‘कमेडी च्याम्पियन सिजन–२’ पहिलो भन्दा भव्य गर्दैछौं– निर्देशक भण्डारी

‘कमेडी च्याम्पियन सिजन–२’ पहिलो भन्दा भव्य गर्दैछौं– निर्देशक भण्डारी


कमेडी च्याम्पियन सिजन–२ को औपचारिक घोषणा गरिएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कार्यक्रमको औपचारिक घोषणा गरिएको हो ।

कमेडी च्याम्पियनको दोस्रो सिजन कान्तिपुर टेलिभिजनमा २१ फागुनबाट प्रशारण सुरु हुने भएको छ । कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले अब प्रशारणमा आउन लागेको सिजन गत सिजनभन्दा भव्य हुने दावी गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्डारीले गत वर्ष आर्थिकरुपले पनि केही समस्या झेल्नु परेकाले धेरै कुराहरु गर्न नसकिएको तर, यो वर्ष त्यस्तो नहुने बताए । 

उनले भने, गतवर्ष हामीलाई आर्थिकरुपमा पनि धेरै समस्या प¥यो । जसको कारण कतिपय सपनाहरु पूरा हुन सकेनन् । यसवर्ष हामीलाई आर्थिक पक्षको चिन्ता भएन । अब ढुक्करुपमा कन्टेन्टमा काम गर्न पाउनेछौँ । गत वर्ष गर्न नसकेको काम हामीले यस वर्ष गर्नेछौँ ।’ यस वर्ष प्रतियोगीहरुलाई पनि धेरै मिहिनेत गराइएकाले शो, थप उत्कृष्ट हुने निर्देशक भण्डारीले दावी गरे । 

यस्तै कार्यक्रममा बोल्दै कान्तिपुर टिभीका स्टेशन हेड दिनेश डिसीले कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित रहेको बताएका छन् । ‘कमेडी च्याम्पियन अर्गानिक शोको रुपमा स्थापित भएको छ । यस अर्गानिक शोलाई हामीले गत सिजनको अन्त्यमा नै ५ वर्षको लागि सम्झौता गरेर लिइसकेका छौँ’, डिसीले भने, ‘५ वर्षमात्र होइन, अझै लामो समयसम्म कान्तिपुर र कमेडी च्याम्पियनबीच सहकार्य हुनेछ ।’

कार्यक्रममा विज्ञापन कम्पनी ‘एडी रिलिज’ले विभिन्न आयोजक तथा प्रयोजकहरुसँग सम्झौतापत्र आदान प्रदान गरेको थियो । कमेडी च्याम्पियन–२ का लागि देश तथा विदेशबाट ६ हजार भन्दा बढी डिजिटल अडिसन प्राप्त भएको र ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गराइएको आयोजकले जनाएको छ । जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन् ।

कमेडी च्याम्पियनको निर्णायक मण्डलमा यस वर्ष कुनै परिवर्तन गरिएको छैन । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा नै जजका रुपमा रहेका छन् भने कार्यक्रमको उद्घोषण पनि रीमा विश्वकर्माले नै गर्नेछिन् ।

‘थ्रि प्रोडक्सन’ले निर्माण गर्ने कमेडी च्याम्पियनको कार्यकारी निर्मातामा केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेकाछन् ।

Logo