भजन शिराेमणी भक्तराज संगीत सम्मानबाट कुमार बस्नेत र प्रकाश गुरूङ सम्मानित

भजन शिराेमणी भक्तराज संगीत सम्मानबाट कुमार बस्नेत र प्रकाश गुरूङ सम्मानित


सिटी एक्सप्रेस मनी ट्रान्सफर र भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’२०७७ सालको पुरस्कार वरिष्ठ लोक गायक कुमार बस्नेत र संगीतकार प्रकाश गुरूङलाई प्रदान गरिएको छ । उनीहरु दुवैलाई जनही पुरस्कार रु ५०,००१ सहित सम्मान गरिएको हो । 

भक्तराज आचार्य संगीत प्रतिष्ठानका संरक्षक गायक तथा भजन शिरोमणि भक्तराज आचार्य, प्रतिष्ठानकी अध्यक्ष श्रीमती सुशिला आचार्य र सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले संयुक्त रुपमा यो सम्मान प्रदान गरेका थिए ।

बरिष्ठ लोक गायक कुमार बस्नेतले ‘छोरी भन्दा आमा तरुनी’, ‘लैबरी लै’, ‘डल्ली मगरनी हो’ जस्ता चर्चित लोकगीत गाएका थिए। आफ्नो सम्पूर्ण जीवन लोकगीत सङ्कलन र गायनमा बिताएका गायक बस्नेतले ५ दशक अगाडि बजारमा ल्याएका गीतहरु अहिले पनि चर्चामा छन्। 

त्यस्तै वरिष्ठ संगीतकार प्रकाश गुरूङ पनि लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय छन्। दार्जिलिङमा जन्मिएका उनले आफ्नो कर्मथलो भने नेपाल बनाएका थिए। नेपालमै बसेर नेपाली गीत संंगीत क्षेत्रमा उनको ठूलो योगदान छ।

२०७५ सालमा वरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ वरिष्ठ संगीतकार शम्भूजीत बासकोटालाई उक्त सम्मान दिइएको थियो। 

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि बर्षदेखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

Logo