मछिन्द्र ए डिभिजन लिगकाे शीर्ष स्थानमा

मछिन्द्र ए डिभिजन लिगकाे शीर्ष स्थानमा


काठमाडौं ।  शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई फराकिलो अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा लिगको दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबले सरस्वतीलाई ६–१ गोलअन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो। मछिन्द्रको जितमा दीपक राईले २ गोल गर्दा विशाल राई, देवेन्द्र तामाङ, अडेलजा सोमिड र एन्ड्रेस नियाले गोल गरे। यता सरस्वतीका लागि कजिम बुसारीले गोल गरे।

मछिन्द्रका लागि ४०औं मिनेटमा देवेन्द्रले गोल गर्दै  पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफकाे ५४औं मिनेटमा दीपकले गोल गर्दा ५९ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई ३–० गोलको अग्रता दिलाए। खेलको ७७ औं मिनेटमा दीपकले अर्को गोल गर्दै मछिन्द्रलाई ४–० गोलको अग्रता दिलाए।

खेलको ८७ औं मिनेटमा बुसारीले गोल गर्र्दै सरस्वतीलाई ४–१ गोलको स्थितिमा ल्याए। तर खेलको अतिरिक्त समयमा सरस्वतीले थप २ गोल खान पुग्यो। अतिरिक्त समयमा अडेलजा सोमिड र एन्ड्रेस नियाले गोल गर्दै मछिन्द्रलाई ६–१ गोलको जित दिलाए।

जितसँगै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको छ। मछिन्द्र क्लबको ११ खेलबाट २५ अंक भएको छ। दोस्रो स्थानमा रहेको आर्मीको भने १० खेलबाट २३ अंक छ।  ११ खेल खेलेको सरस्वतीको मात्र ४ अंक छ।

Logo