‘क्यारिकेचर किङ’ मनोज गजुरेलको हास्यव्यङ्ग्य यात्रा

‘क्यारिकेचर किङ’ मनोज गजुरेलको हास्यव्यङ्ग्य यात्रा


झापा, दमकस्थित हिमालय माध्यमिक विद्यालय मनोज गजुरेलको कलाकारिताको पहिलो पाठशाला थियो। चलचित्र कुसुमे रुमालको चर्चित गीत ‘तिमी नभए जिन्दगानी…’ माथिको प्यारोडी गजुरेलको कलाकारिता यात्रामा पहिलो इँटा थियो। गजुरेललाई अझै याद छ–त्यो स्टेज, त्यो शुक्रबारको दिन अनि प्यारोडीका लागि तयार पारिएका ती पंक्तिहरू…

‘तिमी नभए जिन्दगानी काँडासरि छ,
फेरि पनि मेरो केही गुनासो छैन…’ (उदितनारायण झा)

प्यारोडी
रक्सी नभए जिन्दगानी मरेसरि छ
फेरि पनि रक्सी नभई हुँदै हुँदैन….

कहिलेकाहीँ चुरोट तान्दा धुँवा फोक्सोमा पसेर 
खोक्न थाल्छन् रगत सरि ट्वाइलेटभित्र पसेर
भित्रभित्रै खाइसक्यो चुरोट र रक्सीले 
अनि भन्छन् खाइ है बोक्सीले…

प्यारोडी मात्र होइन, त्यही स्टेजमा उनले नेपाली राजनीतिमाथि पनि पहिलो पटक व्यङ्ग्य गरेका थिए। तत्कालीन पञ्चायती व्यवस्थाको जानकारीका लागि रेडियो नेपालमा प्रसारण हुने कार्यक्रम ‘राष्ट्रिय पञ्चायत’मा रहेर उनले व्यङ्ग्यात्मक प्यारोडी सुनाए। ‘आज राष्ट्रिय पञ्चायतमा बसेको बैठकले घरजग्गाविहीन जनतालाई ऐलेनी माटोबाट हटाइ लाठी र मुङ्ग्रीले ठटाइ उत्तरतिर खेदाउने कुरा पारित गरेको छ…।’ 

यही वाक्यांशले गर्दा गजुरेल विद्यालय प्रशासन तथा समाजको दृष्टिमा परे। त्यसकै प्रभावले गर्दा उनलाई राजनीति र समाजमाथि व्यङ्ग्य गर्न प्रेरणा मिल्यो। 

२०३० सालमा ताप्लेजुङको मामाङ्खेमा जन्मिएका गजुरेल नेपाली हास्यव्यङ्ग्य क्षेत्रका प्रखर व्यक्तित्व हुन्। २०३६ सालमा परिवार झापा झरेपछि उनले हिमालय मावि दमकमा कक्षा ८ सम्म पढे। त्यसपछि २०४५ सालमा काठमाडौं आएका उनले पद्मोदय माध्यमिक विद्यालयबाट एलएलसी उत्तीर्ण गरे अनि रात्नराज्य क्याम्पसबाट मास कम्युनिकेसनमा स्नातक। 
 
२०४५ सालअगावै सुरु भएको मनोज गजुरेलको ‘हास्यव्यंग्य रेल’ आज पनि उही गतिमा दौडिरहेको छ। दर्शक–स्रोताका मन–मनमा ‘ह्युमरको हर्न’ बजाउँदै दर्जनौं देशसम्मको यात्रा उनले तय गरिसकेका छन्। समयको माग अनुसारको हाँस्यव्यंग्य गजुरेलको पहिलो प्राथमिकता हो। यही प्राथमिकताले आज गजुरेलको परिचय बहुआयामिक बनेको छ। 

सामाजिक विषयवस्तुमाथिको ‘सटायर’ अनि व्यक्ति र व्यक्तित्वमाथिको क्यारिकेचर गजुरेलको कलाकारिताका मुख्य पाटा हुन्। सुरुका दिनमा आवाजको नक्कल गर्दै दर्शक स्रोतामाझ लोकप्रिय बनेको गजुरेल २०६० को दशकपछि हाउभाउसहितको नक्कलबाट एकाएक चर्चामा आए। 

पद्मोदय स्कुलमा उनको कला–यात्राले मलजल पाएन। उनी सम्झिन्छन्, ‘पद्मोदय विद्यालय जहाँ केटै–केटामात्र पढ्ने गर्थे, अतिरिक्त क्रियाकलाप केही पनि हुँदैनथ्यो। एसएलसीसम्म कुनै अतिरिक्त क्रियाकलाप नहुँदा कलायात्रा उति फस्टाएन।’ तर, खाने मुखलाई जुँगाले कहाँ छेक्छ र! नजिकैका रेडियो नेपाल, रत्नराज्य क्याम्पस अनि नेपाल ल क्याम्पस गजुरेलको कलायात्राका सारथी बने। 

‘रेडियो नेपालमा वासुदेव मुनालको ‘बाल कार्यक्रम’मा म कविता भन्न जान्थेँ, आरआर क्याम्पस अनि नेपाल ल क्याम्पसका दाजुदिदीले कलेजमा बोलाएर अवसर दिन्थे। त्यसले मेरो कलाकारिता–यात्रालाई निरन्रता दियो,’ गजुरेल फ्ल्यासब्याकमा जान्छन्। 

अग्रज हास्यव्यंग्य कलाकार साम्दे शेर्पाको स्कुलिङमा हुर्किएका गजुरेल उनैलाई गुरु मान्छन्। साम्दे शेर्पाको राजनीतिमाथिको बुझाइ र त्यसमाथि उद्देश्य/सन्देशसहितको क्यारिकेचर तथा प्रहसनबाट प्रभावित गजुरेल त्यही लयमा अघि बढे।

सामाजिक विषयवस्तुमाथिको ‘सटायर’ अनि व्यक्ति र व्यक्तित्वमाथिको क्यारिकेचर गजुरेलको कलाकारिताका मुख्य पाटा हुन्। सुरुका दिनमा आवाजको नक्कल गर्दै दर्शक स्रोतामाझ लोकप्रिय बनेको गजुरेल २०६० को दशकपछि हाउभाउसहितको नक्कलबाट एकाएक चर्चामा आए। 

गणेशमान सिंह, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मोहनचन्द्र अधिकारीलगायत तत्कालीन नेताको आवाजमा नक्कल गर्दै उनले कलाकारितामा जग हालेका थिए। त्यसबेला उनले नेताहरूको मात्र नभएर कलाकारहरूको क्यारिकेचर पनि उतिकै गरे, जसले उनलाई एउटा उचाइमा पुर्यायो। नविन के. भट्टराई, कुमार बस्नेत, धर्मराज थापालगायत कलाकर्मीको नक्कल गर्न गजुरेल काबिल थिए। यसरी नै आवाजसँग खेल्दाखेल्दै गजुरेलले अढाइ दशकभन्दा बढी  लामो यात्रा तय गरे।
                          ०००           ०००           ०००

देशमा व्यवस्था परिवर्तन भयो, गणतन्त्र स्थापना भयो। कलाकार गजुरेलले हाँस्यव्यंग्य विधामा विकल्प आवश्यक ठाने। आवाजको नक्कल गरेर, प्यारोडी र प्रहसनले मात्र ‘अडियन्स’को मन जित्न सकिन्न भन्ने सोचका साथ उनले सुरु गरे हाउभाउसहितको क्यारिकेचर। ‘२०६२–६३ को जनआन्दोलनपछि मैले सशरीर अभिनय–यात्रा प्रारम्भ गरेँ। पूर्वराजा ज्ञानेन्द्र र माओवादी नेता प्रचण्डको हाउभाउ अनि गेटअपसहितको अभिनयमा प्रवेश गरेको हुँ,’ गजुरेल सम्झिन्छन्, ‘मैले साम्दे शेर्पा दाइको लयमा उहाँले गरिरहनुभएको विषयमा केही ‘इन्पुट’ दिएको थिएँ। अब आफ्नोपन चाहिँ के दिने भन्ने प्रसंगमा सशरीर ‘क्यारिकेचर’ गर्नुपर्छ भन्ने भाव र सुझावले यताको यात्रा सुरु भयो।’

एउटा कलाकार जो, हरेक नयाँ प्रस्तुति नयाँ दिन चाहन्छ। परिमार्जनसहितको प्रस्तुतिले दर्शक–स्रोताको मन जित्ने सपना देख्छ। गजुरेलले त्यही सपना देखेका थिए। अर्काेतर्फ, पूर्व राजाको हाउभाउसहितको क्यारिकेचरले कलाकारितामा नयाँ आयाम थप्ने उनको बुझाइ थियो। जुन पात्रले तत्कालीन समयको प्रतिनिधित्व गथ्र्यो, राजनीतिक परिवर्तनको माहोल ‘जस्टिफाइ’ गर्न सक्थ्यो।’

त्यस बेला गजुरेललाई खुब प्रश्न आउँथे, अनेकौं जिज्ञासा आउँथे। 
‘धेरै मेहनत पर्याे होला है? गाह्रो भयो होला है?’
 
हुन पनि त्यस समयमा दरबार छाडेका पूर्वराजा ज्ञानेन्द्र, सशस्त्र आन्दोलनबाट आएका प्रचण्ड आदिको दुरुस्त अभिनय गर्नु अरुका लागि ठूलै कुरा थियो। तर, गजुरेल स्वयंलाई भने कहिल्यै त्यस्तो लागेन।

‘म त्यस बेला अलि मोटै थिएँ, राजा ज्ञानेन्द्रको हाउभाउसँग अभ्यस्त हुन गाह्रो भएन,’ कुराकानीकै क्रममा पूर्वराजा ज्ञानेन्द्रकै लवज अनि हाउभाउमा उनी प्रस्तुत भए। रोमान्टिक मुडमा उनले केही संवाद पनि सुनाए। उनका संवादले ज्ञानेन्द्रको झल्को दिन्छ, तत्कालीन समय प्रतिबिम्वित हुन्छ। हुन त गजुरेलले त्यसअघि नै राजा वीरेन्द्रको पनि ‘क्यारिकेचर’ गर्ने जमर्को नगरेका होइनन् तर, संयोग मिलेन छ। 

दरबार छाडेका पूर्वराजा ज्ञानेन्द्र, सशस्त्र आन्दोलनबाट आएका प्रचण्ड आदिको दुरुस्त अभिनय गर्नु अरुका लागि ठूलै कुरा थियो। तर, गजुरेल स्वयंलाई भने कहिल्यै त्यस्तो लागेन।

‘वीरेन्द्रको आवाजको नक्कल गर्न प्रयास त गरेँ। तर, के–के मिलेन पूरा हुन सकेन,’ उनले सुनाए, ‘यद्यपि, वीरेन्द्र र ज्ञानेन्द्र दाजुभाइको आवाजको भिन्नता भने मैले खोजेको थिएँ। केही पाएको पनि थिएँ।’

क्यारिकेचरको दुनियाँमा रमाउँदै गर्दा कहिलेकाही पात्रमाथिको प्रस्तुति गह्रौं पनि हुन्थ्यो उनलाई। काम गर्दै जाँदा उनलाई कहिले पूर्वराजा ज्ञानेन्द्रका नजिकका व्यक्तिहरूले त्यस किसिमले प्रस्तुत नहुन सुझाउँथे त, कहिले प्रचण्ड बनेर विभिन्न ठाउँ पुग्दा कार्यकर्ताले थाहै नदिइ आएको भन्दै रोष प्रकट गर्थे। त्यस्तै आरोहअवरोह झेल्दै उनी हाउभाउसहितको क्यारिकेचरमा जम्दै गए। 

पूर्वराजा ज्ञानेन्द्रपछि गजुरेल प्रचण्ड बनेर चर्चामा आए। देश–विदेशमा प्रचण्डको ‘क्यारिकेचर’ले गजुरेलको दैनिकी व्यस्त बन्यो। प्रचण्ड बन्दाको एउटा छुट्टै किस्सा पनि छ गजुरेलसँग। उनी अमेरिका पुगेका थिए। प्रचण्डको क्यारिकेचर गर्नु थियो। तर, जुंगा बिर्सिएछन्। ‘अमेरिका जाँदा जुंगा बिर्सिएँछु। अमेरिकाका साथीहरूले यहीँ पाउँछ भनेर आश्वासन दिए। होला त नि भनेर ढुक्क भएँ,’ उनी सुनाउँदै जान्छन्, ‘प्रस्तुतिको बेला आयो, मेकअप रूममा साथीहरूले जुंगा त दिनुभयो तर, हेर्दै नसुहाउँदो, नमिल्दो।’

गजुरेलले जुंगा त लगाए तर, भर परेनन्। स्टेज उक्लिए, केही संवाद पनि बोले, यतिकैमा जुंगामा लगाएको गमले छाडिसकेको थियो। लाइभ प्रस्तुति थियो। उनी अडियन्सका अगाडि लज्जित हुँदै गए। फेरि केही संवाद थप्दै गर्दा आधा जुंगा खसिहाल्यो। फ्ल्यासब्याकमा फर्किर्दै गजुरेल सुनाउँछन्, ‘हास्यव्यंग्य गर्न आएको आफैं हास्यास्पद भइयो, लाज मर्नु भो।’ 

हतपत्त सम्हालिएर जुंगाबिनाको प्रचण्डको अभिनय गरेको उनी स्मरण गर्छन्,‘यो क्रान्तिकारी जुंगा मने नेपालमा हुँदा एक पटक पनि झरेको थिएन तर अमेरिकामा किनेको यो जुंगा एक पटक लगाउँदैमा काम नदिने भएको छ। मने आफैं बुझ्नुहोस्  न जुंगा त यति कमजोर छ भने यो साम्राज्यवाद कति कमजोर छ होला!’ 

यस्ता कैयौं किस्सा छन् गजुरेलसँग। ‘हास्यव्यंग्य रेल’सँग जोडिएका किस्साको खातै छ उनीसँग। यस्तै किस्साहरूले उनलाई झन् बलियो बनाउँदै लग्यो। व्यस्तता बढ्दै गयो। 

प्रचण्डपछि गजुरेल ‘क्यारिकेचर किङ’का रूपमा उदाए। आवाजले होस् वा सशरीर, उनले कसैको क्यारिकेचर गर्न बाँकी राखेनन्। एमाले नेता लालबाबु पण्डित, गोकुल बाँस्कोटा, सिके राउत, शेरबहादुर देउवा, मातृका यादव, आदिकवि भानुभक्त आचार्य, लोकमान सिंह कार्की, पूर्वसभामुख कृष्णबहादुर महरा, पूर्वशिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायत थुप्रै ‘पब्लिक फिगर’हरूको क्यारिकेचरमा उत्रिए उनी। 

पछिल्लो समय गजुरेल राष्ट्रिय ‘फिगर’ मात्र होइन, अन्तर्राष्ट्रिय ‘फिगर’हरूको क्यारिकेचर अनि प्रखर हाँस्यव्यंग्य प्रस्तुतिका कारण चर्चामा छन्। अन्तर्राष्ट्रियस्तरका सञ्चारमाध्यममा पनि गजुरेलले स्थान पाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, डब्लुएचओका कार्यकारी निर्देशक डा. टेड्रोेस एड्हानम, चिनियाँ राष्ट्रपति सी चिनफिङ, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विभिन्न अरेबियन सेख, साउथ इन्डियन क्यारेक्टरमा पनि गजुरेल प्रस्तुत दिइसकेका छन्। 

दर्शक–स्रोताका मनमस्तिष्कमा जमिसकेका छन्। नेपाली कलाकारले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाउनु एउटा कलाकारको मात्र नभएर सिंगो मुलककै लागि गौरवको विषय भएको उनको बुझाइ छ।  

ठट्यौली पारामा गजुरेल अर्को किस्सा सुनाउँछन्, ‘हामी गाईजात्रा बनाउनेका पनि यो वर्ष गाईजात्रै आइपर्यो, पात्र छनोट गर्यो, चर्चाबाट हराउँछ, फेरि अर्को पात्रमा केन्द्रित रहेर तयारी गर्यो, त्यो पनि हराउँछ, हैरान नै भयो।’

नाकाबन्दीका बेला पशुपतिबाट सन्देश दिनका लागि जन्मिएको ‘मोदी’ पात्र र अमेरिकामा रहेका नयाँ नेपाली पुस्ताको ध्यान खिच्न जन्मिएको ‘ट्रम्प’ पात्र सर्वाधिक चर्चामा रहे। यसबाट उनलाई भूराजनीतिक विषयमा रहेर अन्य अन्तर्राष्ट्रिय पात्रहरूको ‘क्यारिकेचर’ अगाडि बढाउन ऊर्जा थपियो।   

हरेक वर्ष गाईजात्राका दिन नयाँ–नयाँ प्रस्तुति लिएर आउने गजुरेलको पर्खाइमा धेरै स्रोता–दर्शक रहेका हुन्छन्। तर, गत वर्षदेखि कोरोनाका कारण शुभेच्छुकहरूले भर्चुअल प्रस्तुतिमै चित्त बुझाउनुपरेको गजुरेलको भनाइ छ। अघिल्लो वर्ष पनि भर्चुअल माध्यमबाट गाइजात्रा प्रहसनमा ल्याएका गजुरेलले यस वर्ष पनि डिजिटल माध्यमबाटै दर्शकमाझ आफ्नो प्रस्तुति दिएका छन्। ‘यो हाम्रो बाध्यता हो, कोरोना कहरले भर्चुअल प्रविधिमै भर पर्नुपरेको छ,’ उनी बाध्यता पोख्छन्। 

लाइभ प्रस्तुतिमा हँसाउन सहज लाग्छ गजुरेललाई। तर रेकर्ड गरेर स्क्रिप्टमै भर पर्नुपर्दा केही दिक्क लाग्ने रहेछ। उनी यो वर्षको गाईजात्रामा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्ववनमन्त्री प्रेमबहादुर आलेलगायत पात्रमा केन्द्रित भएर प्रस्तुति दिने तयारीमा थिए। तर, यी पात्र पदमुक्त भए, उनको तयारी अप्रासंगिक भयो। 

ठट्यौली पारामा गजुरेल अर्को किस्सा सुनाउँछन्, ‘हामी गाईजात्रा बनाउनेका पनि यो वर्ष गाईजात्रै आइपर्यो, पात्र छनोट गर्यो, चर्चाबाट हराउँछ, फेरि अर्को पात्रमा केन्द्रित रहेर तयारी गर्यो, त्यो पनि हराउँछ, हैरान नै भयो।’

फरासिलो स्वभाव, पात्रमाथिको गहन अध्ययन अनि राजनीतिक, सामाजिक र व्यावहारिक विषयवस्तुमाथिको चोटिलो व्यंग्यका पर्याय गजुरेल ‘क्यारिकेचर किङका’ रुपमा स्थापित भएका छन्। यद्यपि, उनी सशरीर गर्दै आएको क्यारिकेचर, प्रहसन अनि प्यारोडीलाई अझै परिस्कृत बनाउने सोचमा छन्।
 
सञ्चार जगत्मा आएको आमूल परिवर्तन अनि दर्शक स्रोताको इच्छा–आकांक्षा र प्रविधिमैत्री भएर कसरी अघि बढ्न सकिन्छ ? भन्नेमा उनी चिन्तनशिल छन्। नयाँपुस्तामा नवीन ‘आइडिया’ र सम्भावना देख्ने गजुरेल उनीहरूका प्रिय उत्प्रेरणाका स्रोत हुन्। 

Logo