महाकुम्भ नगरी हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रसँग तीन घण्टा

महाकुम्भ नगरी हरिद्वारमा पूर्वराजा ज्ञानेन्द्रसँग तीन घण्टा


हरिद्वार महाकुम्भ २०२१ का उपलक्ष्यमा हरिद्वार आएका नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा भव्य कार्यक्रम आयोजना गरे निरन्जन पीठाधीश्वर श्री कैलाशनन्दजी महाराजले।

चन्डिघाट स्थित दक्षिणकाली मन्दिरको प्रांगढमा भएको यस कार्यक्रममा निरन्जनी अखाडाका आचार्य महामन्डलेश्वर स्वामी कैलाशानन्दका अतिरिक्त जूना अखाडाका महामन्डलेश्वर श्री अर्जुन पुरीजी,  केन्द्रीय मन्त्री साध्वी निरन्जन ज्योति, आचार्य बालकृष्ण, प्रधानमन्त्री नरेन्द्र  मोदीका भाइ प्रह्लाद मोदीका अतिरिक्त थुप्रै साधु सन्यासीले  पूर्वराजाको स्वागत अभिनन्दन गरे।

पूर्व राजा ज्ञानेन्द्रले आफ्नो स्वागत अभिनन्दनपछि मञ्चमा आसीन समस्त साधु सन्तका समीप गई आशीर्वाद लिए। उनले मञ्चबाट ओर्लेर तल बसेका साधू सन्तबाट आशीर्वाद ग्रहण गर्दाको दृश्य हेर्दा कता-कता लाग्यो, धर्म प्रतिको श्रद्धा र आस्था संस्कारस्वरूप नै मानिसमा आएको हुन्छ।

उनले समस्त सन्त, महन्त, महामण्डलेश्वरलाई पुष्प माला, खादाका साथै दक्षिणास्वरूप खाम प्रदान गरे। कार्यक्रममा हरिद्वारको प्रसिद्ध साध्वी सन्तोषी माता, भारत माता मन्दिरका प्रमुख , साध्वी निरन्जन ज्योति लगायत थुप्रै सन्तले पूर्व राजालाई आशीर्वाद दिए।

पूर्व राजाले आफ्नो सम्बोधनमा धर्मनगरी हरिद्वार आईपुग्दा आफू अति नै हर्षित भएको भन्दै हिन्दू धर्म संस्कृति यसका मूल्य मान्यता तथा यसका प्रतीक मठ मन्दिरको सरंक्षण हेतु सबैले लागि पर्न आह्वान गरे। उनले स्पष्ट शब्दमा हिन्दू धर्ममाथि बाह्य शक्तिको अतिक्रमण भइरहेको औंल्याए।

पूर्व राजाले तीन पेज लामो मन्तव्य दिएका थिए। उनले नेपाली भाषामा दिएको मन्तव्यको हिन्दि रूपान्तरण गर्ने अभिभारा निर्वाह गर्न पाउँदा यस पंक्तिकारलाई गौरव प्रतीत हुनुका साथै कता कता अनुभूति भयो, हिन्दू धर्मरक्षक हिन्दू नरेशको धर्म सुदृढीकरण अभियानमा यस अकिंचनले पनि केही योगदान गर्न पायो।

पूर्व राजाको यस धार्मिक यात्रामा निरन्जन पीठाधीश्वर आचार्य महामण्डलेश्वर कैलाशानन्द गिरीको अभियानमा नेपालका  पण्डित केशवराज घिमिरे तथा भारतका यशवन्त सिंह नेगीको सक्रिय भूमिका रहेको थियो। नेगी आचार्य महामण्डलेश्वरज्यू को निमन्त्रणा बोकी नेपाल गएका थिए।

कोभीडका कारण उत्तराखण्डका मुख्यमन्त्री तथा राज्यपालसँग उनको भेट हुने निश्चित भएर पनि स्थगित हुन पुग्यो। स्वागत अभिनन्दन कार्यक्रमपछि सामूहिक भोजनको आयोजना गरिएको थियो। पूर्व राजाले भुईंमा बसेर ५ सय भन्दा बढी साधु सन्यासीका साथ भोजन ग्रहण गरे।

उनी धर्मनगरी हरिद्वार पुगेर र यहाँका साधु सन्यासीबाट प्राप्त भएको सम्मान एवं अपनत्वबाट कतिसम्म हर्षित आनन्दित एवं भाव विभोर भएका थिए भने पातको टपरी एवं दुनाबाट भोजन ग्रहण गर्ने क्रममा दुबै हातको प्रयोग गरे । दायाँ हातमा रहेको प्लास्टिकको चम्चाले तरकारी र खीर खाँदै  उनले  बायाँ हातबाट रोटी सेवन गरे। भोजन उपरान्त उनले गिलासमा दिइएको नर्मल पानी पिएका थिए । मिनरल वाटरको बोतलबाट हात पखाले। पूर्व राजादेखि २ मीटर पर भोजन ग्रहण गरिरहेको मेरो ध्यान भोजनभन्दा उनीमाथि नै केन्द्रीत थियो।

सन्यासीहरुको परम्परा अनुसार भोजन गर्नेलाई दक्षिणा प्रदान गरिन्छ। उनलाई पनि दक्षिणा दिइयो। उनले भोजन उपरान्त खाम खोलेर हेरे। नोट बाहिर झिकी पुनः खाममा राखे। कुनै पार्श्ववर्ती नजिक नभएकाले उनले खाम हातमै लिइ राखे।

आचार्य महामण्डलेश्वर कैलाशानन्द ज्यूले शाही स्नानमा सम्मिलित हुन मलाई पनि निमन्त्रण दिए तर यो मेरा लागि सम्भव थिएन किनकी उनी निरन्जनी अखाडाको प्रमुख र म जूना अखाडासँग सम्बन्धित, तसर्थ मैले उनीसँग आफ्नो विवशता व्यक्त गरें।

भोजन उपरान्त मैले पूर्व राजासँग विन्ती गरें, सरकार अब म जान्छु। सरकारसँग काठमाडौंमा एउटा भेट चाहन्छु। उनले शालीनतापूर्वक, हुन्छ काठमाडौंमा भेटौंला भने।

बाहिर उनको सहायक पाठकजीसँग भेट भयो।  काठमाडौंमा भेट्ने बाचा गर्दै म उनीसँग विदा भइ अमर उजाला दैनिकको रिपोर्टरको मोटर साइकलमा बसी आफू बसेको पाइलेट बाबा आश्रममा फर्कें।

पूर्व राजासँग बिताएको ४/५ घण्टाको अनुभूति काठमाडौं फर्केपछि लेखौंला।  

Skip This
Logo