयमा पनि विभिन्न गीतमा आवाज भरिसकेका छन्, उनले हालै मात्र नयाँ गीत ‘नाचे फिरिरी’ बजारमा ल्याएका छन् । जुन गीतले यतिबेला बजारमा आफ्नै चर्चा कमाइरहेको छ ।

पछिल्लो समय चलेको सांगीतिक ट्रेन्ड अनुसार नयाँ गीत बजार ल्याएको तर नयाँ प्रयोग भने नभएको परियारको भनाइ छ । केन्द्रविन्दु अनलाईनको विशेष प्रस्तुति ‘केन्द्रविन्दु टक शो’ मा कुरा गर्दै परियारले नेपाली संगीत पारखीहरू पछिल्लो समय युट्युवमा बढी क्रियाशिल देखिएकाले सोही अनुसार धेरै मिहेनत कम अपेक्षाका साथ नयाँ गीत बजारमा ल्याएको र उक्त गीतलाई संगीतमा कुनै नयाँ प्रयोगका रूपमा नलिई मनोरञ्जनका रुपमा मात्र लिन आग्रह गरेका छन् ।

कुराकानीका क्रममा गायक परियारले आफ्नो लामो सांगीतिक करियरलाई पनि सरसर्ति सम्झन भ्याए । संघर्षका दिन यता धेरै नै मिहेनत गरेर काँचोमाटोमा अंकुराएको विरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आफ्नो करियर अघि बेढेको गायक परियारको भनाइ छ ।

‘हिजो चप्पल लगाएर उकाली ओराली गर्दा होस् वा संगीतिक करियरका खातिर कयौं किलोमिटर पैदल हिंडेका दिन सबै मस्तिष्कमा छन् । त्यो समय सांगीतिक करियरको भोक थियो, सपना थियो त्यसले नै आजको प्रगति पथसम्म डोहोर्याएको हो । यसर्थमा म व्यावसायिक प्रगतिलाई गौण राखेर सांगीतिक प्रगति भने उत्साहजनक र प्रतिफलपूर्ण मान्छु ।’

आजसम्म प्राप्त गरेको उपलब्धीले आफू सन्तुष्ट रहे पनि संघर्ष भने अझै जारी रहेको गायक परियारको भनाइ छ । पछिल्लो समय नेपाली संगीत बजारमा देखिएका विकृतरूप उनले नियालीरहेका छन् तर, उनलाई यो विकृतरूप खासै नयाँ लाग्दैन रे । तैं चुप मैं चुप भनेझैं उनी पनि चुप छन् ।

‘सांगीतिक करियरमा थुप्रै बसन्त कटाएँ । हिजो संगीतमा लाग्दा त्यो विद्यार्थी विग्रन्छ भन्ने वातावरण थियो, आज यसैमा करियर बनाउन प्रेरित गरिन्छ । नेपाली संगीत बजार पनि परिवर्तित छ । प्रविधिका हिसाबमा सहज बन्दै गएको छ,’ उनी थप्छन्, ‘तथापि, यस अवधिमा थुप्रै रहर र लहडका संगीतकर्मीहरू पनि बेहोरियो । यहाँ संगीत बजारलाई विकृत बनाउने उद्देश्यले कोही पनि आउँदैन तर, छोटो समयमै चर्चामा आउने लोभले बजार केही अस्थिर भएको भने पक्कै हो । र, यस्ता विषय समयानुसार स्वाभाविक प्रक्रिया हराउँदै, उदाउँदै जान्छन् ।’

पछिल्लो समय नेपाली संगीत पारखीहरूको स्वाद केही बद्लिएको हो की भन्ने प्रसंगमा गायक परियार केही उदार देखिन्छन् । गीत संगीत मात्र होइन अब हरेक क्षेत्र समयानुकुल चल्न सक्नु पर्ने उनको धारणा छ । दर्शक स्रोताको मागमा विविधता छ, र सोहि विविधताकै कारण संगीतकर्मी बाँच्ने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘संगीत उद्योग पनि एउटा प्रयोगशाला हो, यहाँ हरेकले आ–आफ्ना तरिकाबाट अभ्यास गर्न पाउँछ र त्यो उसको नैसर्गीक अधिकार पनि हो । त्यसैले संगीत बजार विकृत भन्दा पनि अभ्यासको उपज मात्र हो, यो स्थापित हुने या, विस्थापित हुने दर्शक स्रोता र स्वयं साधना गर्नेमा भर पर्दछ ।’ यससँगै यस्ता थुप्रै विषयमाथि ‘केन्द्रविन्दु टक शो’ का लागि गायक शिव परियारसँग मनोज न्यौपानेको भिडियो अन्तर्वार्ता :

 

प्रकाशित: २६ साउन २०७७ ०९:४३ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी