जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थको सरकारी सुविधा बन्द

जनआन्दोलनका जिउँदा सहिद मुकेश कायस्थको सरकारी सुविधा बन्द


काठमाडौं

देशको परिवर्तनका लागि रगत बगाएका ‘जीवित सहिद’ मुकेश कायस्थका नाममा सरकारले दिँदै आएको सुविधा बन्द भएको छ ।

खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले मुकेशलाई मासिक भत्ताबापत १५ हजार, नर्सका लागि २३ हजार र कुरुवाका लागि ६ हजार दुई सय व्यवस्था गरेको थियो । तर अहिले सम्पूर्ण सुविधा रोकिएको मुकेशकी आमा मीरा कायस्थले बताइन् । ‘जनताको पक्षमा काम गर्ने सरकार आएको भन्ने सुनिन्छ, तर मुकेश जस्ता आन्दोलनका घाइतेको सुविधा खोसिएको छ,’ मीराले भनिन् ।

मुकेश जस्तै जनआन्दोलनका घाइतेका लागि सरकारले पुनस्र्थापना केन्द्र खोलिदिनु पर्ने परिवारको माग छ । उनले भनिन्, ‘हामी हुँदा त हामीले छोराको स्याहारसुसार गछौँ, तर भोलि हामी पनि वृद्ध भएर स्याहार्न सकेनौँ भने कसले हेर्ला भन्ने चिन्ता लागिरहन्छ । त्यसैले पुनस्र्थापना केन्द्र खुलेमा हाम्रो बाबु जस्तै अरू घाइतेले संरक्षण पाउँछन् ।’

मुकेशलाई समाजले ‘जिउँदो सहिद’ भन्छ । तर सरकारले घोषणा गरेको छैन । ‘सरकारले क्याबिनेटबाट नै जिउँदो सहिद किन घोषणा गर्न सकेन ?’ मीराको प्रश्न छ । सरकारले मुकेशलाई शतप्रतिशत घाइते भनेर परिचयपत्र उपलब्ध गराएको छ । ‘परिचयपत्रले के गर्ने, सुविधा नै काटिएको छ,’ उनी भन्छिन् ।
नयाँ पत्रिकाबाट

Logo