प्रहरी शिविर खडा गरेर गाँजा फँडानी

प्रहरी शिविर खडा गरेर गाँजा फँडानी


चितवन,
चितवनको पहाडी क्षेत्रमा ठूलो परिमाणमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । प्रहरीले चार दिनसम्म सो क्षेत्रमा शिविर खडा गरेर गाँजा खेती नष्ट गरेको हो । पूर्वपश्चिम राजमार्गबाट उत्तरपूर्वी क्षेत्र राप्ती नगरपालिका वडा नम्बर १०, ११, १२ र १३ मा गाँजा फँडानी गरिएको हो । चार दिनको अवधिमा साढे २२ बिघा क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले बताउनुभयो । पाण्डेकै नेतृत्वमा राप्ती नगरपालिका–१० चौघरास्थित राष्ट्रिय आधारभूत विद्यालयमा प्रहरीले चारदिनसम्म शिविर खडा गरेर बसेको थियो ।

गाँजा फँडानीका लागि नेपाल प्रहरीका ३१ र सशस्त्र प्रहरीका १५ सहित ४६ सुरक्षाकर्मी खटिएका थिए । भदौ महिना यता मात्र गाँजा खेती नष्ट गर्नका लागि विभिन्न चरणमा ३०० प्रहरी परिचालन गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । राप्ती नगरपालिकाकोे वडा नम्बर ११ को ज्यामलिङ, ल्याङलिङ, वडा नम्बर १२ को लिपुटार, गोनवाङ र वडा नम्बर १३ को वाङसेलिङमा गाँजा फँडानी गरिएको पाण्डेले बताउनुभयो । उहाँले भूगोल विकट भएका कारण गाँजा खेती नष्ट गर्न समस्या भएको बताउनुभयो । “बिहान शिविरबाट खाना खाएर निस्कने हो, दिनभर फँडानी गरेपछि बेलुका मात्रै फर्कने गरेका छौँ”, उहाँले भन्नुभयो ।

उहाँले आधारभूत विद्यालयबाहेक अन्य ठाँउमा खान र बस्ने सुविधा नभएकाले समस्या भएको बताउनुभयो । “जहाँ गाँजा खेती देख्छौँ त्यहाँ फँडानी गर्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “हामी पुग्न नसकेका पनि अझै धेरै ठाँउ छन् ।” शनिवार मात्र चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, प्रहरी उपरीक्षक दानबहादुर मल्ल आफैँ उपस्थित भएर गाँजा फँडानी गर्नुभएको हो । सो क्रममा राप्ती नगरपालिका–१० कोटडाँडाको साढे तीन बिघा क्षेत्रमा गाँजा खेती नष्ट गरिएको थियो ।

प्रजिअ बस्नेतले पहाडी क्षेत्रमा लगाएको गाँजा खेती देखेर आफू अचम्ममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सुनेको मात्रै थिएँ बिघौँ जग्गामा व्यावसायिकरूपमा गाँजा खेती गर्ने गरिएको छ । तर आफ्नै आँखाले देखेँ ।” उहाँले गाँजा खेती कसले गरेको भन्नेबारे नखुलेको बताउनुभयो । “लगाउने मान्छे देखिँदैन”, उहाँले भन्नुभयो, “स्थानीय कसैले पनि ‘मेरो बारी हो, मैले लगाएको हो’ भन्दैन ।”

प्रहरी प्रशासनको उपस्थिति भइरहँदा स्थानीय जनप्रतिनिधिको भने सहभागिता थिएन । जनप्रतिनिधि पनि यस विषयमा खुल्न चाहँदैनन् । “स्थानीय जनप्रतिनिधिको आकांक्षा सुरक्षाकर्मी मात्र गएर फाँडिदिए हुन्थ्यो भन्ने छ”, प्रजिअ बस्नेतले भन्नुभयो, “यसमा सम्बन्धित वडाले आफ्नो वडाका नागरिकलाई सचेतना अविवृद्धि गर्नुपर्ने देखिन्छ ।” प्रतिबन्धित वस्तुको उत्पादन गर्नहुन्न भन्ने विषयमा यहाँका सर्वसाधारणलाई जानकारी हुन जरुरी रहेको उहाँको धारणा छ ।

Logo