चौधौँ योजना मुलुकको आधार वर्ष : प्रधानमन्त्री ओली

चौधौँ योजना मुलुकको आधार वर्ष : प्रधानमन्त्री ओली


काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीले १४ औं त्रिवर्षीय योजना मुलुकको आधार वर्ष बन्न पुगेको बताउनु भएको छ । उक्त अवधिमा शान्ति स्थापनापछि संविधान कार्यान्वयनसँगै तीनै तहको निर्वाचन सम्पन्न गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अब विकासको गतिलाई तीव्रता दिने बेला आएको बताउनुभयो ।

सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको ४६ औँ बैठकलाई आइतबार साँझ सम्बोधन गर्दै उहाँले विकासमा जनताको सहभागितालाई आत्मसात् गर्न मन्त्री र सरकारी अधिकारीलाई आग्रह गर्नुभयो । सङ्घीय सरकारका मन्त्री, प्रदेशका मुख्य मन्त्रीहरु तथा सरकारी अधिकारीहरु सहभागि उक्त बैठकमा प्रधानमन्त्री ओलीले लोकप्रिय र वितरणमुखी भन्दा दिगो विकास र परिणाममुखी काम गर्न निर्देशनसमेत दिनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक सूचक, चौधौँ योजनाका आर्थिक सामाजिक तथा भौतिक उपलब्धिहरु, मन्त्रालयगत खर्च, राष्ट्रिय गौरवका आयोजनाको प्रगति, भूकम्पपछिको पुनःनिर्माण र हाल देखिएका समस्याबारे जानकारी गराएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले अघिल्ला बैठकका निर्णयहरु नै कार्यान्वयन हुन नसकेकामा चिन्ता प्रकट गर्नुभयो । त्रिचालिसौँ बैठकमा भएका छ वटा निर्णयमा दुईवटा मात्रै पूरा भएको र चवालिसौँ बैठकका आठ निर्णयमा दुई तथा पैँतालिसौँ बैठकका आठमा एउटा पनि निर्णय पूरा नहुनु दुःखद् कुरा भएको बताउनुभयो ।

“के हामीले गलत निर्णय ग¥यौँ, निर्णय ठीक गरेका छौँ भने कार्यान्वयन हुनुपर्छ, निर्णय गर्ने कार्यान्वयन नगर्ने, यो कुरा हुनै सक्दैन, अब त्यो स्थिति हुनु हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो । अहिले देश खास परिस्थितिबाट अगाडि बढिरहेको र सरकारको काँधमा विशेष जिम्मेवारी रहेको उल्लेख गर्दै उहाँले जनताको अपेक्षा अनुसारको काम गर्न मन्त्रीलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको निर्वाचन प्रणालीबाट राजनीतिक स्थायित्व हुन नसक्ने र बहुमतको सरकार पनि बन्न नसक्ने जिकिर गर्नुभयो । यस्तो प्रणालीमा पनि बहुमतको सरकार प्राप्त भएको स्मरण गर्दै उहाँले भन्नुभयो, “सरकारले केही गर्छ भनेर जनताले विश्वास गरेर अनुकूल वातावरण दिएका छन्, यस्तो बेलामा गतिका साथ काम गर्न सकिएको छैन, यस अवसरको अधिकतम सदुपयोग गर्नुपर्छ ।”

मुलुकमा लोकप्रिय र वितरणमुखी काम र दिगो विकासका काममा लाग्नुपर्नेमा जोड दिँदै उहाँले जनतालाई देश बनाउनका लागि प्रेरित गर्न मन्त्रीहरुलाई सुझाव दिनुभयो । उहाँले थप्नुभयो, “यो देश बनाउने हो भने जनताले बनाउने हो, सरकारले त नीति दिन्छ, बाटो देखाउँछ, योजना बनाउँछ, जनता आफैँ तत्पर भएन भने देश बन्दैन, वितरणमुखी कुरा गरेर मात्रै हुँदैन ।”

सरकारले दिएर जनतालाई खुशी पार्नु भन्दा विकासका काममा हिट गर्ने क्षमता वृद्धि गरी शिक्षा, स्वास्थ्य र रोजगारीको सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । जनतामा आफूले समृद्धि हासिल गर्नुपर्छ, आफूले कमाउनुपर्छ आफूले श्रम गर्नुपर्छ, सुन्दर, सफल र समृद्ध देश हामीले बनाउन सक्छौँ भन्ने भावना जागृत गराउनतर्फ लाग्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको सुझाव दिनुभयो ।
रासस

Logo