एसपीपीमा सहभागि हुन प्रधानसेनापतिले पत्र लेखे, मलाई जानकारी सम्म दिइएन : ओली

एसपीपीमा सहभागि हुन प्रधानसेनापतिले पत्र लेखे, मलाई जानकारी सम्म दिइएन : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०१५ मा अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)का लागि तत्कालीन प्रधानसेनापतिले पत्र लेख्दा आफूलाई जानकारी नै नगराएको दाबी गरेका छन् ।
स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रममा ओलीले ६ असोज २०७२ (सन् २०१५) मा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रक्षामन्त्रीको हैसियतमा एसपीपीमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको र १३ असोजमा सैनिक हेडक्वाटरमा पठाएको बताए । ‘हामीलाई कतै पनि बताइएन । २४ गते म संसदबाट निर्वाचित भए, २५ गते सपथ लिए । तर १० गते (कात्तिक)मा त्यसबेलाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले अमेरिकी राजदूतलाई पत्र लेखेका रहेछन् ।’

उनले अघि भने, ‘प्रधानसेनापतिले एम्बेसीलाई पत्र लेख्दैन, रक्षा मन्त्रालयको काम होला त्यो, परराष्ट्र मन्त्रालयको काम होला । तर प्रधानसेनापति आफैंले लेखेको रहेछ । जबकी त्यो भन्दा १५ दिन अगाडि म प्रधानमन्त्री भइसकेको छु । तर त्यो कुरा बताइएन । गुपचुप नै राखियो ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको बेला वैशाख २०७४ मा प्रधानसेनापति क्षेत्रीले फेरि पत्र लेखेर अघि बढाउन आग्रह गरेको पाइएको उनले सुनाए । आफ्नो सरकार आएपछि इण्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल र श्रीलंका पनि संलग्न भएको उल्लेख गरेपछि परराष्ट्र सचिवको नेतृत्वमा कार्यदल बनाएको र त्यसको सिफारिसका आधारमा एसपीपीमा सहभागी नहुने निर्णय गरेको ओलीले बताए ।
अहिले एमसीसी पास गरेपछि गठबन्धन हौसिएर अमेरिकी सेना नेपालमा राख्ने गरी ड्राफ्ट बनाएको ओलीको दाबी छ । उनले अघि भने, ‘अहिले आएर अमेरिकी सेना नेपालमा राख्ने, साना खालका एयर क्राफ्ट र अरु संरचना राख्ने एउटा अन्तिम ड्राफ्ट आएको छ । यो ड्राफ्ट के हो ? यो षड्यन्त्र कसले ग¥यो ? यसबारे उहाँहरु चुपचाप हुनुहुन्छ ।’

Logo