विदुर खतिवडा ।

चार महिना अगाडि मात्रै पनि कसैलाई थाहा थिएन कि कोभिड– १९ जस्तो घातक भाइरस यस संसारमा छ । "/>

कोरोनाको प्रभाव-विश्व अर्थतन्त्रमा छलाङ मार्दै चीन !

कोरोनाको प्रभाव-विश्व अर्थतन्त्रमा छलाङ मार्दै चीन !


विदुर खतिवडा ।

चार महिना अगाडि मात्रै पनि कसैलाई थाहा थिएन कि कोभिड– १९ जस्तो घातक भाइरस यस संसारमा छ । अहिले यो संसारको लगभग सबै भागमा फैलिसकेको छ । आधिकारिक टेष्ट भएकाहरुको संख्या पाँच लाख नाघिसकेको छ । तर, टेष्ट नभएको संख्या कति होला त्यसको कुनै विवरण छैन् । अनि कहिलेसम्म फैलिरहन्छ र कहिले रोकिन्छ भन्ने विषयमा अनुमान समेत गर्न सकिने अवस्था छैन ।

यसले संसारका विभिन्न देशको अर्थतन्त्रलाई ठूलो धक्का पु¥याएको छ, सम्पन्न देशको स्वास्थ्य प्रणालीले समेत यसलाई धान्न सकेको छैन । अर्थतन्त्र मात्र होइन, कोरोनाको कारणले विश्वको भुराजनीतिक अवस्थामा पनि व्यापक परिवर्तन आउने संकेतहरु देखिएका छन् । कतिपय मुलुकले निजी अस्पतालालाई सरकारीकरण गरेका छन् भने कतिपय मुलुकले सडकमा नै संरचना निर्माण गरेर उपचार थालेका छन् । दोस्रो, विश्वयुद्ध र सन् २००१ मा अमेरिकाको ट्वीन टावरमा आक्रमण भएपछि जस्तै यसले विश्वभर ठूलो मनोवैज्ञानिक डर र त्रास सिर्जना गरेको छ । यसको आर्थिक क्षति कति हुन्छ, त्यो कल्पना भन्दा वाहिरको विषय बनेको छ । अर्थतन्त्रको कुनै मतलव नगरी विभिन्न मुलुकले लकडाउन गरिरहेका छन्, वेरोजगारहरुको संख्यामा वृद्धि भएको छ ।

अमेरिका, भारत लगायत विभिन्न देशले आफ्ना नागरिकलाई राहत स्वरुप नगद प्रदान गर्न थालिसकेका छन् । तर, यो पनि कति समयसम्म हो यकिन छैन । विश्वको आपूर्ती प्रणाली नै ध्वस्त भईरहेको समयमा पैसा हुनेले पनि कति समयसम्म किनेर खान पाउने हुन यकिन छैन् । यस्तो विनाशकारी भाइरस कहाँबाट कहिले उत्पन्न हु्न्छ भन्ने यकिन थिएन तर विश्वका जनस्वास्थ्यविदहरुले जलवायु परिवर्तन, शहरीकरण र प्रदूषणका कारण कुनै पनि वेला महामारी आउनसक्ने भनी सचेत गराईरहेका थिए । तर पनि विश्वका सरकारहरुले यसलाई सुनेनन् र त्यस अनुसारको तयारी गरेनन् । वास्तवमा ठूला मुलुकहरुसँग पनि ठूलो महामारीसँग लड्नसक्ने क्षमता नै रहेनछ ।

अहिलेसम्मको अवस्था हेर्दा सुपरपावरको रुपमा रहेका अमेरिका, वेलायत र युरोपेली मुलुकहरुको यो महामारीसँग लड्नसक्ने क्षमता एकदमै कमजोर देखिएको छ । अन्य समयमा विश्वमा कुनै समस्या आईपर्दा त्यसलाई सम्बोधन गर्न अगाडि आउने अमेरिका यतिवेला आफै संकटमा छ । उसले अन्य मुलुकलाई सहयोग गर्ने त परको कुरा, आफूलाई समेत ब्यवस्थापन गर्न सकेको छैन । केही मुलुकको लागि अमेरिकाले केही आर्थिक सहयोग घोषणा गरेपनि उसले अन्य सहयोग पठाउन सकेको छैन् । उता वेलायत र युरोपियन मुलुकहरुको अवस्था पनि त्यस्तै छ ।

यतिवेला सबैले भर गरेको शक्ति हो, चीन । सबैभन्दा पहिला कोरोनासँग लडेको चीन यतिवेला केही उठेको छ र विश्वले चीनबाट आशा गरिरहेका छन् । उसले सुविधासम्पन्न मानिएका मुलुकहरुमा समेत सहयोग पठाईरहेको छ र चीनसँग सहयोग माग्नेको संख्या ठूलो भएका कारण त्यसलाई सम्बोधन गर्न उसलाई निकै कठिन भईरहेको छ । उदाहरणको लागि शुरुमा इटलीले युरोपियन युनियनसँग आफूलाई आवश्यक पर्ने उपकरणहरु सहयोग गर्न आग्रह ग¥यो तर युरोपियन युनियनले सो मागलाई पुरा गर्न सकेन ।

इटलीले चीनसँग आग्रह ग¥यो र उसले तुरुन्तै एक हजार भेन्टीलेटर, वीस लाख मास्क र लाखौको मात्रामा टेस्ट किटहरु पठायो । यति मात्र होइन, चीनले इरान र अन्य धेरै मुलुकमा समेत अत्यावश्यक सामाग्रीहरु पठायो । कतिपय मुलुकले त अप्ठेरो परेको समयमा हामीलाई सहयोग गर्नसक्ने एकमात्र मुलुक चीन भएको टिप्पणी समेत गर्न थालेका छन् । कोरानाको कारणले चीनको अर्थ व्यवस्थामा केही असर गरेपनि उसले आफ्ना उत्पादनहरुलाई रोकेको छैन् । उसले यतिवेला विश्वका लागि आवश्यक पर्ने सामाग्रीहरु व्यापक रुपमा उत्पादन गरिरहेको छ । यसको ठिक विपरीत अमेरिकाले चाहि आफूलाई आवश्यक पर्ने सामाग्रीहरु समेत उत्पादन गर्न सकेको छैन् । यति मात्र होइन, अमेरिकाले कि आफूलाई आवश्यक पर्ने सामाग्रीहरु तत्काल उत्पादन गर्नुपर्ने कि त उसले पनि चीनसँग सहयोग माग्नुपर्ने हु्न्छ ।

अहिलेसम्मको अवस्था यस्तो देखिदैछ कि चीनले नै कोरोनाविरुद्धको लडाईमा संसारमा नेतृत्व लिदैछ । त्यसोभए यसले विश्व व्यवस्थामा कस्तो असर गर्ला त ? अमेरिका अहिले जसरी कोरोनाविरुद्ध लडिरहेको छ, यसको विश्वशक्तिको इमेजमा यसले गम्भीर असर गरिरहेको छ । अमेरिका खाली पैसा र शक्तिको कारणले मात्र विश्व शक्तिको रुपमा स्थापित भएको होइन, विश्वमा कुनै पनि संकट आउँदा त्यसलाई तुरुन्त ‘रेसपोन्स’ गर्नसक्ने उसको क्षमता पनि हो । अथवा ग्लोव प्रिजेन्स उसको सबैभन्दा ठूलो शक्ति थियो । तर, यसपटक त्यो देखिएन, अमेरिकामा आन्तरिक निकायहरु नै एकदम कमजोर देखिए । अन्य गरिव देशलाई आवश्यक सामाग्रीहरु पठाउने अग्रसरता नै देखिएको छैन् ।

यस वीचमा अर्काे अवस्था देखिदैछ । अमेरिकाले पुरा गर्न नसकेका आकांक्षाहरु पुरा गर्नका लागि चीन विस्तारै अगाडि आउँदैछ र यो संकटको घडीमा विश्वको नेतृत्व लिने छनक देखाउँदैछ । नेपालकै कुरा गरौ । नेपालले परीक्षण किट, पिपिई र अन्य औषधिहरुका लागि थुप्रै मुलुकहरुसँग यो वीचमा आग्रह ग¥यो तर कतैबाट पनि रेस्पोन्स पाएन । तर चीनले भने निकट भविस्यमा नै यी सामाग्रीहरु पठाउँदैछ । यतिसम्म कि भारतले पनि चीनसँग सहयोग मागिरहेको छ । नेपालको मात्र होइन्, दक्षिण एसियामा नै परम्परागत प्रभाव भएको भारत यतिवेला छिमेकीहरुलाई सहयोग गर्न सक्ने अवस्थामा छैन् । केही सामान्य मेडिकल टिम पठाउने तयारी भारतले गरेपनि अन्य देशका लागि आवश्यक सामाग्रीहरु उसले प्रदान गर्न सकेको छैन् । उता चीन भने नेपाल लगायत अन्य मुलुकमा सहयोग गर्न तत्पर देखिन्छ।

यो एउटा सानो उदाहरण मात्र हो, अन्य साना देशमा पनि चीनले विस्तारै सहयोग गदैछ । केही दिन अगाडि मात्र नेपालका लागि चिनियाँ राजदुतले गरेको ट्वीटले सबैलाई भावुक बनायो । उनले भनिन, कोरोनारिुवद्धको लडाईमा नेपाल कहिले पनि एक्लो हुने छैन् । अमेरिकाले सिर्जना गरेको भ्याकुम विस्तारै चीनले पुरा गदैछ र चीन यतिवेला विश्वको नेतृत्व लिने रणनीतिमा छ । उदाहरणको लागि चीनले यतिवेला विश्वका विभिन्न मुलुकसँग भिडियो कन्भरेन्स गरेर आफ्ना अनुभवहरु साट्दैछ । विश्वका हरेक कुनामा चीन पुगिरहेको छ । चीन यतिवेला आफ्नो आन्तरिक ‘सिस्टम’लाई सुदृढ गदैछ अनि अन्य मुलुकलाई पनि सहयोग गदैछ । यस्तो संकटको समयमा पनि उसले आफ्नो कुटनीतिक संयन्त्रलाई निकै सवल बनाईरहेको छ ।

चीनका राष्ट्रपति सि जिनपिङलाई राम्रोसँग के थाहा छ भने यतिवेला विश्वलाई गरेको सहयोगले विश्वमा चीनको नेतृत्व स्थापित गर्नका लागि सहयोग गर्नेछ । यति मात्र होइन्, चीनमा कोरोना भाइरस फैलेदेखिनै विश्व स्वास्थ्य संगठनमा चीनले एक प्रकारले प्रभु्त्व नै जन्माएको छ । सो संगठनमा चीनको प्रभाव बढेको भनी पश्चिमा मुलुक र भारतमा त्यसको तिब्र आलोचना भईरहेको छ । यति मात्र होइन्, यतिवेला चीनले संयुक्त राष्ट्रसंघका अन्य निकायहरुमा समेत आफ्नो प्रभाव विस्तारै बढाउँदै लगेको छ । अन्य मुलुक सम्पूर्ण रुपमा कोरोनासँग लड्दा चीनभने विश्व व्यवस्थापनमा असर गर्ने संस्थाहरुमा कसरी आफ्नो प्रभाव बढाउने भन्नेमा नै केन्द्रित रहेको देखिन्छ ।

यतिवेला चीनको लागि सबैभन्दा ठूलो अवसर भनेको नै अमेरिकाको आफूलाई मात्र हेर्ने नीति हो । यतिवेला सुपरपावर रहिरहने हो भने अमेरिकाको मुख्य चुनौती भनेको आन्तरिक समस्या समाधान गरेर विश्वमा नै यो भाइरस नियन्त्रण गर्नका लागि नेतृत्व लिनु हो ।
कोरोना भाइरसले कति अर्थतन्त्रलाई असर गर्छ यकिन छैन् । संकटका कारण कतिपय सरकारहरु संकटमा समेत पर्नसक्छन् । त्यसैले अहिलेसम्मको अवस्था हेर्दा कोरोनापछि चीन अझै झन शक्तिशाली भएर आउने देखिन्छ । यही अवस्था रहने हो भने अमेरिकालाई ओभरटेक गरेर चीन सुपरपावरको रुपमा आउनसक्ने विश्लेषण पनि अन्तराष्ट्रिय विज्ञहरुको छ ।

दोस्रो विश्वयुद्धपछि विश्व दुई धु्रवमा विभाजित भयो । अमेरिकी नेतृत्व र सोभियत युनियनको नेतृत्व । वर्लिन पर्खाल भत्किएपछि विश्वमा अमेरिकाको एकछत्र प्रभाव रह्यो । दोस्रो विश्वयुद्ध सरह अथवा त्यस भन्दा पनि बढी क्षति गर्नसक्ने यो कोरोना भाइरसले विश्व व्यवस्थापमा परिवर्तनहरु ल्याउने पर्याप्त संकेतहरु देखिएका छन् ।

Logo