‘मेरो भ्वाइस ‘यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेतालाई ७५ हजार डलर

‘मेरो भ्वाइस ‘यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा, विजेतालाई ७५ हजार डलर


इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ‘रियालिटी शो ‘मेरो भ्वाइस ‘यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को घोषणा गरेको छ ।

फाउण्डेशनले काठमाडौंमा आयोजित एक कार्यक्रमबीच ‘शो’  को घोषणा गरेको हो । दुवै शो का विजेताले ७५ हजार डलर पुरस्कार पाउने भएका छन । त्यसैगरी, फस्ट रनरअपले २० हजार र सेकेण्ड रनरअपले १० हजार डलर पुरस्कार पाउने बताइएको छ । विश्वभर छरिएर रहेका नेपाली भाषीहरुको सहभागितामा यो शो आयोजना गरिनेछ । शोमा सहभागी हुने विश्वभरका नेपाली भाषीहरुले इन्ट्रा फाउण्डेशनको एप डाउनलोड गरेर फर्म भर्न सक्नेछन ्। अगष्ट महिनादेखि सुरु हुने अडिसन ३१ डिसेम्बर २०२२ सम्म खुल्ला रहनेछ ।

यस्तै, जनवरी १ बाट भने प्रतिस्पर्धीलाई विश्वका विभिन्न स्थानमा बोलाएर अडिसन गरिनेछ । नेपालको पूर्व, मध्य र पश्चिमाञ्चलमा अडिसन हुनेछ । यस्तै, क्यानडा र अमेरिकामा भने १/१ स्थानमा अडिसन गरिनेछ । फ्रेबुअरी २८ तारिखसम्म फिल अडिसन सकेर साइटलेस अडिसनका लागि छनोट भएका प्रतिष्पर्धीलाई नेपालमा ल्याउने इन्ट्रा फाउन्डेशनले जनाएको छ । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार किरण केसीले अमेरिकामा बसेर नेपाली भाषा, कला र संस्कृतिको जगेर्ना गर्न खोज्नु नै ठूलो कुरा भएको बताए । उनले नेपाली भाषा, संस्कृतिको रक्षा गर्ने कुरामा सबै कलाकारहरु एकजुट भएर लाग्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार निर शाहले यो कार्यक्रम नेपाली कलाकार्यमा सुवर्ण अक्षरमा लेखिने बताए । उनले कलाकारहरुले नेपाल र नेपालीको स्वाभिमान, आत्मसम्मान र नेपालसँग जोडिएका सत्यलाई सधैँ जीवित राख्ने काम गर्नुपर्ने बताए । त्यस्तै कार्यक्रममा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले कार्यक्रम नाफा कमाउन नभइ विश्वभर छरिएका नेपालीहरुलाई एक ठाउँमा ल्याउन आयोजना गरिएको बताए । उनले नेपाली कला र संस्कृतिलाई जोगाउन सबैले सहयोग गर्नुपर्ने बताए ।

Logo