ब्लग

भारतीय वैज्ञानिकको अनुसन्धान मंगल ग्रह खोजमा ‘माइलस्टोन’!

15 Shares

तपाईंहरूलाई थाहा नै होला, हरेक वर्ष अन्तर्राष्ट्रिय विज्ञान दिवस मनाइन्छ । नोभेम्बर १० तारिखलाई विभिन्न नारासहित ‘वल्र्ड साइन्स डे’ मनाउने गरिन्छ ।

यो सुरु भएको धेरै भएको छैन ।  सन् २००२ मा यसको श्रीगणेश भएको होे । ‘युनाइटेड  नेसन्स  एजुकेसनल  साइन्टिफिक  एन्ड  कल्चरल  अर्गनाइजेसन’  (युनेस्को) ले सन् २००१ मा दिवस घोषणा गर्‍यो, अर्को वर्ष सन् २००२ देखि यो दिवस मनाउन  सुरु गरिएको होे ।
नेपालमा  बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा वर्षमा एकपटक राष्ट्रिय विज्ञान दिवस मनाउने प्रचलन सुरु भएको थियो । संघर्षबाट मात्रै प्रधानमन्त्री बनेका विभिन्न महानुभावलाई यस्तो विचार कहिल्यै पनि आएन ।  यस मुलुकमा कैयौं व्यक्ति कैयौं पटक प्रधानमन्त्री पद हत्याउन सफल भएको भए पनि उनीहरूको दिमागमा यसबारे कहिल्यै ख्याल भएन ।  अहिलेसम्म एकपटक प्रधानमन्त्री पदमा पुगेका बेला बाबुरामले देशमा राष्ट्रिय विज्ञान दिवस मनाउने परम्परा थालनी गरे । नेपालले नेपाली क्यालेन्डर अनुसार प्रत्येक वर्षको असोज १ गतेलाई राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाउँदै आइएको छ । २०६९ सालमा घोषणा भएको यो दिवस मनाउने क्रम २०७० देखि थालिएको हो ।  यस वर्ष गएको असोज १ गते नेपालले आठौ विज्ञान दिवस मनाएको थियो ।

यस पंक्तिकारले देशका राजनीतिज्ञहरूको आलोचना गर्ने क्रममा प्रायः बाबुरामजीकै आलोचना गर्ने गर्छ । यसबारे एकजना बाबुरामप्रेमी मित्रले सोध्नुभयो–होइन, तपाईंको उहाँसँग के व्यक्तिगत रिसइबी छ ? जहिल्यै तपाईं उहाँकै मात्र आलोचना गर्नु हुन्छ ? शायद ती मित्रलाई थाहा छैन मलाई नेपालका  राजनीतिज्ञहरूमा सबैभन्दा बढी मनपर्ने पात्र एकजना मात्रै छन् । 
‘किसुनजी त्यों पात्र होइनन् ।’  मैले आफूलाई मनपर्ने ती पात्रसँग अहिलेसम्म प्रत्यक्ष भेट गर्ने मौका पाएको छैन । किसुनजीसँग जीवनमा धेरैपटक भेट भएकोमा न हर्ष छ न ग्लानि । बुद्धवर्णित मध्यमकारिता निर्वाह गर्ने क्रममा उहाँसँग भेट हुनुलाई म बुद्धले भिक्षाटनका क्रममा भेटेको राजपुरुष अथवा कुनै गणिकाका सदृश्य मात्रै लिन्छु ।
‘भिक्षा चाहे राजकोषको विपुल भण्डारबाट बुद्धको पात्रमा  आओस् अथवा कुनै गणिकाको अन्टीबाट बुद्धको  पात्रमा खसोस,’  बुद्धले त्यसको उपयोग त्यै प्रयोजन खातिर गर्थे, जुन प्रयोजनहेतु उनी पात्र लिई भिक्षाटन हेतु आफ्नो कुटीबाट निस्केका हुन्थे । बुद्धले गर्ने यस सारा उद्यम  उपक्रमको एक मात्र प्रयोजन उदरभरणबाहेक केही हुन्नथ्यो ।  मैले पनि उदरभरणका क्रममा किसुनजीलाई कैयौं पटकसम्म भेटेको थिएँ ।  र, यी जम्मै भेटको प्रयोजन बुद्धको उदरभरणहेतु गरिएको  भिक्षाटनभन्दा कुनै अर्थ र आशयले पृथक थिएनन् ।

स्पष्ट नै छ, नेपाली राजनीतिमा मलाई मनपर्ने पात्र किसुनजी होइनन् ।  मैले आफूलाई आफैँ निठल्ला चिन्तकको विशेषणले सुशोभित गरेको त्यसै होइन ।  ममा निठल्लागिरीका तमाम लक्षण एवं साक्ष्य पर्याप्त मात्रामा उपलब्ध छन् ।  जो कोहीले सामान्य अवलोकन गरेर यसलाई ठम्याउन सक्छ ।  जस्तो कि नेपाली राजनीतिमा मलाई सबैभन्दा बढी मनपर्ने एउटा राजनीतिक प्राणी छ, त्यसैगरी मलाई सबैभन्दा बढी ‘इरिटेट’ गराउने पनि एउटा राजनीतिक प्राणी छ नेपाली राजनीतिमा । र, मेरो दुर्भाग्य हेर्नुस् यी दुवै पात्र फरक–फरक नभएर एउटै पात्र हो । र, त्यों पात्र निसन्देह बाबुराम भट्टराई नै हो ।

मेरो जीवनकै सबैभन्दा बढी चर्चित कविता थियो २०५९ सालमा कान्तिपुरमा प्रकाशित ‘बुद्ध र बाबुराम’ । स्वर्गीय क्षेत्रप्रताप अधिकारी र पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दज्यूले ८–१० पटक नै मसँग त्यों कविता पुनः  सुनाउने अनुरोध गर्नु भएको म बिर्सिन सक्दिनँ, यस जीवनको अन्तिम सास रहेसम्म ।

के तपाईं भन्न सक्नुहुन्छ, २०४६ सालयताको राजनीतिक परिदृश्यावलीमा बाबुरामबाहेक कुनै अन्य राजनीतिज्ञलाई मन पराउन  सकिन्छ ?  के तपाईंको विवेकले यसको सहमति दिन्छ ? हो, बुद्धझैं मध्यमकारिता अथवा भिक्षाटन हेतु तपाईंले अन्य कसैलाई रोज्नु पृथक कुरा हुन आउँछ ।

साइन्स छाडी यो सब के लेखेको नभन्नुस्, यो साइन्सकै लेख हो, साइन्समै टुंगिन्छ ।  प्रारम्भ साइन्सको विषयवस्तुले भएको थियो अन्त पनि साइन्सकै ‘पेरिफेरी’मा हुन्छ ।  पृथ्वी मात्रै किन  तपाईंलाई मंगल ग्रहकै यात्रामा लैजान्छु यसै लेखमा । स्थान अभाव भएन भने कृत्तिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेंन्स) बारे चर्चा पनि गर्नेछु ।  अलिक धैर्य गर्नुस् ।  यो चर्चा पनि असान्दर्भिक होइन ।

मेरा लागि मेरा विचार र दृष्टिकोणमा म राजा महेन्द्र र बाबुराम भट्टराईबाहेक कसैलाई मन पराउन सक्दिनँ । राजा महेंन्द्रको अवसान मैले ‘क ख ग’ नचिनी सक्दा नै भएकाले उनको आलोचना गर्नुको कुनै तुक हुन्न ।  फेरि म त्यस संस्कृतिको ध्वजावाहक हो, जुन संस्कृतिमा व्यक्तिको अवसान पश्चात् निन्दा आलोचना गर्ने परम्परा छैन ।  निन्दा आलोचना समकालीनको हुनुपर्छ । आफ्ना पूर्ववर्तीको निन्दा आलोचना गर्नु स्वयंमै निन्दनीय कृत्य हो ।

म प्रायः मित्रहरूसँग  सोध्छु - के नेपाली राजनीतिमा आलोचना गर्ने योग्य कुनै पात्र तपाईंको नजरमा आउँछ? होला, लेखनका प्रारम्भिक दिनमा मैले शेरबहादुरजीको आलोचना गरे होला, गिरिजाबाबुको आलोचना गरे होला, वर्तमान प्रधानमंत्री र राष्ट्रपतिज्यूको निन्दा –आलोचना गर्ने काम गरेको थिएँ होला । तर, त्यों मेरो लेखनको केटाकेटीपन थियो । विचारमा अलि  कति  परिपक्वता आएपछि मैले बाबुरामजी बाहेक अन्य कसैको आलोचना गर्ने कार्य गरेको छैन । आलोचना निन्दा गर्नलाई त्यस पात्रमा केही नकेही  क्षमता हुनुपर्छ, केही ‘क्वालिटी’ हुनुपर्छ ।

मेरो दृष्टिकोणमा बाबुरामजी बाहेक नेपाली राजनीतिको शीर्षमा स्थापित कुनै महानुभावमा कुनै क्षमता नै छैन भने त्यस्ता निरीह प्राणीको निन्दा आलोचना गर्नु लाजमर्दो अशोभनीय कृत्य हुन्छ । क्षमा गर्नुहोला बाबुरामजी तपाईंले हाच्छयुँ गर्दा  असावधानीबस उडेका ‘वाटर भेपर’बारे पनि मैले थाहा पाएँ भने म तपाईंलाई क्षमा दिन्नँ,  तपाईंको निन्दा–आलोचना गर्ने आफ्नो धर्मपालन गर्छु । शायद मेरो  जन्मसमयका ग्रहगोचरको स्वभाव नै तपाईंको जन्मसमयका ग्रह गोचरसँग शत्रुभावमा रहेका छन् ।

बाबुरामजी आज एउटा कुरामा धन्यवाद पनि दिँदैछु ।  तपाईंले चुनेको राष्ट्रिय विज्ञान दिवसका दिन असोज १ गते हिन्दुधर्म परम्परामा विश्वकर्मा जयन्तीका रूपमा पनि पहिलादेखि नै स्थापित रहेको छ ।  तपाईंले यसै दिनलाई नेपालको राष्ट्रिय विज्ञान दिवस हेतु रोज्नु सर्वथा उचित निर्णय थियो, कारण हिन्दुु धार्मिक परम्परामा विश्वकर्मा इन्जिनियर, इन्नोभेटर, वैज्ञानिकका रूपमा प्रतिष्ठित छन ।  उनकै जयन्तीका दिन राष्ट्रिय विज्ञान दिवस  मनाइने चलन बसाउने कार्य हेतु तपाईंलाई कोटिशः अभिनन्दन ।

भारतीय वैज्ञानिक सीवी रमनले सन् १९३० मा उनको खोज ‘रमन इफेक्ट’का लागि  लागि नोबेल पुरस्कार पाएका थिए

नेपालझै भारतले पनि आफ्नो राष्ट्रिय  विज्ञान दिवस मनाउँछ । भारतले यो दिवस भौतिक विज्ञानको क्षेत्रमा एउटा ‘माइल स्टोन थ्योरी’ पत्ता लागेको दिन मनाउँछ ।  निसन्देह यो ‘माइल स्टोन’ काम एकजना भारतीय वैज्ञानिकले गरेका थिए । भारतबाट मात्रै होइन, एसियाबाटै  विज्ञानको कुनै पनि क्षेत्रमा पहिलो नोबेल पुरस्कार पाउने वैज्ञानिक थिएँ उनी अर्थात सीवी रमन । सीवी रमनले भौतिक विज्ञानको अति महत्वपूर्ण शाखा आणविक भौतिकीका विविध क्षेत्रमा अति उपयोगी सिद्धांत ‘रमन इफेक्ट (रमन स्याक्टरिङ) प्रतिपादित गरेका थिए ।भौतिक विज्ञानका दुइटा ब्रान्च  ध्वनिविज्ञान र  प्रकाशविज्ञानमा रमनको महत्वपूर्ण योगदान रहेको थियो ।

‘रमन इफेक्ट’बारे चर्चा गर्नु प्रासंगिक भए पनि स्थानाभावका कारण  सम्भव छैन । यसबारे छुट्टै चर्चा गरौंला ।  छोटकरीमा यति बुझौ, यस ‘रमन इफेक्ट’  अनुसार प्रकाश कुनै पारदर्शी वस्तुबाट गुज्रिँदा प्रकाश किरण विचलित (डिफ्लेक्टेड) भएर तिनको वेभलेन्थ र आयाम (एम्प्लिच्युड) मा परिवर्तन आउँछ । निश्चय पनि विषय जटिल हो तर अहिले यसको चर्चा नगरी पनि सुख छैन ।  पृथ्वीमा मात्रै किन मंगल ग्रहमै यसको चर्चा प्रारम्भ भएको छ । भर्खरै मंगल ग्रहमा ओर्लिएको ‘पर्सिवरेन्स मार्स रोवर’ले ’रमन इफेक्ट’ कै माध्यमले त्यहाँ जीवन भए–नभएबारे अनुसन्धान गर्न गइरहेको छ ।

साथीहरू प्रायः गुनासो गर्छन्, कृष्ण खनाल  र रवीन्द्र आनन्दले मार्च १, २०२१ को साँझ चियापानमा गुनासो गर्दै भन्नुभयो–तपाईंका लेखमा यति विघ्न ‘ट्विस्ट’ हुन्छन् ।  तपाईं  साइन्सबाट अध्यात्ममा ‘जम्प’ गरिदिनु हुन्छ । व्यक्ति चर्चादेखि साहित्य चर्चा, राजनीतिदेखि पौराणिक इतिहास विषयक चर्चा गर्दै  दार्शनिक विवेचनका साथै गीता र रामायणविषयक  चर्चा घुसाई  दिनुहुन्छ  एउटै लेखमा । तपाईंका लेख आखिर कुन विधाका हुन्?

 म ‘प्रोफेसनल’ लेखक नभई सौखिन लेखक हुँ र त्यसमा पनि अतिमध्यम दर्जाको कलमकार ।  शायद कुनै एउटै विषयका वरिपरि केन्द्रित रहेर लेख पूर्ण गर्ने योग्यता नै छैन मसँग ।  ‘कही की इँट कही का रोडा भानुमती ने कुनवा जोडा’ भन्दा फरक छैनन् मेरा लेख । मेरा लेखलाई खिचड़ी विधा अथवा भानुमतीको कुनवा विधाका लेख भन्नु नै उपयुक्त हुन्छ ।

भारतले आफ्नो राष्ट्रिय विज्ञान दिवस यही ’रमन इफेक्ट’ घोषणा भएको दिन २८,फेब्रुअरी सन् १९२८ को  सम्मानमा २८ फेब्रुअरीका दिन नै मनाउँछ । रमनले सन् १९३० मा यसैका लागि नोबेल पुरस्कार पाएका थिए । यस पंक्तिकारले जीवनको पहिलो साइन्स गल्प यिनै रमनद्वारा लिखित पुस्तकका रूपमा पढेको स्मरण छ तर, पुस्तकको नाम भने सम्झना  छैन । माथि कतै  यसै लेखमा मंगल  ग्रहकै चर्चा गर्ने भनेको स्मरण गर्दै– अमेरिकाको ‘मार्स पर्सिवरेन्स रोवर’  मंगल ग्रहको जेजेरो क्रेटरमा ओर्लिएको गत २ मार्चमा १२ दिन भयो ।

कृत्रिम बौद्धिकताको उत्कृष्ट नमूना यस रोवरले मंगल ग्रहको धरातलमा थुप्रै गतिविधि गर्नुका साथै ‘रमन इफेक्ट’को प्रयोग पनि गर्छ । यस ‘रमन इफेक्ट’ को प्रयोगका माध्यमले ‘पर्सिवरेन्स रोवर’ले  मंगलमा जीवनसम्बन्धी खोज गर्छ । रोवरमा एउटा खास यन्त्र  (इन्स्ट्रुमेन्ट) ‘शेरलक’ जडान गरी पठाएको छ अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ।

‘शेरलक’ यन्त्रका सैद्धांतिक आविष्कारक लुथर बिंगलका अनुसार ‘शेरलक इन्स्ट्रुमेन्ट’मा एउटा खास किसिमको ‘फोटान लेजर सिस्टम’ रहेको छ ।  यसको सहायताले मंगलको सतहमा त्यो सबै हेर्न सकिन्छ, जुन आजसम्म सम्भव थिएन ।  यसका माध्यमले ‘मलिक्युल’ स्तरमै मंगल सतहको अन्वेषण गर्न सकिन्छ । ‘शेरलक इन्स्ट्रुमेन्ट’ उच्च आधुनिक विज्ञान प्रविधिमा आधारित एउटा यस्तो यन्त्र हो जसको प्रयोगले मंगलका रहस्य खोतल्न सकिन्छ । यस प्रविधिको पूरा नाम ‘स्क्यानिङ ह्याबिटेबल इन्भारोमेन्ट्स विथ रमन एन्ड लुमिनेसेन्स फर अर्गानिक एन्ड केमिकल्स–शेरलक हो । छोटकरीमा यसलाई ‘रमन स्पेक्ट्रोमीटर’  भन्न मिल्छ ।

नासाको ‘जेट प्रपोलसन लेबोरेटोरी’ ले मंगल अभियानमा पठाइने रोवरमा जडान गर्न खास किसिमको ‘रमन स्पेक्ट्रोमिटर’ बनाएको थियो । यसमा रहेको अल्ट्राभाइलेट लेजरसिस्टम (युभी लेजर) ले   प्रारंभिक जीवन निर्माणमा सहायक रहेका कार्बनिक यौगिककै सूक्ष्म अन्वेषण–विश्लेषण गर्न सक्छ ।

‘पर्सिवरेन्स रोवर’ले  मंगल ग्रहमा यससम्बन्धी प्रयोग थाल्नेबित्तिकै यस प्रविधिबारे बृहद चर्चा गर्दै लेख्ने बाचासहित यस लेख यही विराम दिने उपक्रम गर्छु ।  
 

प्रकाशित: ६ चैत्र २०७७ ०८:५४ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी