नेपाल–गौतम कार्ड: खड्गो टार्ने अस्त्र

नेपाल–गौतम कार्ड: खड्गो टार्ने अस्त्र


काठमाडौं ।

सत्तारुढ दल नेकपामा पछिल्लो समय व्यक्तिगत भगबण्डाको खिचातानी उत्कर्षमा छ । यही कारण एकपछि अर्को ‘कार्ड’ फ्याँकेर शीर्ष नेताहरु आ–आफ्नो पल्लाभारी पार्न क्रियाशील छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘नेपाल–गौतम’ कार्ड’ यसैको निरन्तरता हो । यस कार्डको प्रारम्भिक अवस्था नियाल्दा भने प्रभावकारी देखिन्छ ।

नेकपा भित्रको खटपटी ‘टाउको गन्ने’ चरणमा पुगेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट ओलीलाई तान्ने ‘माधव–प्रचण्ड’ गठजोड भइरहँदा उनले फ्याँकेको पछिल्लो ‘कार्ड’ ले सम्बन्धितहरुलाई ‘रिङ्याई’ दिएको छ ।

के हो नेपाल–गौतम कार्ड ?

१७ बैशाख साँझमा सुरू नेकपा सचिवालय बैठकको प्रारम्भसम्म प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि ५ सदस्यहरु आक्रोशित थिए । अध्यक्ष ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट समेत विदा लिई आराम गर्न सुझाउने पक्षमा थिए, उनीहरु । तर, यस्तो प्रस्ताव आउने कुरामा प्रधानमन्त्री अग्रिम जानकार थिए । त्यही भएर उनी बैठकमा नयाँ प्रस्ताव लिएर उपस्थित थिए । नभन्दै नेपाललाई तेस्रो अध्यक्ष र गौतमलाई भावी प्रधानमन्त्रीको प्रस्ताव राखेर माहोल परिवर्तन गर्न सफल रहे । र, यसका बारेमा निर्णय लिन तीन दिने समयसीमा मागेर बैठक अन्त्य गर्न सबै बाध्य भए ।

नेकपा सचिवालयको उक्त बैठक सकिँदासम्म ९ मध्ये ३ सदस्य मात्र केपी ओलीको पूर्ण विपक्षमा बाँकी रहे । ती ३ थिए, प्रचण्ड, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ । माधव नेपाल र वामदेव गौतमलाई प्रधानमन्त्रीको ‘कार्ड’ ले घाइते बनाईसकेको थियो । अर्थात सचिवालयमा अध्यक्ष ओलीलाई अल्पमतमा पार्ने दुई महारथीलाई त्यही ‘कार्ड’ ले गलाउन सफल भएको थियो । बाँकी सदस्यहरु ईश्वर पोखरेल, विष्णु पौडेल र रामबहादुर थापा त प्रधानमन्त्री परिवर्तनको पक्षमा थिएनन् नै ।

सर्प मर्ने र लौरो पनि नभाँचिने प्रस्ताव
नेपाल–गौतम ‘कार्ड’ नेकपाको वर्तमान खिचातानी टार्ने ‘अस्त्र’ जस्तो देखिएको छ । किनभने प्रधानमन्त्री ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री दुबै जिम्मेवारीबाट विदा गर्ने विपक्षीहरुको ‘मुभ’ लाई यसले मत्थर गर्नेछ । सुरुमा कुरा गरौँ, अस्त्र नं १ – माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव ।

नेकपामा अहिले दुईजना अध्यक्ष छन् । ओली र प्रचण्ड । तर, कार्यकारी अध्यक्ष भएको ‘फिलिङ’ सायद प्रचण्डले पनि गरेका छैनन् । किनभने कार्यकारी अध्यक्ष भएवापत उनले एउटा पनि ‘डिसिजन’गर्न सक्दैनन् । जुनसुकै बैठक बोलाउन पनि उनले शुरुमा अर्का अध्यक्ष ओलीलाई प्रस्ताव राख्ने र ओली राजी भएपछि मात्र निर्णय हुने नेकपामा परम्परा नै बसिसकेको छ । अर्थात, ओलीकालागि प्रचण्ड सह–अध्यक्षभन्दा माथि छैनन् ।

यस्तो अवस्थामा बनाइने अर्को अध्यक्षले पनि उही सहायकमा सिमित हुनुपर्नेछ । वरियतामा जे भएपनि पार्टीमा तेस्रो शक्तिशाली नेता हुन् माधव नेपाल । अध्यक्ष थपिँदैमा उनी थप शक्तिशाली बन्ने छैनन् । तर, उनलाई ओलीप्रति ‘सफ्ट’ बनाउने कुरा चाहिँ निश्चित जस्तै हुन्छ । अध्यक्ष ओलीले जित्ने ठाउँ यही नै हो । किनभने यसको प्रभावले ओलीलाई टाउको गन्ने चरणवाट मुक्त गर्नेछ ।

अस्त्र नं २ अर्थात वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने ‘ललिपप’ ले ओलीको सबै समस्या हल गर्नेछ ।  पहिलो नम्बर यस प्रस्तावले वामदेवलाई ओलीप्रति नतमस्तक बनाउने छ । तर, उनी प्रधानमन्त्री बन्ने बाटो भने खुल्दैन । राष्ट्रिय सभामा उनलाई मनोनित गरेर त्यसकै आधारमा प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्नुपर्छ । जो यसअघि नै विवादित भएर ‘क्लोज’ भइसकेको ‘च्याप्टर’ हो । फेरि यो ‘एजेण्डा’ आयो भने त्यो पारित होला ? संभावना न्यून छ । किनभने यसकालागि संसदमा दुईतिहाई बहुमत आवश्यक हुन्छ । जो नेकपा एक्लैसँग छैन ।

नेकपाले दुई तिहाई पु¥याउन प्रमुख प्रतिपक्षी कांग्रेसलाई मनाउनु पर्छ । त्यो नभए नयाँ पार्टी जसपाको शरणमा पुग्नु पर्छ । तर वामदेवका लागि उनीहरू सकारात्मक हुने संभावना न्यून छ । किनभने चुनाव हारेका वामदेवको विवादास्पद विगतले उनीहरुलाई झस्काउँछ नै । नेकपा निकट एक विश्लेषक भन्छन्–‘अर्कोकुरा वामदेव विदेशी शक्तिकेन्द्रहरुको डिजाइनमा चल्दैनन् । कांग्रेस–जसपा उनीहरुको डिजाइनबाट माथि उठेर निर्णय लिन सक्दैनन् ।’ प्रतिनिधि सभामा एउटा क्षेत्र रिक्त गराउँदै उनलाई चुनाव लडाएर–जिताउने भनेको संभव प्रायः छैन । किनभने यसको ‘प्रोसेस’ लामो छ । जित्ने सुनिश्चितता पनि रहन्न ।

वामदेवलाई चुनाव जिताउन यस्तो क्षेत्र रोज्नु पर्छ, जहाँ नेकपा वाहेक सबै अर्कोतिर रहँदा पनि नेकपाकै पल्लाभारी होस् । विपक्षीसँग कठोर वामदेवलाई अघिल्लो चुनावको मतगणना पनि काम लाग्ने छैन । फेरि भएन उनले चुनाव लडेको गृहजिल्ला बर्दियामा अन्तर्घात भएको उनको टीमको तत्कालीन निश्कर्ष हो । र, उनीहरुले चोर औंला ठड्याएका व्यक्ति अहिले प्रधानमन्त्रीको ‘किचन क्याबिनेट’ र सचिवालयमा नै रहेका छन् । अर्थात उनले चुनाव जित्ने संभावना भइहालेपनि अन्तर्घातको चपेटामा पर्ने संभावना पनि उत्तिकै रहन्छ ।

अर्थात ओलीका दुबै ‘कार्ड’ ललिपपसिद्ध हुने छन् । किनभने नेपाल कार्ड कार्यान्वयनले कुनै अर्थ राख्दैन भने गौतम ‘कार्ड’ क्षितिजपारीको गाऊँ जस्तो मात्र हो । जसले वर्तमानको लफडा भने टार्ने छ । तर, पार्टी र सरकारको संरचनामा कुनै बदलाव ल्याउने छैन ।

निश्कर्ष

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीका यी दुई ‘कार्ड’ कसरी अनुमोदन हुन्छन् त्यसलाई आउँदो २० गतेको सचिवालय बैठकले एकहदसम्म टुंगो लगाउने छ । यसको कार्यान्वनमा गतिरोध गर्नेहरुप्रति गौतम स्वभाविकरूपमा विरोधी हुनेछन् । किनभने ओलीको प्रस्तावले गौतमलाई खुसी बनाइसकेको छ ।

महाधिवेशनसम्म नेपालले पनि यही हिसावमा अघि बढ्दा ‘सर्प पनि मर्ने लौरो पनि नभाँचिने’ निश्कर्ष निकाले भने नेकपाको वर्तमान खड्गो टर्ने छ । अर्कोकुरा माधव नेपालले ओलीको समर्थनविना पार्टी अध्यक्ष बन्ने सुनिश्चितता रहन्न । नेपाल ‘लोयल’ हुने ठाऊँ यो पनि रहन्छ । भलै उनले आफू पक्षका नेताहरुलाई सेटल गर्न मन्त्री र मूख्यमन्त्रीको ‘बार्गेनिङ’ भने कायम राख्न सक्नेछन् ।

२० गतेको सचिवालय बैठकमा हेर्न बाँकी छ, प्रचण्ड–नेपाल नयाँ ‘कार्ड’ । जसले ओली ‘कार्ड’ मा नै समाधान देख्छ कि त्यसलाई फिका बनाइदिन्छ !

Logo