कीर्तिमानी गीतकार उपाध्यायको नयाँ कीर्तिमान, एकैदिन १९ फरक विधामा विश्व रेकर्ड

कीर्तिमानी गीतकार उपाध्यायको नयाँ कीर्तिमान, एकैदिन १९ फरक विधामा विश्व रेकर्ड


गीतकार तथा साहित्यकार डा डीआर उपाध्यायले नेपाली गीत सङ्गीत क्षेत्रमा सार्वधिक विश्व रेकर्ड कायम गरेका छन्। 

१२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर केही महिना पहिले मात्र गिनिज बुक अफ वर्ल्ड रेकर्ड कायम गरेका गीतकार डा. उपाध्यायले थप १९ फरक विधामा विश्व कीर्तिमानी कायम गर्दै कुल ५१ विधामा विश्व रेकर्ड राखेका छन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा डा.उपाध्यायलाई पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द र इतिहासविद् एवं राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले १९ वटा विधामा विश्व रेकर्डको प्रमाणपत्र प्रदान गरेका थिए। यसअघि डा. उपाध्यायले गीत सङ्गीतका विभिन्न विधामा ३२ विश्व रेकर्ड कायम गरिसकेका छन् ।

यसरी एकैदिन फरक फरक १९ विधामा १३ वटा विश्व रेकर्ड संस्थाबाट रेकर्ड कायम गर्दै प्रमाणपत्र ग्रहण गर्ने उपाध्याय पहिलो व्यक्ति हुन्। उपाध्यायले यसपटक १९ वटा विधामा १३ वटा फरक फरक विश्व रेकर्ड कम्पनीबाट विश्व रेकर्ड कायम गरेका हुन्।

उनले अमेरिकन बुक अफ वर्ल्ड रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, च्याम्पियन बुक अफ वर्ल्ड रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक, एभरेष्ट वर्ल्ड रेकर्ड, युरोपियन वर्ल्ड रेकर्ड बुक, युआरएफ वर्ल्ड रेकर्ड, द व्रिटिस वर्ल्ड रेकर्ड, वेगंल वुक अफ वर्ल्ड रेकर्ड, ओएमजी वुक अफ वर्ल्ड रेकर्ड, आसाम बुक अफ रेकर्ड जस्ता १३ संस्था बाट १९ विधामा एकैसाथ रेकर्ड बनाएका हुन् ।

उनले वर्ल्ड रेकर्ड प्राप्त गरेका १९ वटा फरक विधामा विश्वका १५० देशका पर्यटकियस्थल समेटिएको गीत, सबैभन्दा सानो १८ शब्दको आधुनिक गीत, २०० शब्दभन्दा लामो गीतको बोल, (मोटिभेसन गीत ६० वर्षभन्दा माथिका गायक गायिकाले गाएको), एक हजारको नेपाली रुपैयाँ साइजको गिती पुस्तक, १६४ वटा फरक चराको नाममा रहेको गीत, १५७ देशका मुद्राको नाम समेटिएको गीत जस्ता गीतहरु रहेका छन्।

कीर्तिमानी गीतकार डा.उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीत सङ्गीतलाई विश्व बजारमा पुर्‍याउँदै गिनिज बुक अफ अमेरिकन वर्ल्ड बुकसहित सबै वर्ल्ड रेकर्डमा नेपालको नाम लेखाउन आफूले यस्तो कार्य गरेको बताए। 

डा. उपाध्यायका २४ वटा गिती एल्वम, ११ उपन्यासका साथै तीन गिती पुस्तक प्रकाशित छन्।

Logo