श्रमिक महिला, श्रमको मूल्य र समयले सिकाएका कुरा

श्रमिक महिला, श्रमको मूल्य र समयले सिकाएका कुरा


समयले महिलाहरूलाई धेरै पाठ सिकाउँछ । समयले गरेको दिशानिर्देश बुझ्ने प्रयास भने सबैले गर्नु पर्दछ । श्रमिक महिलाहरूले मनाउने दिवस-८-मार्च बित्दै गर्दा मलाइ समयले सिकाएका केही कुराहरू अभिव्यक्त गर्न मन लाग्यो र लेख्दै छु । अक्षरहरू थपिँदै जाँदा कतै मैले बिताएको समय निर्मम जस्तो देखिएला, कतै समयसँगै आफ्नो अधिकारको माग गर्ने म आफू स्वार्थी पो देखिन्छु की ! तर जे होस् श्रम खोज्ने र त्यो श्रमको मूल्य खोज्ने एक किसिमको हुटहुटीको भने आज म बयान गर्न चाहन्छु ।

मार्च-८, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर तामझामका साथ संसारभर एउटै मितिमा यो दिन विविध कार्यक्रम गरेर मनाउने प्रचलन रहेको छ । अझ नारी सशक्तीकरणमा टेवा पुर्यााउने भन्दै ठूला ठूला तारे होटेलहरूमा कार्यक्रम गरेर समेत यो दिनलाई मनाउने गरेको देखिन्छ ।

न्यूनतम ज्यालामा आजसम्म पनि महिलाले भोग्नु परेको विभेद एकातिर छ भने हाम्रो देशमा महिलाले गर्ने महत्त्वपूर्ण श्रमको मूल्याङ्कन नै गरिँदैन । उज्यालो नहुँदै उठेर घरको सरसफाइ गरेर खाने कुराको जोहो गरेर बाल बच्चालाई स्कुल पठाउनेदेखि वस्तुभाउको हेरचाह गर्ने र खेतबारीमा मजदुरी गर्ने सम्मका महिलाले गर्ने तमाम  कामहरूको कुनै ज्याला निर्धारित हुँदैन । उज्यालो नहुँदैदेखि आधारातसम्म गरेको त्यो सम्पूर्ण मेहनत माहिलाले  केवल बाँच्नका लागि मात्र गरिरहेको जसरी मूल्याङ्कन हुने गरेको छ या ती सम्पूर्ण कामलाई महिलाको कर्तव्य अन्तर्गत परिभाषित गरिएको छ ।

यहाँ त्यसरी काम गरे बापत पुरुषले पनि ज्याला पाउँदैनन् भन्ने प्रश्न उठ्न सक्छ त्यसलाई प्रस्ट पारिहालौँ, हाम्रो समाजमा पुरुष सम्पत्तिका जन्मजात हकदार हुन्छन् र त्यसरी महिलाले गरेको  श्रममार्फत बढोत्तरी भएको सम्पत्तिमा पुरुष मात्रको हक स्थापित हुने गरेको छ । त्यसैले पुरुषले नगद ज्याला नपाए पनि श्रम पछि हुने उत्पादनको स्वामित्व पुरुषमा निहित रहने हुनाले पुरुषहरू सम्पूर्ण रूपमा ज्यालाबाट वञ्चित रहेको मान्न सकिँदैन ।

एउटा समय थियो । आधारातमा उठ्यो । दैलो कुचो गर्यो। पानी पँधेरो आफ्नै भागमा छँदैछ । वस्तु भाउ र गोठ झन् महत्त्वपूर्ण जिम्मेवारी हुने नै भयो । गोठको काम सकेर लखतरान भएको ज्यान अलिकति खाना खाएपछि सुस्ताउन समेत नपाइ मेलापातमा जानुपर्ने बाध्यता । मेलापात नगरे वर्षभरि के खाने त्यो समस्या झन् विकराल त्यसमाथि सन्तानको रेखदेख, साफ सफाइ र समयसँगै उनीहरूको पठन पाठनको झन् ठूलो जिम्मेवारी–एउटी आमा, एउटा ज्यान तर काम भने आफूले गर्न सक्ने भन्दा कति हो कति धेरै । त्यसमाथि सपना झन् ठूला ठूला ।

यो त्यो समयको कुरा हो जति वेला म मेरै घरमा घरेलु कामदार थिएँ तर मेरो कामलाई मेरो कर्तव्य अन्तर्गत परिभाषित गरिएको थियो र बिहान बेलुकाको दुई छाक खाना र एकसरो लुगाको लागि सूर्य उदाउनु अगाडिदेखि सूर्य अस्त पछाडिसम्मै शरीरले भ्याएसम्मको श्रम गरिरहनु पर्थ्यो । समय बित्दै गयो । न श्रमको मूल्य पाउनु पर्छ भन्ने ज्ञान नै थियो न आस नै । त्यो श्रम बापत प्रशस्त मायाको आस भने हुन्थ्यो अनि सुरक्षाको आस हुन्थ्यो ।

हाम्रो समाजको बनोट त्यस्तै त छ । महिलाले अलिकति प्रेम र अलिकति सुरक्षाकै लागि त मिहेनत गरिरहेका हुन्छन् रात दिन नभनी । कुरा विवादित हुन सक्छ, आफ्नै सन्तानको लागि गरेको श्रमको पनि मूल्य हुन्छ त भन्ने प्रतिप्रश्न उठ्न सक्छ–हो प्रशस्त माया पाएको अवस्थामा र आफू पूर्ण सुरक्षित रहेको आभास भएको अवस्थामा ज्यालाले महत्त्व नराख्ला तर हेरौँ एक पटक हाम्रो समाजको बनोट र केही सामाजिक कुरीतिहरूको कारण महिलाहरू ज्यालाबाट वञ्चित त हुन्छन् नै–पाउँदै आएको माया र सुरक्षाबाट समेत तत्काल वञ्चित हुने अवस्था आइपुग्छ त्यो अवस्थामा काम आउँथ्यो आफ्नो श्रमको मूल्य तर हामीकहाँ त दुख परे माइत जाने चलन छ । लोग्नेले सौता ल्याए पनि माइत जाने पिटे पनि माइत नै जाने बरु फर्केर आउने पिटाइ सहने र फेरि उसैको लागि श्रम गर्ने –यही त छ हाम्रो सामान्य प्रचलन । 

 जे कुराको आशा र जुन कुराको भरोसामा मान्छेले पसिना बगाउँछ त्यो नै नपाउने भएपछि मान्छेको मन न हो झन् निराश हुने रहेछ ।

अझै समय बित्दै गयो । मैले गर्ने श्रम पनि बढ्दै गयो तर त्यो श्रमको बदलामा मैले पाउनुपर्ने सुरक्षा र माया भने कतै हराउँदै गयो ।  जे कुराको आशा र जुन कुराको भरोसामा मान्छेले पसिना बगाउँछ त्यो नै नपाउने भएपछि मान्छेको मन न हो झन् निराश हुने रहेछ । मायाको वाचा गरेका र सुरक्षाको जिम्मेवारी लिएकाहरू जिम्मेवारी विहीन हुँदै गए । धोका दिँदै गए ।

जिम्मेवारी आफ्नो काँधमा आएपछि बल्ल मान्छेले श्रमको मूल्य बुझ्दछ । फगत जिम्मेवारी पुरा गर्न पसिना बगाउने अवस्थाबाट माथि उठ्नु पर्ने भइसकेको थियो । आफूले बगाएको पसिनाको मूल्य खोज्ने बाटो पहिल्याउने प्रयास गर्दा हातमा हरियो पासपोर्ट र मध्यपूर्व जाने जहाजको टिकट परिसकेको थियो ।

अब भने आफ्नो श्रमको मूल्य आफ्नै हातमा आउने प्राय निश्चित भएको थियो  । एक एक मिनेट हिसाब गरेर आफूले काम गरेको पैसा आफ्नै हातमा आउँदा निकै खुसी पनि लाग्थ्यो । तर समस्याहरू अझै सकिएका थिएनन् । समस्या सकिने भन्दा पनि थपिँदै थिए । आफूले नै आर्जन गरेको ज्याला सही ठाउँमा पुर्या उने या भोलिको लागि कसरी बचत गर्ने भन्ने बेग्लै चुनौती थियो । एक जना पुरुषलाई आफूले आर्जन गरेको श्रमको मूल्य जोगाउन गाह्रो हुँदैन तर महिलाको लागि आफ्नै श्रमको मूल्य जोगाउनु पनि अर्को चुनौती नै रहेछ  ।

समयले  मलाइ कतिपय ठाउँमा निर्मम निर्णय गर्न बाध्य बनायो होला तर अहिले अवस्था पहिले भन्दा फरक छ । आफ्नो श्रमको मूल्य सञ्चित हुँदै जाँदा आर्थिकरूपमा आफूलाई बलियो भएको महसुस भइरहेको छ । जब कोही आर्थिकरूपमा मजबुत हुन्छ तब समाजमा उसको उपस्थिति प्रभावकारी हुने रहेछ भन्ने अनुभव पनि मैले गर्न पाएकी छु । आर्थिकरूपमा कमजोर हुँदा समाजले हेर्ने नजर र आर्थिक रूपमा सबल भइसक्दा त्यही समाजले हेर्ने नजरमा धेरै ठूलो अन्तर रहेको हुने रहेछ  त्यसैले हरेक मान्छेको सामाजिक हैसियत उसले गर्ने श्रमको ज्याला र त्यसको बचत सँग जोडिएको हुने रहेछ ।

आफूलाई श्रमिक महिला भनेर चिनाउन पाउँदा गर्व लाग्छ– श्रम गर्न लाज नमान्नुस् र श्रमको मूल्य बचाउन कोसिस गर्नुस् यो मलाइ समयले सिकाएको कुरा हो ।

Logo