पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा र हिमपातको सम्भावना


काठमाडौं,

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शनिबार साँझ मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै आगामी तीन दिनसम्म मौसम बद्ली भई वर्षा र हिमपातको सम्भावना औँल्याएको हो । आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाको मौसमी प्रक्षेपण अनुरुप आज देशभर आंशिकदेखि सामान्य बद्ली रही पश्चिमी र मध्य पहाडी भू–भागमा एक÷दुई स्थानमा हल्का वर्षा र पश्चिमी उच्च हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुनेछ । भोलि पनि देशभर आंशिकदेखि सामान्य बद्ली रही पहाडी भूभागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशका मध्य र पूर्वी भूभागमा सामान्य बद्ली रही पश्चिमी क्षेत्रमा आंशिक बद्ली हुनेछ । पूर्वी र मध्यपहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

Logo