अब घरभाडामा बस्‍नेको विवरण प्रहरीलाई बुझाउनुपर्ने

अब घरभाडामा बस्‍नेको विवरण प्रहरीलाई बुझाउनुपर्ने


अब घर मालिकले घर वा कोठा भाडामा लिनेको विवरण नजिकैको प्रहरी कार्यालयलाई बुझाउनुपर्ने भएको छ । गृह मन्त्रालयमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाण्डौ उपत्यका लगायत देशका मुख्य मुख्य शहरी क्षेत्रहरुमा घरभाडामा लिई अपराधिक गतिविधिहरु हुनेगरेको भन्दै गृह मन्त्रालयले त्यसरी भाडामा लिएको कोठा वा घर छाडेको जानकारीसमेत प्रहरीलाई गराउन निर्देशन दिएको हो । विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैंकिङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौनजन्य क्रियाकलाप तथा विस्फोटक पदार्थहरूको भण्डारण र प्रयोग गरी विध्‍वंसात्मक एवम् अराजक गतिविधि गर्ने गरेको पाइएको गृहले जनाएको छ।

बैठकको निर्णय अनुसार घरभाडामा दिने र लिने व्यक्ति/संस्था/कार्यालयले घरभाडामा दिंदा र लिंदा आफ्नो घरमा भाडामा बस्ने ब्यक्ति/संस्था/कार्यालयको परिचय खुल्ने कागजात सहितको विस्तृत विवरण/जानकारी एवं छाडेको विवरण र जानकारी समेत नजिकको स्थानीय प्रहरी इकाईमा अनिवार्य रुपमा दिने र स्थानीय प्रहरी इकाईले पनि अनिवार्य रुपमा लिई घरभाडामा बस्ने र छाड्नेहरुको नियमित एवं अद्यावधिक अभिलेख राख्नुपर्ने छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृहसचिव प्रेमकुमार राई र तीनै सुरक्षानिकायका प्रमुख उपस्थित थिए ।

केही समयअघि प्रहरीले काठमाडौँमा घर भाडामा लिई अपराधिक गतिविधि संचालन गर्दै आएका १२२ जना चिनियाँ नागरिक पक्राउ गरेको थियो ।

Skip This
Logo