दुई वर्षपछि बल्ल चित्रकला प्रदर्शनी

दुई वर्षपछि बल्ल चित्रकला प्रदर्शनी


कोरोनाको कारण २ वर्ष यता रोकिएको चित्रकला प्रदर्शनी सोमबारबाट शुरु भएको छ । 

इ आर्ट्स नेपालको आयोजनामा आर्ट काउन्सिल बबरमहलमा चित्रकला प्रदर्शनी शुरु भएको हो । कोरोनाको कारण केही समय यता सुनसान रहेको माहोललाई उर्जावान बनाउनका लागि चित्रकला प्रदर्शनी गरेको चित्रकार एरिना ताम्राकारले बताइन् ।

प्रदर्शनीमा ६० भन्दा धेरै ब्यावसायिक चित्रकारहरुको चित्र प्रदर्शनीमा रहेको छ । यसमा काठमाडौं उपत्यकाका सम्पदा, बुद्ध दर्शन, प्रकृति चित्रणदेखि न्यूड चित्र समेत समावेश गरिएको छ ।

कोरोनाका कारण चित्रकारहरुको कला घरमै मात्र सीमित रहेको भन्दै त्यसलाई थप उर्जावान बनाएर गति प्रदान गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने आशासहित चित्रकला प्रदर्शनी आयोजना गरिएको ताम्राकारको भनाइ थियो ।

ताम्राकारका अनुसार कोरोनाका कारण धेरै जना सिनियर आर्टिस्टहरुलाई समेट्न नसकेको, सिधै ग्यालरीमै पेन्टिङ पुर्याउनेहरुलाई मात्र समेटिएको छ । 

प्रदर्शनीमा ब्याबसायिक चित्रकार प्रमिला बज्राचार्यले कोरोना केही सामान्य भएको अवस्थामा नेपाली चित्रकारहरुलाई केही सहज होस् भनेर यो प्रदर्शनी गरेको बताइन् । 

अनलाइनबाट प्रदर्शनी गर्नुपर्ने बाध्यतालाई चिर्दै भौतिक उपस्थितिमै चित्रकला प्रदर्शनी गर्न पाउँदा खुशी महशुस भएको चित्रकला प्रदर्शनीमा सहभागी चित्रकार सञ्जु श्रेष्ठको छ । 

चित्रकला प्रदर्शनी भदौ २० गते सम्म चल्ने आयोजकको भनाइ छ ।  

 

Skip This
Logo