महानगरले ल्याए बजेट : काठमाडौंमा सबैभन्दा बढी २५ अर्ब र वीरगन्जमा सबैभन्दा कम ३ अर्ब

महानगरले ल्याए बजेट : काठमाडौंमा सबैभन्दा बढी २५ अर्ब र वीरगन्जमा सबैभन्दा कम ३ अर्ब


संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहहरुले असार १० अर्थात् शुक्रबार बजेट सार्वजनिक गरेका छन् । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा, वीरगञ्ज र विराटनगर महानगरले शुक्रबार नै आगामी आर्थिक वर्षका लागि आयव्ययको विवरण सार्वजनिक गरेका हुन् ।

हेटौंडा उपमहानगरको बजेट भने शुक्रबार आउन सकेन । कार्यपालिकामा बहुमत रहेको एमालेका प्रतिनिधिहरु नै अनुपस्थित रहेपछि हेटौडाको नगरसभा नै आइतबारसम्मका लागि स्थगित भएको छ । धरान, बुटवल, धनगढी, जनकपुर, घोराहीलगायत उपमहानगरले पनि आजै बजेट ल्याएका छन् ।

काठमाडौं महानगरको बजेट २५ अर्ब ४१ करोड ९६ लाख

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रवार महानगरपालिले आर्थिक वर्ष २०७९/०८० को लागि आयव्ययको विवरण सार्वजनिक गरेको हो । आगामी आर्थिक वर्षको बजेट विनियोजनबारे जानकारी गराउँदै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले बजेट अन्तर्गत महानगरपालिकाको सञ्चित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार र सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब ५ करोड १ लाख ४७ हजार गरी आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको बताइन् । उनले स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार कार्यालय सञ्चालन, प्रशासनिक क्षेत्रका लागि ४ अर्ब ६८ करोड ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब ८ करोड ८९ लाख ३ हजार बजेट विनियोजन गरिएको जानकारी दिइन् । महानगरले सामाजिक विकास क्षेत्रको लागि १ अर्ब ६२ करोड २८ लाख २२ हजार सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरेको छ । उपप्रमुख डंगोलले नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको बताउँदै २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार आम्दानी हुने प्रक्षेपण गरिएको जानकारी दिइन् । चालु आर्थिक वर्ष २०७८/०७९ मा महानगरले कुल १८ अर्ब ९५ करोड ७७ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड ३५ लाख

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९०/८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । यो छिमेकी महानगर काठमाडौंको भन्दा १९ अर्बले कम हो । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बजेट प्रस्तुत गरेका हुन् । वैशाख ३० मा सम्पन्न स्थानीय निवार्चपछि दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका महर्जनले नगर सभामा बजेट प्रस्तुत गरेका हुन् । नगर प्रमुख महर्जनले महानगरको विकास सेवा व्यवस्थापन, सुशासन कायम राख्न मद्दत पुग्ने बताए ।

भरतपुर महानगरको बजेट ५ अर्ब ७४ करोड ४२ लाख

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाले आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, घरजग्गा रजिस्ट्रेसन एवं खानी तथा खनिज जन्य पदार्थको बाँडफाँडबाट प्राप्त आय समेत, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट प्राप्त ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड रुपैयाँ रहने प्रक्षेपण महानगरले गरेको छ । यस्तै, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवन बाट ५ करोड, अन्तरसरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्व ४० करोड रहने प्रक्षेपण महानगरले गरेको छ । आर्थिक वर्षमा निर्माण सम्पन्न हुन नसकेका तथा भुक्तानी बाँकीमा रहेका र क्रमागत योजनाहरू समयमै सम्पन्न गर्नको लागि १ अर्ब ३० करोड बजेट महानगरपालिकाले विनियोजन गरेको छ । वडास्तरबाटै सम्पन्न हुने योजनाहरूका लागि प्रत्येक वडाका लागि २ करोड ५० लाखको दरले जम्मा ७२ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ठूला तथा रणनीतिक महत्त्वका पूर्वाधार निर्माण गर्न संघ तथा प्रदेश सरकारको श्रोतसँग समपूरक साझेदारी कोष स्थापना गर्न ६ करोड, सहरी सौन्दर्य र भू-उपयोग तथा बस्ती विकाससम्बन्धी नीतिहरू कार्यान्वयन गर्नका लागि २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

विराटनगरको बजेट ३ अर्ब ६२ करोड ५५ लाख

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट ल्याएको छ । उपमेयर शिल्पा निरौला कार्की ले महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० लागि आय र व्ययको अनुमान प्रस्ताव गरेकी हुन् । महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५५ करोड ३५ लाख, पूर्वाधार विकासतर्फ १ अर्ब ८९ करोड ७१ लाख, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७ करोड र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख रुपैयाँ व्यय अनुमान गरेको छ । अनुमानित खर्च बेहोर्ने महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ १ अर्ब २१ करोड र प्रदेश सरकारतर्फ ४ करोड ९७ लाख, राजश्व बाँडफाँडबाट १ अर्ब १३ करोड ९९ लाख, आन्तरिक आय १ अर्ब, जनसहभागिता ८ करोड, अन्य अनुदान तथा ऋणबाट १० करोड १९ लाख तथा अन्य संस्था ३ करोड ६० लाख रुपैयाँ विनियोजन हुने अनुमान गरिएको छ ।

वीरगन्ज महानगरको बजेट ३ अर्ब ३३ करोड ६३ लाख

वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि तीन अर्ब ३३ करोड ६३ लाख २६ हजार रुपैयाँको बजेट ल्याएको छ । ‘औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगन्ज महानगर’ भन्ने नारासहित उपप्रमुख इम्तियाज आलमले उक्त बजेट प्रस्तुत गरेका हुन् । महानगरले आगामी वर्ष चालुतर्फ दुई अर्ब ६ करोड ९८ लाख ५० हजार रुपैयाँ र पुँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख ७५ हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरेको छ । महानगरले चालुतर्फ ६२।०४ प्रतिशत र पुँजीगततर्फ ३७.९६ प्रतिशत बजेट विनियोजन गरेको हो । महानगरले चालु आर्थिक वर्षमा तीन अर्ब ५५ करोड ३५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा महानगरले आन्तरिक आयबाट ९५ करोड, संघीय सरकारको एक अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट ७ करोड ९८ लाख २४ हजार रुपैयाँ पाउने जनाएको छ । महानगरले पूर्वाधारतर्फ एक अर्ब १९ करोड ९३ लाख, कृषितर्फ तीन करोड २६ लाख, शिक्षा, युवा तथा खेलकुदसम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न ६६ करोड, स्वास्थ्यतर्फ एक करोड २० लाख, सामाजिक विकासतर्फ ९९ करोड ३५ लाख ७९ हजार रुपैयाँ विनियोजन गरेको छ । बजेटमा भौतिक पूर्वाधार विकास, फोहोरमैला व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, भाषा, संस्कृति तथा सम्पदा संरक्षण र प्रवर्द्धन, सूचना प्रविधि, ज्येष्ठ नागरिक सम्मान जस्ता विषयलाई प्राथमिकतामा राखिएको छ ।

 

पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड

 पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि आयव्ययको विवरण सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ८ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन् । महानगरले पर्यटन, कृषि, पूर्वाधार तथा सहरी विकास, शिक्षा, रोजगार प्रवर्द्धनलगायतमा जोड दिएर बजेट ल्याएको हो । यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र मेयर(उपमेयरबीचको वार्तापछि नगरसभा शुक्रबार साँझ मात्र सुरु भएको थियो ।

 

Logo