अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३१ राष्ट्रका ५९ वटा चलचित्र प्रदर्शन गरिने

अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ३१ राष्ट्रका ५९ वटा चलचित्र प्रदर्शन गरिने


नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण घोषणा गरिएको छ । फागुन ९ गते देखि १३ गते सम्म चल्ने पाँच दिन लामो उक्त महोत्सव काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।

कार्यक्रममा चलचित्रकर्मी यादव खरेलको प्रमुख अतिथ्यमा कलाकार तथा निर्देशक निर शाह, अभिनेता रमेश उप्रेती, चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, कलाकार निर्मल शर्मा, नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष के पी पाठक लगायतको उपस्थिती रहेको थियो। गत वर्ष भएको चलचित्र महोत्सवको पहिलो संस्करण नेपालको पर्यटकीय नगरी पोखरामा सम्पन्न भएको थियो । चलचित्रको माध्यमबाट संसारभरिका कथाहरुको उत्सव मनाउने उद्देश्यले ‘सेलिब्रेशन अफ न्यारेटिभस’ को नारा सहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गरिएको हो ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१९ मा ३१ राष्ट्रका ५९ वटा चलचित्रहरु प्रदर्शनका लागि छनोट भएका छन् । ५९ वटा चलचित्र मध्ये नेपालका १६ चलचित्रहरु छनोटमा परेका छन् । महोत्सवमा समावेश ३१ वटा शर्ट फिल्महरु छन् भने ६ वटा फिचर फिल्म छन् । यस्तै गरि नेपाली चलचित्रहरुमा ६ वटा फिचर फिल्म र १० वटा शर्ट फिल्म रहेका छन् ।

यो महोत्सव नेपालमा चलचित्र प्रति अभिरुची राख्ने सबैका लागि आ–आफ्नो अनुभव र ज्ञान अभिवृद्धि गर्ने र बाँड्ने थलो हुने बताइएको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गतका चलचित्रहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएको एक फिचर चलचित्रलाई ट्रफी र नगद राशी एक हजार डलर प्रदान गरिने बताइएको छ ।

साथै शर्ट फिल्मलाई पच्चीस हजार र ट्रफी सहितको पुरस्कार प्रदान गरिनेछ । यसै गरि नेपाली पानोरामा अन्तर्गत नै फिचरतर्फ सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट लेखकको पनि पुरस्कार प्रदान गरिने छ । शर्ट फिल्म तर्फ भने सवोत्कृष्ट निर्देशकको पुरस्कारमात्र प्रदान गरिनेछ ।

निर्णायक जुरीको रुपमा नेपालबाट निर्देशक नबीन सुब्बा, कलाकार निर शाह, चिनियाँ निर्देशक नियान स्वा, भारतीय फिल्म लेखक प्रेमेन्द मजुम्दर, स्विट्जरल्यान्डकी फिल्म प्राध्यापक आनी दिलसेथ रहेका छन् ।

Logo