‘संगीत उद्योग पनि एउटा प्रयोगशाला हो, यहाँ हरेकले अभ्यास गर्न पाउनु पर्छ…’ – शिव परियार

‘संगीत उद्योग पनि एउटा प्रयोगशाला हो, यहाँ हरेकले अभ्यास गर्न पाउनु पर्छ…’ – शिव परियार


'काँचो माटोमा अंकुराएको बिरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आज मेरो सांगीतिक करियर नुहेको छ ।'

सन् १९९४ मा कक्षा ७ मा पढ्दै गर्दा बाल गायनबाट संगीत यात्रा तय गरेका शिव परियार आज नेपाली संगीत क्षेत्रमा सफल अनि चर्चित गायककारूपमा परिचित छन् । पहिलो पटक सन् २००३ मा पहिलो गीत रेकर्ड गराएका गायक परियारले हालसम्म १० एल्बम र ३ सय बढी गीतमा स्वर भरिसकेका छन् ।

जीवनको लामो समय नेपाली गीतसंगीत क्षेत्रका लागि संघर्ष गरेका परियार पछिल्ला दिन पनि संगीत जगतमै क्रियाशिल छन् । उनका थुप्रै गीतहरू स्रोता दर्शकका मनरमस्तिष्कमा प्रिय छन् । उनको आवाजमा भरिएका ‘क्या दामी भो’, ‘पिलायो साथीले’, ‘फेवातालमा साइँली’, ‘धेरै चोटी मरेँ म त‘’ लगायत दर्जनौं गीत नेपाली स्रोताका लागि कर्णप्रिय छन् । गायक परियार गायनमा मात्र होइन व्यावसायिक रूपमा पनि निर्कै चर्चित र व्यस्त गायक हुन् ।

स्टेज प्रस्तुति तथा राष्ट्रिय , अन्तर्राष्ट्रिय महोत्सवहरूमा व्यस्त रहने परियार पछिल्ला दिन कोरोना असर र प्रभावलाई छल्दै सांगीतिक जगतमा तंग्रिने कोशिशमा छन् । हुन त परियारले लकडाउनकै अवस्थामा पनि विभिन्न गीतमा आवाज भरे । कोरोना प्रभावकै बीच उनले ‘नाचे फिरिरी’ बोलको गीत बजारमा ल्याए । परियारको उक्त गीत दर्शकले निकै रुचाए । गीतले बजारमा चर्चा पायो ।

भिडियो अन्तर्वार्ता:

परियारले त्यसयता, अन्य थुप्रै गीतमा आवाज भरे भने, ‘लौन बोलिदेउ’, ‘आँशुको अर्थ–३’, ‘जिन्दगी तिम्रो मेरो गीत’ जस्ता गीतहरू आफ्नै च्यानलमार्फत बजारमा ल्याए । जसले गीतसंगीत बजारमा शिव परियारको देन, लगाब अनि उनको सक्रियतालाई प्रश्ट पारिदिएको छ । 

उनी पछिल्लो समय चलेको सांगीतिक ट्रेन्डअनुसार नयाँ गीत बजार ल्याउन जागरुक छन् । केन्द्रबिन्दु अनलाईनको विशेष कुराकानीका क्रममा उनले नेपाली संगीत पारखीहरू पछिल्लो समय युट्युवमा बढी क्रियाशिल देखिएकाले सोहीअनुसार नयाँ गीत बजारमा ल्याइरहको प्रतिक्रिया दिएका थिए । उनले, गीतको प्रकृती र मर्मअनुसार त्यसको मूल्यांकन गरिदिन पनि सम्पूर्ण दर्शक स्रोतामाझ आग्रह गरे । 
गायक परियारले आफ्नो लामो सांगीतिक करियरलाई पनि सरसर्ती सम्झन भ्याए । संघर्षका दिनयता धेरै नै मिहेनत गरेर काँचोमाटोमा अंकुराएको बिरुवाले सुइरो हाल्दै पात लगाउँदै बयस्क अवस्थामा टुप्पो नुहिने गरी फल लागेझैं आफ्नो करियर अघि बेढेको गायक परियारको भनाइ छ ।

“हिजो चप्पल लगाएर उकाली ओराली गर्दा होस् वा संगीतिक करियरका खातिर कयौं किलोमिटर पैदल हिंडेका दिन सबै मस्तिष्कमा छन् । त्यो समय सांगीतिक करियरको भोक थियो, सपना थियो, त्यसले नै आजको प्रगतिपथसम्म डोहोर्याएको हो । यसर्थमा म व्यावसायिक प्रगतिलाई गौण राखेर सांगीतिक प्रगति भने उत्साहजनक र प्रतिफलपूर्ण मान्छु ।”

आजसम्म प्राप्त गरेको उपलब्धीले आफू सन्तुष्ट रहे पनि संघर्ष भने अझै जारी रहेको गायक परियारको भनाइ छ । पछिल्लो समय नेपाली संगीत बजारमा देखिएका विकृतरूप उनले नियालीरहेका छन् । तर, उनलाई यो विकृतरूप खासै नयाँ लाग्दैन रे । तैं चुप मैं चुप भनेझैं उनी पनि चुप छन् ।

“सांगीतिक करियरमा थुप्रै बसन्त कटाएँ । हिजो संगीतमा लाग्दा त्यो विद्यार्थी बिग्रन्छ भन्ने वातावरण थियो, आज यसैमा करियर बनाउन प्रेरित गरिन्छ । नेपाली संगीत बजार पनि परिवर्तित छ । प्रविधिका हिसाबमा सहज बन्दै गएको छ”, उनी थप्छन्, “तथापि, यस अवधिमा थुप्रै रहर र लहडका संगीतकर्मीहरू पनि व्यहोरियो । यहाँ संगीत बजारलाई विकृत बनाउने उद्देश्यले कोही पनि आउँदैन । तर, छोटो समयमै चर्चामा आउने लोभले बजार केही अस्थिर भएको भने पक्कै हो । यस्ता विषय समयानुसार स्वाभाविक प्रक्रिया हराउँदै, उदाउँदै जान्छन् ।”

पछिल्लो समय नेपाली संगीत पारखीहरूको स्वाद केही बद्लिएको हो की भन्ने प्रसंगमा गायक परियार केही उदार देखिन्छन् । गीत संगीत मात्र होइन अब हरेक क्षेत्र समयानुकुल चल्न सक्नुपर्ने उनको धारणा छ । दर्शक स्रोताको मागमा विविधताकै कारण संगीतकर्मी बाँच्ने गरेको उनको भनाइ छ ।

उनी भन्छन्, “संगीत उद्योग पनि एउटा प्रयोगशाला हो, यहाँ हरेकले आ–आफ्ना तरिकाबाट अभ्यास गर्न पाउँछ र त्यो उसको नैसर्गीक अधिकार पनि हो । त्यसैले संगीत बजार विकृतभन्दा पनि अभ्यासको उपज मात्र हो, यो स्थापित हुने या, विस्थापित हुने दर्शक स्रोता र स्वयं साधना गर्नेमा भर पर्दछ ।”

नोटः गायक परियारको जन्मदिनको अवशरमा पुनः प्रकाशित

Logo