दूरसञ्चार प्राधिकरणका सेवा विश्वसनीय तुल्याउन सञ्चारमन्त्रीको आग्रह

दूरसञ्चार प्राधिकरणका सेवा विश्वसनीय तुल्याउन सञ्चारमन्त्रीको आग्रह


सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनतालाई प्रत्यक्ष लाभ हुने गरि सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणसँग आग्रह गरेका छन् । प्राधिकरणको २३ औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले प्राधिकरणका सेवालाई सुलभ, गुणस्तरीय, विश्वसनीय र भरपर्दो तुल्याउन सुझाव दिए। 

मन्त्री गुरुङले भने, “दूरसञ्चार सेवा गाउँभन्दा पनि शहर केन्द्रित भएको छ, ग्रामीण विकास कोषबाट पनि शहरमै विकास भएको छ, अब पूर्वाधारको विकाससँगै यो सेवालाई गाउँसम्म पुर्याउन जरुरी छ ।” उनले दूरसञ्चार सेवालाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ल्याउन त्यसको अनुसन्धान र समीक्षा गर्नुपर्ने औँल्याए । 

फरक प्रसङ्गमा सरकारका प्रवक्ता गुरुङले सरकार र नेत्रविक्रम चन्द समूहबीचको वार्ता सफल भएको बताउँदै अब मुलुकमा शान्ति हुने विश्वास व्यक्त गरे । उनले अब राजनीतिक अस्थिरताको अन्त्य हुने बताउँदै यसबाट नेपालमा लगानीमैत्री वातावरण सिर्जना हुने बताए । 

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सरकारले शिक्षा क्षेत्रलाई सञ्चारमैत्री बनाउने योजना अनुसार जतिसक्दो चाँडो गाउँगाउँमा इन्टरनेट पुर्याउन निर्देशन दिए।  प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले  हालसम्म काठमाडौँ उपत्यकाबाहेकका ५४२ स्थानीय तह, चार हजार ४१२ वडा कार्यालय तीन हजार १२६ स्वास्थ्य केन्द्र र तीन हजार ७१४ सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँच पुर्याइएको जानकारी दिए । उनले भने, “सामुदायिक विद्यालयमा सूचना प्रविधिको पहुँच पुर्याउने उद्देश्य अनुरुप शतप्रतिशत  विद्यालयमा  जडान सम्पन्न भइसकेको छ ।रासस

Logo