आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहितको टोली आधार शिविरमा

आमादब्लम हिमाल आरोहणका लागि कतारका राजकुमारसहितको टोली आधार शिविरमा


काठमाडौं ।

कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला र उनको टोली आमादब्लम हिमाल आरोहण गर्न आधार शिविरमा पुगेको छ । आइतबार राजकुमार शेख मोहम्मदसहित १४ सदस्यीय टोली आमादब्लम हिमालको आधार शिविर पुगेको आरोहण व्यस्थापन गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले केन्द्रबिन्दुलाई बताए ।

उनका अनुसार यस टोलीमा राजकुमार अब्दुल्लासहित अमेरिकन, क्यानेडियन र नेपाली गरि १४ जना छन् । मौसमले साथ दिएमा दुई हप्ताभित्र आरोहण सक्याएर काठमाडौं फर्किने टोलीको तयारी छ । सोलुखुम्बु जिल्लामा रहेको आमादब्लम ६ हजार ८१२ मिटर उचाइको हिमाल हो । पहिलो पटक सन् १९६१ मा यसको आरोहण भएको थियो ।

यसअघि बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अल खलिफा नेतृत्वको टोलीले गत असोज २९ गते ८ हजार १५६ मिटर अग्लो मनास्लु र असोज १७ गते ६ हजार ११९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गरेका थिए ।

कोरोना भाइरस महामारीकाबीच हिमाल आरोहणमा विदेशी पर्यटकको आकर्षण बढेको पाइएको छ । सरकारले गत चैत ११ देखि बन्द गरेको हिमाल आरोहण कात्तिक १ देखि खुला गरेसँगै अनुमति लिनेहरुको संख्या बढेको पाइएको हो ।

हिमाल आरोहण र पर्वतारोहणका लागि उपयुक्त मानिने शरद ऋतुका लागि आइतबारसम्म ९९ जनालाई हिमाल आरोहणको अनुमति दिइएको छ । पर्यटन विभाग, पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यका अनुसार अहिलेसम्म ३८ जना विदेशी पर्यटकलाई ६ हजार मिटर माथिका हिमाल आरोहणका लागि अनुमति दिइसकेको छ । विभागको पछिल्लो तथ्यांक अनुसार बरुणका लागि ६, मनास्लुका लागि १८, ग्याल्जेनका लागि ३, आमादब्लमका लागि ६ जना र हिमलुंगका लागि ७ जनालाई आरोहण अनुमति दिइएको छ ।

यस्तै ६१ जना पर्यटकलाई ६ हजार मिटरसम्मका हिमाल आरोहण अनुमति दिइएको छ । यसरी कुल ९९ जना पर्वतारोहीबाट करिब २४ लाख रुपैयाँ राजस्व संकलन हुनेछ । सरकारले ५ हजार ५५० मिटर अग्लो छुकुङदेखि ८ हजार ८४८ मिटर अग्लो सगरमाथा लगायत चुचुराको आरोहण अनुमति दिने गरेको छ ।

सरकारले कोरोनाका कारण विदेशी पर्यटकका लागि भिसा खुला नगरिएको भएपनि हिमाल आरोहण अनुमति पाएका विदेशी पर्यटकका लागि अध्यागमन विभागबाट अनअराइभल भिसा उपलब्ध गराउँदै आएको छ ।

Logo