जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुन्छ : मन्त्री महासेठ

जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुन्छ : मन्त्री महासेठ


जनकपुरधाम

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जनकपुर–जयनगर रेल यथाशीघ्र सञ्चालन हुने बताएका छन् । तराई मधेश सडक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत शुक्रबार धनुषा जिल्लाको छ स्थानमा सडक निर्माण कार्यको शिलान्यास गर्दै मन्त्री महासेठले सरकार भाडामा रेल इञ्जिन र डब्बा लिई चलाउने पक्षमा नरहेको स्पष्ट गरे ।

जनकपुर–जयनगर रेल सञ्चालन सन्दर्भमा दुई दिनभित्र भारतीय र नेपाली प्राविधिक टोलीले अध्ययन गर्ने र साताभरमा सहमतिका बिन्दुमा पुग्ने विश्वास व्यक्त गर्दै उनले रेल सञ्चालनमा राजनीतिकरणले अस्पष्टता देखिएको धारणा राखेका थिए ।

मन्त्री महासेठले सरकार आफ्नै देशको धरातलीय परिवेश अनुसारको ध्वजावाहक रेल सञ्चालन गर्ने पक्षमा रहेको छ भन्दै उनले सरकार एक वर्षको अवधिमा नेपालकै इतिहासमा कहिल्यै नभएको विकासका गतिविधि सम्पन्न गरेको जानकारी दिए ।

तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत पूर्व पश्चिम राजमार्ग लालगढ प्रहरी चौकी दक्षिण चौलिखा, प्रेमनगर, रामनगर, सिंग्याही, धर्मपुर हुँदै जनकपुर रामानन्द चोक जाने सडक (३० किलोमिटर, करीब ५० हजार बढी जनसङ्ख्या लाभान्वित हुने), लालगढ (पुलिस चौकी), तुलसी रानीवास सिन्धुली जाने सडक (१५ किलोमिटर, करीब ३५ हजार जनसङ्ख्या लाभान्वित हुने) र बेङ्गाडाबर सार्वजनिक पोखरी हुँदै महोत्तरी सीमा, चौलिखा बजार जाने सडकको ( १५ किलोमिटर, करीब ३० हजार जनसङ्ख्या लाभान्वित हुने) शिलान्यास गरिएको हो ।
गोरखापत्रबाट

Logo