बढ्दो कोरोना संक्रमणबारे डा. शेरबहादुर पुनलाई चार प्रश्न

बढ्दो कोरोना संक्रमणबारे डा. शेरबहादुर पुनलाई चार प्रश्न


 केही दिनयता नेपालमा कोरोना संक्रमण दर फेरि निरन्तर उकालोतिर चढिरहेको छ । असार महिना लागेदेखि नै कोभिड संक्रमण दर (पोजिटिभिटी रेट) बढ्दै गएको हो । पछिल्लो २४ घण्टामा थप १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार १२६ जनाको परीक्षणमा १७७ जनामा संक्रमण भएको हो । संक्रमितमध्ये एकजनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा ४१ जना संक्रमणमुक्त भएका छन । धुलिखेल अस्पतालमा असार १६ गते गरिएको एक जना संक्रमितको जीन सिक्वेन्सिङमा ‘बीए पोइन्ट फाइभ’ भेटिएको थियो । अफ्रिकामा भेटिएको यो प्रजाति अहिले बेलायत, जर्मनी र अमेरिकामा फैलिएको छ । यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन । यसै सन्दर्भमा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी ।

केही महिनादेखि निस्क्रिय रहेको कोरोना संक्रमण एकाएक बढ्नुको कारण के होला ?

अहिले नयाँ प्रजाति बीए.५ फैलिरहेको पुष्टि भएको छ । यही नयाँ प्रजातिले गर्दा नै संक्रमण बढिरहेको छ । 
 

अहिले फैलिरहेको भनिएको कोरोनाको यो कुन भेरियन्ट हो र यसको प्रकृति कस्तो छ ?

नझुक्किनुहोला,यो नयाँ भेरियन्ट भने होइन । यो ओमिक्रोन भेरियन्टकै नयाँ उपप्रजाति हो । यो बीए.५भनेर स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । नेपालमा अहिले बीए.५ भेटिएको छ तर बीए.४ भने पुष्टि भइसकेको छैन । अन्य देशहरुमा भने बीए.५ र बीए.४ दुवै संगै भेटिएको छ । यसको प्रकृतिको कुरा गर्दा यो बीए.४ भन्दा अलि चाँडो फैलिन सक्ने देखिन्छ । चाँडो फैलिएपनि जोखिम भने विगतको भन्दा कम देख्छु मैले । पहिलेको जस्तो समस्या नआउला भन्ने अनुमानसम्म गर्न सकिन्छ । तर पनि यसो भनिरहँदा सतकर्ता भने अपनाउनै पर्दछ । अहिले पनि सबैजनाले खोप लगाएको छैन । खोप लगाएकाको तुलनामा नलगाएकाहरूलाई यसको जोखिम बढी हुने सम्भावना हुन्छ ।

सबैले खोप लगाइसकेपछि पनि संक्रमण किन बढेको होला ?

कुनै पनि खोप शतप्रतिशत भन्ने हुँदैन । कतिपयको शरीरमा खोप लगाएपनि एन्टीबडि नबन्न सक्छ । त्यसकारणले पनि खोप आउनुभन्दा अगाडी बहस हुन्थ्यो, यसको प्रभावकारिता कति, फाइजरको कति, एस्ट्राजेनेकाको कति भनेर कुराहरू हुन्थे नि त्यो व्यक्तिमा पनि केही हदसम्म भर पर्ने कुरा हो । त्यसकारणले शतप्रतिशत भन्ने नभएपनि ठुलो संख्यालाई बचाउन भने खोपले सहयोग गर्छ ।  

पहिलेको भन्दा अहिले बढी ध्यान दिनुपर्ने कुरा के-के हुन् ?

अहिले पनि जनस्वास्थ्यका मापदण्डहरुलाई पालना गर्नुपर्छ । जोगिने मुख्य उपाय तिनै हुन । वर्षौंदेखि हामीले एउटै कुरा गरिरहेका छौं । धेरैलाई थाहा भइसक्यो कसरी सर्छ ? सर्ने थाहा पाएपछि बच्ने उपाय पनि थाहा छ भन्ने बुझ्नुपर्छ । पहिलो सावधानी भनेको खोप लगाउनु नै हो । 

Logo