फेरि अर्को कुटपिट काण्ड, गोरखामा प्रधानाध्यापक नै कुटिए

फेरि अर्को कुटपिट काण्ड, गोरखामा प्रधानाध्यापक नै कुटिए


गोरखा । जग्गाको विषयमा विवाद हुँदा एक प्रधानाध्यापक कुटिएका छन् । भीमसेन थापा गाउँपालिका–१ मसेलस्थित विन्द्रावती माविका प्रधानाध्यापक उत्तरनारायण श्रेष्ठमाथि कुटपिट गरिएको हो । जग्गाको विवादलाई लिएर बिद्यालय व्यवस्थापन समितिका सदस्य शिवकुमार श्रेष्ठले बिद्यालय परिसरमै उनीमाथि हातपात गरेका हुन् ।

विद्यालयको भवन निर्माणका लागि शिवका बुवाले २०६७ सालमा केही जग्गा दान गरेका थिए । तर भवन निर्माणको क्रममा दान गरेको भन्दा बढी जग्गा मिचेको आरोप शिवको छ ।

आफ्नो जग्गामा बनाएको भवन भत्काउन माग गरेका शिवले कानून सिकाउने भन्दै एकाएक हातपात गरेका हुन् । २०६७ सालमा दान गरिएको जग्गा २०७३ सालमा मात्र पास गरिएको थियो । जग्गा पास गर्ने बेला शिव आफै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थिए ।

भूकम्पपश्चात जापानिज संस्था जाइकाको सहयोगमा उक्त जग्गामा भवन निर्माण भएको हो । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भवन निर्माणको क्रममा आफ्नो जग्गा मिचेको आरोपमा शिवकुमारले उनीमाथि हातपात गरेका हुन् ।

शिवले केही समयदेखि प्रअ फेर्ने भन्दै गउँका चियापसलमा समेत भन्दै हिड्ने गरेको स्थानीय बताउँछन् । उनी सोही वडाका वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नेता वद्रीनारायण श्रेष्ठका जेठा छोरा हुन ।

शिवले केही समय अघि शिक्षक छनौट परीक्षाको उत्तरपुस्तिका नै लिएर भागेका थिए । त्यतिखेर उनी शिक्षक छनौट समितिको संयोजक रहेका थिए । प्रहरीले खोजी गरेपछि उनले पछि उत्तरपुस्तिका फिर्ता गरेका थिए ।

Logo