इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपाली सेनालाई सहयोग गर्ने अमेरिकी प्रस्ताव

इन्डो प्यासिफिक रणनीति अन्तर्गत नेपाली सेनालाई सहयोग गर्ने अमेरिकी प्रस्ताव


काठमाडौँ

रक्षा सम्बन्धी दक्षिण एशियाली मामिला हेर्ने अमेरिकी उप सहायकमन्त्री जोसेफ फेल्टरले अमेरिकी इन्डो प्यासिफिक रणनति अन्तर्गत नेपालको सैन्य क्षेत्रमा सहयोग गर्ने प्रस्ताब गरेका छन् ।

नेपाल भ्रमणमा रहेका फेल्टरले सोमवार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग यो इच्छा राखेका हुन् । फेल्टरले सोमवारै प्रधानसेनापति पूर्णचन्द्र थापालाई जंगी अड्डामा भेटेर यही धारणा राखेका छन् ।

‘इन्डो प्यासिफिक रणनीति अन्तर्गत हामी नेपालको सुरक्षा क्षेत्र, प्रतिरक्षा विश्वविद्यालय स्थापनामा र नागरिक सैन्य सम्बन्ध व्यवस्थित गर्न सहयोग गर्ने चाहन्छौँ’ फेल्टरलाई उद्धृत गर्दै रक्षामन्त्री निकट स्रोतले भन्यो । तर उपप्रधानमन्त्री पोखरेलले दुई देशबीच पुरानो सम्बन्ध र सहकार्य रहेको भन्दै इन्डो प्यासिफिक रणनीतिमा नेपालको चासो नरहेको सांकेतिक जवाफ दिएका थिए । एक रक्षा अधिकारीले अमेरिकी चासो इन्डो प्यासिफिक रणनीतिमा केन्द्रीत छ तर नेपालको चासो समान मान्यताका आधारमा सहकार्य गर्नु पर्ने रहेको बताए ।

भेटवार्तामा उपप्रधानमन्त्री पोखरेलले नेपाली सेनालाई व्यवस्थित गर्न खोजेको जानकारी दिए । स्रोतका अनुसार नेपाली सेनाको संख्या ५० हजार जति रहेको भएपनि द्वन्द्वपछि बृद्धि भएको भन्दै पोखरेलले अब आवश्यकता अनुसार व्यवस्थापन गर्ने नीति रहेको बताए ।

विश्व शान्ति क्षेत्रमा नेपाली सेनाको योगदानको चर्चा गर्दै फेल्टरले रक्षा विश्वविद्यालय सहयोग गर्ने इच्छा व्यक्त गरे । तर उपप्रधानमन्त्री पोखरेलले आवश्यक परे सहयोग माग्ने जवाफ दिए । उनले राजनीतिक र संवैधानिक घोषणा गरे पनि नेपाल संघीयताका सन्दर्भमा संक्रमणमा रहेको बताएका थिए । पोखरेलले रक्षामा पनि आत्मनिर्भर हुने गरी सरकारले अध्ययन विश्लेषण गरिरहेको जानकारी दिए । राष्ट्रिय सुरक्षा नीति तयार भएको र प्रतिरक्षा नीतिको मस्यौदा पनि अन्तिम चरणमा रहेको भन्दै यस आधारमा सेनाको व्यवस्थापन गरिने पोखरेलको भनाई थियो ।
नयाँ पत्रिकाबाट

Skip This
Logo