११ कात्तिक २०७८ बिहीबार

0 Shares

"मान्छेहरू काम भन्दा कपडा हेरेर मूल्याङ्कन गरिदिन्छन्": ज्योती मगर, गायिका

नेपाली मनोरञ्जनको क्षेत्रमा ‘ज्योति मगर’ चिरपरिचित नाम हो । नाम मात्र होइन ज्योति मगर एउटा ‘ब्रान्ड’ नै हो भन्नुपर्छ । गायिका ज्योति मगर ‘उही मुलाको सिन्की उही मुलाको चाना’ भन्ने गीति एल्बमबाट सँगीत जगतमा चिनिइन् ।

म्युजिक भिडियोमा मोडलिङ गर्नु उनको शौख हो । मोडलिङ क्षेत्रमा पनि उनको नाम उत्तिकै चर्चित र विवादित छ । तर, उनको माग भने देश विदेशको स्टेज शो मा बढी देखिन्छ । ज्योति मगर नपुगेको मेला महोत्सव सायद कमै होलान् । कहिले गीत त कहिले कपडाको विवादमा मुछिइरहने ज्योतिलाई भन्दिनेले लोक दोहोरीको ’ब्याड गर्ल’ पनि भनिदिन्छन् । यिनै ज्योति सङ्ग एक पटक भेटेर संवाद गर्ने मौका मिलेको थियो । प्रस्तुत छ, गायिका मगरसँग गरिएको कुराकानीको सम्पादित अंश:

लोक दोहोरीलाई कसरी सम्झनुहुन्छ ?

पहिलो पटक दोहोरी गाउँ (रोल्पाको नुवाँखोला) मा हुँदा गाएकी थिएँ । ‘टिनएज’ को समय थियो सायद तेह्र चौध वर्षकी थिएँ होला । भाउजूको पछि लाएर ‘छोटी बस्न’ (चलनचल्तीको भाषामा भन्दा रोदी बस्न) गएँ । आफू भन्दा जेठो र बुज्रुक लोग्ने मान्छेसँग दोहोरी खेलियो । त्यो दोहोरी मैले जितेँ पनि । भोलिपल्ट गाउँमा रातबिरात लोग्ने मान्छे सङ्ग ‘छोटी बस्ने’ भनेर मेरो कुरा काट्न थाले । कुरा मेरो आमासम्म पुग्यो । आमाले बेस्मारी चित्त दुखाउनु भयो । त्यसपछि गाउँमा हुँदा कहिल्यै दोहोरी खेलिन ।

तर, चाहेको कुरा नगरी बस्न नसकिने रहेछ । एसएलसी दिन दाङ बजार झर्नुपर्यो । बजार आएपछि मेला महोत्सवमा हुने दोहोरी प्रतियोगिताले मन तान्न थाल्यो । ट्युसन हापेर प्रतियोगितामा भाग लिन थालेँ । पछि प्रतियोगितामा गीत गाएकै देखेर काठमाडौँ जाने प्रस्ताव आयो । गीत पनि गाउन पाउने, पैसा पनि आउने भनेपछि नाइँ भन्ने कुरै भएन ।

एसएलसी सकिने बित्तिकै आमालाई भनेर काठमाडौँ जाने नाइट बस समातेँ । मलाई अझै पनि याद छ, हिँड्नुअघि मामासँग ऋण मागेर आमाले हातमा पन्ध्र सय थमाइदिनु भएको थियो । त्यति नै पैसा बोकेर सोह्र वर्षको उमेरमा गीत गाउनकै लागी काठमाडौँ छिरेकी हुँ । बसबाट ओर्लने बित्तिकै दोहोरी साँझ लगियो । सपनाको पहिलो खुड्किलो दोहोरी साँझ बन्यो।

काठमाडौँ आउने बित्तिकै दोहोरी साँझ, सजिलो थियो त ?

आबुई..!, कहाँ सजिलो हुनु । पहिले लागेको थियो काठमाडौँ पुगौँ मात्र सब ठिक हुन्छ । यहाँ आएपछि र दोहोरी साँझ छिरेपछि लाग्यो अप्ठ्यारा दिन त अब सुरु हुँदैछ । दोहोरी साँझको वातावरणमा भिज्न सक्नु नै मेरा लागि ठूलो चुनौती थियो । अर्को गाह्रो चुनौती भनेको दोहोरी साँझमा प्रपर कल्चरल ड्रेसहरु गुन्यूचोली, साडी चोली, घलेकीहरू लाउनुपर्ने । म टिसर्ट पेन्ट र मिनि स्कर्ट लगाउन सजिलो मान्ने मान्छेलाई हरेक साँझ परम्परागत लूगा लगाएर गीत गाउनु सानो चुनौती थिएन ।

कहिलेकाहीँ दोहोरी साँझमा घट्ने अमर्यादित घटनाले पिरोल्न थाले । एक पटक त के भो भने, स्टेजमा गीत गाउँदै थिएँ, एक जना प्रतिष्ठित ग्राहक आएर मेरो घलेकी भित्र पैसाको मुठो छिराइदिनु भयो । म नयाँ थिएँ, रिसले चुर हुँदा पनि केही बोल्नै सकिन । अहिले भएको भए उहाँको झ्याँको झार्ने थिएँ ।

कतिपय आम मान्छेमा दोहोरी साँझ र त्यहाँ काम गर्ने प्रति नकारात्मक सोच पाइन्छ नि, किन ?

हो, मान्छेहरूले दोहोरी साँझ र दोहोरी साँझमा काम गर्नेलाई हेर्ने दृष्टिकोण अझै पनि नकारात्मक छ । हिजो झन् धेरै थियो । तर दोहोरी साँझ र त्यहाँ काम गर्ने हामी जस्ता कलाकार गलत होइनौँ । एक दुइ वटा अमर्यादित ग्राहकहरूले गर्दा दोहोरी साँझ प्रतिको छाप नराम्रो बन्न गएको हो । त्यहाँ आउने अधिकांश ग्राहकहरू सामाजिक र राजनैतिक रुपमा ‘उच्च प्रतिष्ठा’ भएका हुन्छन् । उनीहरू बाहिर जत्ति नै इज्जतिलो र शालीनताको खोल ओड्छन, भित्र छिरेपछि उनीहरूको रुप अर्कै हुन्छ । त्यस्ता मान्छेले बेग्लै नैतिकता या दोहोरो चरित्र देखाउँछन् ।

दोहोरी भित्र कलाकार या कामदारलाई निम्छरो व्यवहार देखाउने त्यस्ता ग्राहकहरू उच्च ओहदाका हुन्छन् । कोही व्यापारी हुन्छन् कोही कर्मचारी हुन्छन्, नेता या जो भए पनि आफ्नो क्षेत्रमा प्रतिष्ठित हुन्छन् तर महिला कामदार या गायिकाहरूलाई अनावश्यक रुपमा जिस्क्याउने, गलत नियतले छुने, अभद्र बोल्ने र दबाउन खोज्ने यिनै ‘सो कल्ड प्रतिष्ठितहरू’ हुन् । यस्ता एक दुई जनाले गर्दा दोहोरी साँझप्रतिको दृष्टिकोण नै गलत हुन गएको हो ।

दोहोरी साँझ त हामी हरेक लोक गायक गायिकाको कर्म थलो हो । कति गायक गायिका यहीँ बाट सङ्घर्ष गरेर आज परिचित हुनुभएको छ । कतिले अझै सङ्घर्ष गरिरहनु भएको छ । काम जस्तोसुकै होस, हरेक कामको सम्मान गर्न जान्नुपर्दछ ।

कलाकार बन्ने सपना देख्ने जो कोहीको लागि मन्दिर हो, दोहोरी साँझ।

दोहोरी साँझ हुँदै जनमानससम्म कसरी आइपुग्नु भयो ?

दुई वर्ष दोहोरी साँझमै काम गरेँ । त्यही समय ‘मन किन टाढा भो’ भन्ने एल्बम पनि निकालेँ । सोचेजस्तो सफलता हात परेन । लगातार दोस्रो एल्बम पनि फ्लप भयो । गीत लिएर कति ठाउँ धाएँ । कम्पनीहरूले विष्णु माझी, राजु परियारको स्वर हालेर एल्बम निकाल, अनि मात्र चल्छ पनि भने । तर मलाई त आफ्नै स्वरमा गीत गर्नु थियो र आफ्नै स्वर बिकाउनु थियो ।

त्यसै क्रममा ‘उहीँ मुलाको सिन्की उहीँ मुलाको चाना’ भन्ने गीत निकाल्ने कुरा भयो । आदरणीय गीतकार कारण न्यौपानेको शब्दमा मैले आफै सङ्गीत भरेँ । लोक पप गायक रामचन्द्र काफ्ले र मैले गायौँ, गीत मिठो बन्यो । तर लोक गीतमा पप गीतको फ्युजन गरेको भनेर कत्तिले मोडलिङ गर्न मानेनन् । उपाय केही नभेटेपछि म आफै त्यो गीतको मोडेल बनेँ । र, त्यही गीतले बजार तहल्का मच्चायो । त्यो गीतपछि चाहिँ जनमानसले गायिका ज्योति मगर भनेर चिन्न थाले । नाम चिनिन थाल्यो । । त्यस लगत्तै ‘जिम्वाल बा की छोरी’ भन्ने गीत निकालेँ त्यसपछि भने मेरा प्राय गीत हिट हुन थाले ।

कलाकार भएपछि नामको भोक कत्तिको हुन्छ ?

नामको भोक मापन गर्ने कुनै तराजु छैन त्यसैले कत्तिको हुन्छ चाहिँ भन्न सक्दिन तर भोक चाहिँ हुन्छ । मलाई उहिल्यै पनि नामको भोक उत्पातै थियो, अहिले पनि छ र भोलि पनि हुनेछ । काम गरेपछि नाम चिनिन्छ, नाम चिनेपछि काम झन् धेरै चिनिन्छ ।

कामले त चिनिनु नै भएको छ, कपडाको विषयलाई लिएर पनि धेरै चर्चामा आउनुहुन्छ नि। कस्तो लाग्छ ?

लाग्न त कामकै विषयमा चर्चा कमाउँदा रमाइलो लाग्छ तर खै मान्छेहरू काम हेरेर भन्दा कपडा हेरेर मूल्याङ्कन गरिदिन्छन्। कामको विषयमा भन्दा बेसी कपडाको विषयमा बोलिदिन्छन् । के लाउने के खाने भन्ने त मेरो निजी अधिकारको कुरा हो । कामलाई छोडेर किन कपडालाई अतिरञ्जित गरिदिन्छन्, अचम्म लाग्छ ।

लोक गायिका भइसकेपछि शालीन कपडा लाउनुपर्छ अनि बल्ल हाम्रो संस्कृति जोगिन्छ भन्नेहरू छन् नि त ।

हो, छन् ! त्यसो भन्नेहरू धेरै छन् । र, यी भन्नेहरू संस्कृति जोगाउने भन्दा पनि नाम कमाउने होडबाजीले भनिदिन्छन् । र, रह्यो शालीनताको कुरा, कस्तो कपडालाई शालीन र आफ्नो भन्ने? लेहेङ्गा पनि त हाम्रो आफ्नो होइन । लेहेङ्गा लाएर नाचिरहनु, गाइरहनु भएकै छ । आफूलाई जे कपडा लगाउँदा सहज हुन्छ, त्यही कपडा लगाउने हो । एक पटक त के भो भने, कालिकोटको एउटा महोत्सवमा गीत गाउन जाँदा त्यहाँको महिला मेयरले मलाई गुन्यो चोली उपहार दिनु भो ।

गुन्यो चोली नेपालको हरेक नारीलाई सुहाउँछ । तपाईँलाई पनि सुहाउँछ, मलाई पनि सुहाउँछ । उहाँले यही सोचेर उपहार दिनुभएको भए सो उपहार मेरो लागि अमूल्य उपहार हुने थियो । तर, उहाँले मलाई गुन्यो चोली उपहार दिनु भो र स्टेजमा गएर संस्कृति र छोटो कपडाको विकृति बारे लामो भाषण दिनुभयो। जो मेरो लागि खेदजनक थियो ।

मैले पनि मेरो बोल्ने पालो आएपछि उहाँलाई धन्यवाद दिँदै भनेँ, “मैले आज छोटो कपडा लाए बापत मलाई गुन्यु चोली उपहार दिनु भो, यहाँ त म बाहेक अन्य पुरुष कलाकारहरू जिन्स पेन्ट लाएर आउनुभएको छ, उनीहरूलाई दौरा सुरुवाल उपहार किन नदिएको ?”

कति सम्झाउने, कति प्रतिकार गर्ने । म त सम्झाउँदा सम्झाउँदै थाकिसकेँ, यही प्रश्न पुरुषलाई किन गरिँदैन ? महिलालाई किन पटक पटक यहि यौटै प्रश्न सोधिन्छ? म बुझ्न सक्दिन । र रह्यो संस्कृति जोगाउने । कुरा छोटो कपडाले संस्कृति बिगा¥यो, दर्शक रिसाए भन्नेहरू मैले गर्ने स्टेज शो किन हेर्दैनन् । पैसा हालेर टिकट काटेर मान्छेहरू मेरो छोटो कपडा मात्र हेर्न त पक्कै आउदैनन होला । मान्छेहरू मेरो पर्फर्मेन्स हेर्न आउनुहुन्छ । दर्शकले नै नचाहेको भए, मलाई किन कुनै आयोजकले गुन्यो चोली लगाएर आईदिनुस नभनेको ? मान्छेहरू त मलाई जस्तो देखिन्छ त्यस्तै हेर्न आउनुहुन्छ । यो नै मेरो लागि महत्वपूर्ण लाग्ने कुरा हो।

अलिकति भित्रि लुगाको फित्ता देखिँदा त नराम्रो प्रतिक्रिया आउँछ, नराम्रा प्रतिक्रिया तपाईँलाई पनि पक्कै आउलान्, कसरी र कत्तिको प्रतिक्रिया जनाउनुहुन्छ ?

प्रतिक्रिया त आउँछन् जान्छन्, म खास्सै ध्यान दिन्न । तर कुनै कुनै प्रतिक्रियाले भने मुटु बिथोल्छ । कति पटक ढोका थुनेर रोएको पनि छु । एक पटक यस्तै गलत प्रतिक्रियाले गर्दा आमा मसँग रुनु भो । त्यो समय लाग्यो सब चिज छोडेर कतै एकान्तमा जाऊँ । तर नराम्रो काम गरेर होइन सङ्घर्ष गरेर यहाँसम्म आएको हो । आफूले आफैलाई सम्झाएँ, आमालाई सम्झाएँ ।

मान्छेले कति सजिलै तैँले छोटो कपडा लाउनाले बलात्कारको घटना बढ्यो समेत भनिदिए । त्यसो हो भने भर्खरकी सानी कलिली बच्ची किन बलात्कृत हुनुपरेको होला ? पुलिसको पोसाकमा सजिएकी सुन्तली धामी किन आफ्नै सहकर्मीबाट बलात्कृत हुन्छिन् ? बुढी आमाहरू किन बलात्कृत हुन्छन् ? सानो सोच भएकाले दोष छोटो कपडालाई लगाइदिन्छन् । मेरो चित्त दुखाइको बिषय यहि मात्र हो ।

ज्योति मगरलाई के कुराले ऊर्जा दिइरहन्छ त ? 

हरेक पटक ‘स्टेज शो’ गर्न जाँदा मेरो आमा जस्तै जीवनको उत्तरार्धमा पुग्नुभएका अरू आमाहरू सङ्ग भेट हुन्छ । उहाँहरू मेरो टाउकोमा हात राखेर भन्नुहुन्छ, “नानी हाम्रो त उमेर गई गो । भनेजस्तो कपडा पनि लाउन पाएनौँ । तिम्रो समय छ । आफूलाई मन लागेको लाउनु । अरूको कुरा नसुन्नु । धेरै अगाडि बढ्नु ।” आमाहरूको यस्तो मायाले म फुरुङ्ग हुन्छु । यस्तै आशीर्वाद पाएर ऊर्जाशील हुन्छु । नकारात्मक प्रतिक्रिया त म पचाउन सक्ने ।

लोक गीतको पनि आजभोलि धार परिवर्तन हुँदै गएको भेटिन्छ। तपाईँका गीतमा पनि त्यस्तै भेटिन्छ। यो सही हो कि गलत ?

यो सही हो । हरेक चिज समय सङ्गै परिवर्तन हुन जरुरी छ। जसरी राजनीति, चलचित्र र यावत अन्य विधाको धार परिवर्तन हुन्छ, त्यसरी लोकगीतको पनि हुन जरुरी छ । आखिर लोकगीत भनेको लोकले गाउने र सुन्ने गीत हो । समय सङ्गै समाज परिवर्तन हुन्छ, समाज सङ्गै लोक परिवर्तन हुन्छ र लोक सङ्गै लोकगीत पनि । अहिले आएका गीतहरूमा धेरै परिवर्तन भइरहेको छ । यो सुखद पक्ष हो ।

कतिपयले त ज्योति मगरको गीतमा अश्लीलता र दुई अर्थी शब्द धेरै भेटिन्छ भन्छन् नि ।

के लाई सभ्य र के लाई अश्लील भन्ने चाहिँ हरेक नजरको कुरा हो । मेरो नजरमा अश्लील लागेको कुरा तपाईँलाई सभ्य लाग्न पनि सक्छ र तपाईँलाई सभ्य लाग्ने कुरा मलाई अश्लील लाग्न पनि सक्छ । यसमा मेरो भन्नु केही छैन । र रह्यो गीतमा दुई अर्थी शब्द भेटिने कुरा, खोज्ने हो भने हरेक गीतमा दुई अर्थी भेटिन्छ ।

“गल्ती हजार हुन्छन् होस हराएको बेला, छोरी भन्दा आमा तरुनी लिपिस्टिक पाउडरले, ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा” यस्ता गीतहरूमा पनि खोज्ने हो भने दुइटा अर्थ लाग्न जान्छ । तर मेरै गीतमा मात्र किन दुई अर्थ खोज्छन् ? म चाहिँ बुझ्न सक्दिन।

र अन्त्यमा, लोक गायिका ज्योति मगरलाई गुन्यो चोलीमा हेर्न चाहने पनि उतिकै छन्, उहाँहरूलाई के भन्नुहुन्छ ?

हाहा ! दर्शकको यो चाहनालाई म सदैव सम्मान गर्छु । र गलत नसम्झिदिनुहोला । उमेर भइन्जेल म जुन लुगाले मेरो आत्मबल बढाउँछ या जुन लुगामा मैले सजिलो महसुस गर्छु त्यही लुगा लगाउँछु । भोलि उमेर ढल्किएला, ज्यान कमजोर हुँदै जाला । ज्यानमा तागत घटेपछि जाडो पनि छिट्टै हुन्छ । त्यसरी जाडो हुने अवस्था आउला । त्यो समयमा पुरा जिउ ढाक्ने कपडा लगाउनै पर्छ । म पनि पक्कै लगाउँला ।

र, रह्यो गुन्यो चोली लाउने कुरा, म लगाईरहेकी हुन्छु । स्टेज कार्यक्रमहरूमा सुरुमा गुन्यु चोलीमै प्रस्तुति दिएको हुन्छु । पछि कार्यक्रमको मौसम अनुसार अन्य लुगा लगाउने हो । गुन्यु चोलीमा नजर पर्दैन छोटा लुगामा नजर चाँडो जान्छ । लामा लुगाको तारिफ गरिरहन पर्दैन । आलोचना गर्न या छोटा लुगा लगाएको भनेर गाली गर्न सजिलो हुन्छ । मैले नियमित गुन्यु चोली लगाइरहेकी हुन्छु बरु तपाईँ नदेख्नु भएको हो कि !

प्रकाशित: ३२ साउन २०७७ १५:०७ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी