बीबीसी मास्टर सेफ सन्तोष शाहलाई पर्यटन बोर्डको सम्मान

बीबीसी मास्टर सेफ सन्तोष शाहलाई पर्यटन बोर्डको सम्मान


बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० को उपविजेता सन्तोष शाहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । 

मंगलबार नेपाल पर्यटन बोर्डले बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके–२०२० का उपविजेता सन्तोष शाहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल भएकोमा उनको योगदान प्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गरे । सचिव कोइरालाले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने बताए ।

सेफ शाहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताए । सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुशी व्यक्त गरे । खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उनको भनाइ छ ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका शाह लामो समयदेखि बेलायतमा बस्दै आएका छन् । बिहिबार मात्रै काठमाडौं आएका  उनलाई विमानस्थलमै पनि भव्य स्वागत गरिएको थियो ।

Logo