संस्मरण : त्यो घण्टा घर

संस्मरण : त्यो घण्टा घर


घण्टाघर समयको सूचक मात्र नभएर एउटा लामो कालखण्डको इतिहास पनि हो । यसैको छहारीमा बसेर धेरैले देश परिवर्तनको काम गरे । तर यो कहिल्यै थाकेन । यसले हरेक दिन उही समयमा उही काम गरी नै रहेको छ । जुन दिन यो थाक्नेछ, त्यो दिन सायद हामी सबै सकिइसक्नेछौँ । यसले हामी सबैलाई सधैं सचेत गराइरहेको छ । समयचक्र बोध गराइरहेको छ ।

आज म घण्टाघरको घडीको इतिहास लेख्न चाहिरहेको छैन । तर मध्य सहरका बीचमा वीर शमशेरले एक शताब्दीअघि यसको निर्माण गराएका हुन् । त्यस बेला सहरवासी यही घडीलाई आधार बनाएर आफ्नो दैनिक क्रियाकलाप गर्दथे । सुरुमा घण्टाघर आजको जस्तो नभएको कुरा जानकारहरू बताउँछन् । यो बेलायतको विग बेन घडीको आकारसँग मिल्दथ्यो । वि.सं १९९० को भुकम्पपछि भने यसको आकार बदलिएर आजको अवस्थामा आएको हो ।

कुरा या प्रसङ्ग, घण्टाघरसँगै जोडिएको त्रिचन्द्र कलेज र त्यसैमा सञ्चालित स्नातकोत्तर नेपाली विषयको हो । वि.सं. १९७५ सालमा चन्द्र शमशेरका पालामा यसको स्थापना भएको हो । वि.सं. १९७६ बाट विधिवत रूपमा आई.ए र आई एस्सी अनि वि.सं. १९८१ देखि बीए र २०४४ सालबाट बी.एस्सीको पठनपाठन आरम्भ भएको हो । घण्टाघरसँगै एम ए नेपाली पठन पाठन गराउन थालेको १५ वर्ष जति भयो ।

हो, यो कुरा म त्यो बेलाको बताउन गइरहेको छु जुन वि.सं. २०६१-२०६४ सालको हो । म त्रिचन्द्र कलेजमा पहिलो पटक भर्ना २०६१ सालमा स्नातकोत्तर नेपाली पढ्नको लागि भर्ना भएको थिएँ । त्यो बेलामा हाम्रा साथीहरूमा गोवर्धन पूजा, रमेश सागर, हरि आचार्य, अम्बिका भण्डारी, मनकामना उप्रेती, अनिता दाहाल, यम बास्तोला, करुण ढकाल, विवेक उपाध्याय आादि विद्यार्थी थियौँ । पहिलो वर्ष केही समय पढेर म कामको सिलसिलामा पथलैया गएँ । त्यो वर्षको केही महिना पनि मेरो लागि यादगार नै बन्यो । साथीहरू गज्जब मिल्ने भयौँ । सबै नयाँ, कोही पनि एकअर्कामा परिचित थिएनौँ तैपनि छिट्टै एकअर्कामा वर्षौंदेखि परिचत झै भएर बस्यौं, पढ्यौँ अनि रमाइलो ग¥यौँ ।

मैले त्यस वर्षको परीक्षा छोडेँ तयारी राम्रो नभएको भनेर । दोस्रो वर्ष मलाई पढ्न जान मन लागेको थिएन । तर मेरो आरआर पढ्दाका अत्यन्तै सहृदयी साथी श्रीराज खरेल एमए पढ्नका लागि कलेज आउनुभयो । म कहिले प्रथम वर्षमा त कहिले दोस्रो वर्षमा बसेर रमाइलो गर्न लागेँ । सोचेको थिइन पढाइ गर्छु । यसरी जाने आउने क्रममा मलाई विस्तारै पुनः पढ्ने रहर लागेर आयो । त्यो समयमा अश्विनी कोइराला, दीपकप्रसाद दाहाल, सविना न्यौपाने, श्रीराज खरेल, रविका भण्डारी, सुशिला शर्मा, जगन्नाथ आचार्य, सुधा शर्मा, जानुका नेपाल लगायतका साथीहरू थिए । यो समूहमा हामी एकअर्काका अति नजिकका साथी भयौँ । सबै पढाइमा तल्लीन थिए । म पहिलो र दोस्रो वर्ष जहाँ गएर बसे पनि मेरा आत्मीय साथी थिए ।

म पुनः पढ्न थालेँ । हामीलाई पढाउने हाम्रा आत्मीय सरहरू प्राडा हरि पराजुली सर जो क्याम्पस प्रमुख पनि हुनुहुन्थ्यो । त्यस्तै कोशराज न्यौपाने सर । उहाँले हामीलाई संस्कृत काव्यशास्त्र पढाउनु हुन्थ्यो । हामीलाई पढाइभन्दा पनि उहाँको धार्मिक तीर्थयात्राको कुरा रोचक लाग्थे । भाषा विज्ञान पढाउने अङ्गदमणि गौतम सर आउदा हामी केही साथी खाजा खान जान्थ्यौँ । उहाँको कक्षा पनि राम्रो थियो तर हामी सबैलाई खाजा खाने समय त्यही मिल्थ्यो र काममा जाने मजस्तालाई पनि भाग्ने मौका । अझ दिपक सरले पढाउने पूर्वआधुनिक साहित्यको कक्षामा त हामी प्रायःजसो कक्षामा बस्दैनथ्यौँ ।

डा. दुर्गा घर्ती सरको कक्षा पनि हामीलाई रमाइलो लाग्थ्यो । उहाँले टेलिकमको जागिर छोडेर पीएचडी गरेको सुन्दा अचम्म लाग्थ्यो मलाई । किनभने त्यतिबेलाको टेलिकमको जागिर गज्जबै थियो । तर उहाँको त्यो रहरले अहिले हामीलाई पनि पीएचडी गर्ने रहर जगाएको छ । मलाई अझै पनि सम्झना छ प्राध्यापक कृष्ण गौतम सरको । जसले पाश्चात्य समालोचनाजस्तो गहन विषय हामीलाई पढ्नका लागि सहज बनाइदिनुभयो । उहाँको बौद्धिक क्षमता देखेर हामी चकित खान्थ्यौँ ।

कविता पढाउनका लागि हामीलाई चर्चित कवि विप्लव ढकाल आउनु भयो । हामी उहाँको कविता पढाउने शैली र वाचन शैलीको फ्यान नै थियौ । विप्लब सरको कार्यक्रम छ भने पछि हामी जसरी पनि पुग्दथ्यौँ । त्यस्तै भाषाविज्ञानको प्रेम सरको सम्झना पनि उत्तिकै आउँछ । अनि काव्यशास्त्र पढाउने भागवत आचार्य सरलाई पनि भुल्न सकिँदैन । उहाँहरूका पढाउने तरिका, वा ! क्या रमाइला थिए ती दिन !
शेष सरले पढाउनु भएको प्रेम पिण्ड नाटक हामीलाई अझै ताजा छ मानसपटलमा । उहाँले लामो समय पढाउनुभएको प्रेमपिण्डमा एडबिल नामक पात्रका बारेमा अश्विनीजी, हामी अनि सर बीच ठुलै रस्साकस्सी हुन्थ्यो । त्यसैगरी हामीले सम्झने सर भुवन न्यौपाने जसले हामीलाई सांङ्केतिक भाषाको बारेमा ज्ञान गराउनुभयो ।

कथाको सिद्धान्त र कथाको बारेमा गोविन्द सर जो सुरुमा साथी र पछि सर अनि फेरि साथी बन्नुभयो । केही समय हुमकला पाण्डेले पनि हामीलाई कविता पढाउनुभयो ।

आदरणीय ताराकान्त पाण्डेय, मोतिलाल पराजुली, मधुसूदन गिरि, व्रतराज आचार्य, शशिधर खनाल तथा गोपाल गैरे सरलाई पनि म कहिल्यै भुल्न सक्दिन । प्रेम सरको ज्ञानप्रति हामी नतमस्तक नै थियौँ । मोतीलाल सरले पढाउने लोकसाहित्य तथा तारा सरले पढाउने समालोचनामा पनि हामी असाध्यै रमाउँथ्यौँ । शशिधर सरले ‘यस्तो क्या’ भन्ने थेगोसहित पढाउने निबन्ध सार्‍है स्वादिला लाग्थे । मैले केही सरहरूको नाम बिर्सेँ । यसका लागि माफी माग्छु । उहाँहरू हाम्रो मानसपटमा आदरणीय हुनुहुन्छ ।

हामी अश्विनीजी, दिपक, म अनि सविना, रविका, जानुका, खरेलजी बीच अलि धेरै नजिक मिल्ती थियो । हुनत सबैसँगको राम्रो सम्बन्ध थियो । कलेजमा हामी कार्यक्रमहरू गथ्र्यौं । अनि हामी चिया खानदेखि घुम्न जानेसम्ममा हाम्रो एक मत हुने गथ्र्यो । सारै रमाइलोसँग ती दिनहरू बिताइयो । कहिले घन्टाघरको छहारीमा बसेर त कहिले सुन्दरीजल अनि कहिले चाँगुनारायण घुम्न जान्थ्यौँ । हामीलाई थाहा थियो पढाइ हाम्रा लागि सबैथोक हो । हामी पढाइ बिगारेर कहिल्यै हिडेनौँ ।

आज हामी जो जहाँ छौँ, सबैको राम्रो छ । यो सबै त्यो घन्टाघरले जुराएको संजोग थियो र आजसम्म पनि त्यो आत्मीयता कायमै छ । अश्विनीजी अहिले साहित्य लेखनलाई आफ्नो कर्म बनाउँदै हुुनुहुन्छ । दीपक विभिन्न संस्थामा शिक्षणका अलावा पत्रकारितातर्फ कान्तिपुर, अनलाइन खबर हुँदै केन्द्रविन्दुमा आइपुगेका छन् । जानुका क्यानडामा रमाउँदै छिन् । खरेलजी राष्ट्रिय अनुसन्धान आयोगमा हुनुहुन्छ । रविका शिक्षिकाका रूपमा रमाइरहेकी छिन् । जगन्नाथजी कलेज र स्कुलमा शिक्षा दिदै हुनुहुन्छ । सुशिलाजी चौधरी ग्रुपको स्कुलमा प्राध्यापनरत छिन् । सविना पोखराको सैनिक महाविद्यालयमा कार्यरत छिन् । म आफै पनि पोखराको समता शिक्षा निकेतन सञ्चालन तथा विहान कलेज तथा दस जोड दुईमा अध्यापनरत छु ।

हामी जो जहाँ छौँ, सबै साथीसँगको आत्मीयता आजसम्म पनि सम्झाइरहने केन्द्रविन्दु बनेको छ घण्टाघर । आजसम्म उसैगरी समय बताइरहने त्यो प्रिय ठाउँ हो घण्टाघर । सधै सबैको यस्तै देख्न पाइयोस् । नमन ती समस्त शिक्षकहरूलाई जसले देखाएको बाटो हामी हिँड्ने प्रयत्न गर्दै छौँ ।

Logo