‘कोरोनाका कारण यात्रुको चाप चालिस प्रतिशत घटेको छ’ : सरोज सिटौला (महासचिव)

‘कोरोनाका कारण यात्रुको चाप चालिस प्रतिशत घटेको छ’ : सरोज सिटौला (महासचिव)


काठमाडौं ।

विश्वमा कोरोना भाइरसको प्रभावले अर्थतन्त्रमा ठूलो सङकट परेको छ । व्यापार व्यवसायदेखि उद्योग, कल कारखानामा समेत प्रभाव परेकाले आर्थिक गतिविधि कम हुन थालेको छ । विश्वका १६२ वटा देशमा कोरोना भाइरसको सङक्रमण देखिएको छ । नेपालमा पनि कोरोनाको प्रभावले विकास निर्माणदेखि होटल, पर्यटन तथा यातायात व्यवसायसमेत प्रभावित भइ अर्थतन्त्रमा धक्का लागेको छ । कोरोनाको प्रभावले नेपालको यातायात व्यवसायमा परेको असर तथा प्रकोपबाट बच्नको लागि यातायात व्यवसायीहरुले गरेको प्रयासको विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासँग केन्द्रबिन्दुका संवाददाता अनिस मिजारले गरेको कुराकानी:

कोरोना भाइरसले नेपालको यातायात क्षेत्रमा कस्तो असर परेको छ ?
पछिल्लो समय विश्वव्यापीरुपमा नै कोरोना भाइरसको प्रभाव देखिएको छ । नेपालको सबैभन्दा बढी नाका जोडिएको भारतमा समेत प्रकोप देखा परेको छ । भारतबाट आउने नाकाहरु बन्द, हवाइ उडानमा रोक लगाउने अवस्था आएको छ । सरकारले पनि प्रकोपबाट बच्नको लागि तयारी थालेकाले यात्रुको आवतजावतमा कमि आएपछि यात्रु घटेका छन् । लामो तथा छोटो दुरीमा यात्रु ६० प्रतिशतले कटौती भएका छन् । यसरी यात्रु कटौती हुँदा सिङगो मुलुकलाई नै अर्थतन्त्रमा ठूलो असर परेको छ । कोरोना सर्न सक्ने भएकाले सरकारले पनि अति आवश्यकता भन्दा बाहेक घर बाहिर ननिस्कन भनेकाले पनि यातायात व्यवसायमा ठूलो असर परेको छ ।

लामो दुरीका सवारीमा मात्र हो की उपत्यकाका सवारीमा पनि यात्रुको चाप घटेको हो ?
लामो दुरीमा मात्र होइन, उपत्यकामा पनि यात्रुको चाप घटेको छ । अहिले अन्तराष्ट्रिय क्षेत्रमा नै कोरोनाले गर्दा त्रासपूर्ण बातावरण भएकाले उपत्यकाका मानिसहरु पनि दिनप्रति दिन घरबाट बाहिर ननिस्कने भएकाले ४० प्रतिशत यात्रुको चाप घटेको छ । यात्रुहरुले कोरोना सङक्रमणको साबधानी अपनाउनु राम्रो हो । यो अवस्था हामी सबैको राष्ट्रिय मुद्दा भएकाले पनि सबै सजक हुनु जरुरी छ ।

सरकारले यातायात क्षेत्रमा के गर्दा राम्रो होला ?
सरकारले भन्दा पनि यातायात क्षेत्र हेर्ने निकायहरुले अहिलेसम्म पनि व्यवसायीहरुसँग छलफल गरेको छैन । यस्तो छलफल अगाडी नै गर्नु पर्ने हो, गर्न जरुरी पनि रहेको छ । समयमा नै गरियो भने यो सन्त्रासको बेला यातायात सञ्चालनलाई व्यवस्थित गर्न सकिन्छ । यदि व्यवसायीहरुसँग छलफल गरेर सवारी सञ्चालनमा पनि रोक्ने धारणा हो की के हो स्पष्ट रुपमा व्यवसायीहरुसँग छलफल गरेर सरकार अगाडी बढ्नु पर्छ ।

कोराना भाइरसबाट बच्नको लागि हजुरहरुको तयारी के छ ?
व्यवसायीहरुको तर्फबाट काम थालनी गरिसकेका छौं । सवारीमा सेनिटाइजर छरेर सञ्चालन गर्ने तथा यात्रु सवारीमा चढ्नु अघि ज्वरो मापन गरेर मात्र चढाउने कामको थालनी गरिसकेका छौं । उपत्यकामा पनि चाँडै मास्क तथा सेनेटाइजर सहज रुपमा व्यवस्थापन गरेर यात्रुलाई सहज बातावरण गर्ने तयारीमा छौं । यस्तै बिहान सवारी सञ्चालन गर्नु पहिले सवारीमा सेनेटाइजर छकेर मात्र सञ्चालन गर्ने तथा चालक र सहचालकले अनिर्वाय मास्कको प्रयोग गर्नु पर्ने जस्ता कामको थालनी गरेका छौं ।

Logo