बेलकोटगढीमा गठबन्धनका उम्मेदवार विजयी

बेलकोटगढीमा गठबन्धनका उम्मेदवार विजयी


नुवाकोटको बेलकोटगढी नगरपालिकामा गठबन्धनको तर्फबाट प्रमुखका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का जगबहादुर गुरुङ र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल निर्वाचित भएका छन् । 

वैशाख ३० मा भएको मतदानको आज सम्पन्न मतगणनाको अन्तिम मतपरिणाम अनुसार प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २२२ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार राजेन्द्ररमण खनालले छ हजार ७४९ मत ल्याए । 

उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहालले १० हजार ७६६ मत ल्याए । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार रुपा सापकोटाले सात हाजर २७४ मत पाइन् । बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख र कांग्रेसले उपप्रमुख लिएर पालिका तहमा दुई पार्टीबीच तालमेल गरेको थियो ।

उक्त पालिकामा यसअघि स्थानीय तह निर्वाचन २०७४ को चुनावमा नगर प्रमुखसहित दशवटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए । यसपटक पालिकातहमा गठबन्धन भए पनि वडातहमा भने दलहरुबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । पालिकाको तेह्रमध्ये सात वडामा कांग्रेसका उम्मेदवार, चारमा एमाले र दुईवटा वडामा माओवादीका उम्मेदवार विजयी भएका छन् ।

बेलकोटगढीको अन्तिम नतिजा आएसँगै नुवाकोटमा रहेका सबै बाह्रवटै पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नुवाकोटमा सातवटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेस, चारमा माओवादी र एकवटामा  एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

यस्तै, उपप्रमुख तथा उपाध्यक्षतर्फ आठ पालिकामा माओवादीका उम्मेदवार र चारवटा पालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । बाह्र पालिका रहेको नुवाकोटमा प्रमुख तथा अध्यक्ष एवं उपप्रमुख तथा उपाध्यक्ष चौबिस पदमध्ये समग्रमा बाह्र पदमा माओवादी, एघार पदमा कांग्रेस र एक पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

Logo