नक्कली भूकम्पपीडितबाट ११ करोड ८० लाख फिर्ता

नक्कली भूकम्पपीडितबाट ११ करोड ८० लाख फिर्ता


काठमाडौं ।

दोहोरो भुक्तानी लिएका नक्कली भूकम्पपीडितबाट पौने १२ करोड रुपैयाँ फिर्ता भएको छ । दोहोरो सुविधा लिएका र स्वेच्छाले रकम फिर्ता गर्नेको संख्या २ हजार १ सय ५० रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइको तथ्यांक छ ।

उनीहरूबाट ११ करोड ८० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम बुझ्नेहरूले रकम फिर्ता गरेको इकाइका आयोजना निर्देशक गणेशराज वस्तीले जानकारी दिए ।

‘एउटै लाभग्राहीले गैरसरकारी संस्था र सरकारबाट दोहोरो भुक्तानी लिएको पाइयो,’ उनले भने, ‘यो कुरा थाहा पाएर ताकेता गरेपछि रकम फिर्ता भएको हो ।’ उनका अनुसार केहीले भने स्वेच्छाले समेत रकम फिर्ता गरेका छन् । कात्तिक १४ सम्मको तथ्यांक अनुसार पहिलो किस्ताबापतको रकम फिर्ता गर्नेको संख्या २ हजार ३८, दोस्रो ४६ र तेस्रो किस्ता फिर्ता गर्ने ६ जना छन् । लाभग्राहीले घर बनाउन पहिलो किस्ताबापत ५० हजार, दोस्रो १ लाख ५० हजार र तेस्रो किस्ताका रूपमा १ लाख रुपैयाँ पाउँछन् ।

पहिलो किस्ता २ हजार ४२, दोस्रो किस्ता १ सय र तेस्रो किस्ता फिर्ता गर्ने ८ जना छन् । यसबाट ९ करोड ७० लाख रुपैयाँ फिर्ता भएको हो । दोहोरो रकम लिएर फिर्ता गर्नेको संख्या १ हजार ७ सय ४५ छ । त्यस्तै स्वेच्छाले फिर्ता गर्ने ४ सय ५ जना छन् जसमा पहिलो किस्ता ३ सय ९७ जना, दोस्रो ५ र तेस्रोमा ३ जनाले फिर्ता गरेका छन् ।

यस अन्तर्गत दुई करोड ९ लाख रुपैयाँ फिर्ता भएको छ । ‘मैले दोहोरो रकम भुक्तानी लिएँ भनेर आफैं फिर्ता गर्न कोही आउँदैनन्,’ वस्तीले भने, ‘अनुगमन र उजुरीका आधारमा थाहा पाएपछि रकम फिर्ता गर्न ताकेता गर्ने गरेका छौं ।’कान्तिपुरबाट

Skip This
Logo