पाँचदलीय गठबन्धन कुहिएको छ, चाँडै टुट्छ: ओली

पाँचदलीय गठबन्धन कुहिएको छ, चाँडै टुट्छ: ओली


एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको पाँचदलीय गठबन्धन कुहिएको गठबन्धन भएको बताएका छन् । यो गठबन्धन कुहिसकेकाले चाँडै टुट्ने उनले दाबी गरे।

‘जसरी फल कुहिनेवित्तिकै झर्दैन र केही समय लाग्छ, यो गठबन्धनको हालत पनि यस्तै भइसक्यो,’ उनले भने, ‘कुहिएको फल छुट्न थालेसँगै गठबन्धन छुट्न थाल्छ।’ 

भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोलस्थित शान्ति निकेतन माविको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा बुधबार उनले गठबन्धन किन टुट्छ भन्ने विषयमा भने कुनै उल्लेख गरेनन्। तर पनि निर्वाचनमा संयुक्त उम्मेदवारी दिने बेलामा गठबन्धन टुटने उनको आशय थियो।  
ओलीले अबको निर्वाचनपछि विकासको लहर सुरु हुने दाबी पनि गरे। चुनावपछि एमाले विजयी हुने र त्यसपछि शिक्षा, स्वास्थ्य सबैमा विकासको लहर चल्ने उनको भनाइ थियो। 

विद्यार्थीलाई देशभक्तिबारे अहिलेदेखि नै सिकाउनुपर्ने आवश्यकता रहेकाे उनले औंल्याए। स्थानीय निर्वाचन आउन लागेकाे र सबै घोषणापत्र लिएर आउने भन्दै उनले अरुको घोषणापत्र हावाको हुने सुनाए। ‘मेरो टेम्पाे उड्यो भने म तपाईंलाई जापान उडाइदिन्छु भन्ने प्रकारको अरुको घाेषणापत्र हुन्छ,’ उनले भने, ‘जबकि न ट्याम्पो उड्छ न त जापान नै जान पाइन्छ।’

एमालेकाे घोषणापत्र जनतासँग मिलेर गर्न सक्ने कुराहरू राखेर मात्र बनाइने उनले दाबी गरे।

Logo