४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना

४५ जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना


काठमाडौँ, ९ कात्तिक । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आजदेखि ४५ जिल्लामा स्थापना भएका छन् ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका कार्यालयहरु आजैदेखि सञ्चालनमा आएका हुन् ।
दोस्रो चरणमा प्रतिनिधि सभातर्फ १ सय २८ र प्रदेश सभा सदस्यतर्फ २ सय ५६ निर्वाचन क्षेत्रमा निर्वाचन हुँदैछ ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रदेश नं १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, प्रदेश नं ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् ।

यस्तै, प्रदेश नं ४ का तनहुँ, कास्की, स्याङ्जा, पर्वत र नवलपरासी ९बर्दघाटसुस्ता पूर्व०, प्रदेश नं ५ का पाल्पा, अर्घाखाँची, गुल्मी, रुपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया र नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, प्रदेश नं ६ का सल्यान, सुर्खेत र दैलेख तथा प्रदेश नं ७ का कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

दोस्रो चरणमा १ करोड २१ लाख ९८ हजार ८ सय ५२ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् । उक्त निर्वाचनका लागि आगामी कात्तिक १६ गते उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

Logo