१० असोज २०७८ आइतबार

0 Shares

महामारीका बेला मृतकको तस्बिर राख्दै ‘श्रद्धाञ्जली’ दिएर मजाक गरिरहेका त छैनौं?

सामाजिक सञ्जालको प्रयोगले मानव जीवनमा धेरै फाइदा पुगेको छ। सूचना आदान–प्रदान गर्न, देश तथा विदेशमा प्रत्यक्ष सम्पर्क गर्न वा खास विषयको जानकारी पाउन, आफ्ना विचार, भावना राख्नका साथै घरमै बसेर खरिद बिक्री गर्नसमेत अत्यधिक प्रयोग गर्न थालिएको छ।

सामाजिक सञ्जालको सही सदुपयोगले मानव जीवनलाई सहज र सरल अवश्य बनाउँछ। बनाएकै पनि छ। तर, दुरुपयोगले बेफाइदा पनि गराउँछ। दुरुपयोगबाट हुने नकारात्मक असरबारे यो संक्षिप्त लेख केन्द्रित छ।

प्रसङ्ग हो, श्रद्धाञ्जलीको। सामाजिक सञ्जालमा कस्ता सामग्री राख्न हुने भन्ने विषयमा तर्क–वितर्क नसुनिएको त होइन। तर, महामारीको यो समयमा मृतकको फोटो राखेर श्रद्धाञ्जली दिनेको होडबाजी चलेको छ। 

यस परिघटनाबीच दुई दशकअघिको मृत्यु संस्कार र मलामीमा सहभागी हुने चलनलाई कोट्याउँछु।

त्यस समयमा न सामाजिक सञ्जाल थियो, न प्रविधिको विकास नै। मान्छेको मृत्यु हुँदा मृतक परिवारले छिमेकीलाई अग्लो डाँडामा गएर ठूलो स्वरमा कराएर  जानकारी दिने (कटवाल प्रथा), शंख बजाउने र छरछिमेकीले अरुलाई जानकारी गराउँथे। त्यसपछि गाउँभरिका मानिस भेला हुन्थे। मलामी जान्थे। यातायातको पहुँज र साधन नभएकाले हुनुपर्छ वा हिँड्न समस्या हुन सक्छ भनेर होला, महिला मलामी जानु हुँदैन भन्ने चलन थियो । बरु, आधा बाटोसम्म खाजा लिएर जान्थे।

खासगरी मलामी खाजामा भिजाएको चामल, सिलाम, सखर तथा मौसम अनुसारका फलफूल हुन्थे। मलामीजनले मृतक परिवारलाई दाहसंस्कारपछि घरसम्मै पुर्याएर मात्र आ–आफ्नो घर जाने चलन थियो । मलामी सबैले नुहाएर मृतकको आत्म शान्तिका लागि बेलुकाको एक छाक छाड्ने चलन थियो। शोकाकुल परिवारलाई सान्तावना दिँदै पालैपालो रुङ्ने तथा आवश्यक सरसामान र संस्कारजन्य काममा सहयोग गर्ने परम्परा थियो। तर, प्रविधिको युगमा प्रवेशसँगै परिवर्तन भएको छ।

आजकाल कुनै व्यक्तिको मृत्युलगत्तै सामाजिक सञ्जालमा श्रद्धाञ्जली आउँछ। यातायातका साधनको प्रयोगले मलामी हिँडेका मानिसले शव छुन त कहाँ हो कहाँ, देख्नसमेत नपाउने स्थिति छ। फेरि, सवारी साधन चढेर मलामी हिँडेको मान्छे शोकाकुल परिवारलाई सान्तावना दिन त परै जाओस्, भेट्नसम्म नभेटी फर्किहाल्छ।

आजकाल कुनै व्यक्तिको मृत्युलगत्तै सामाजिक सञ्जालमा श्रद्धाञ्जली आउँछ। यातायातका साधनको प्रयोगले मलामी हिँडेका मानिसले शव छुन त कहाँ हो कहाँ, देख्नसमेत नपाउने स्थिति छ।

किनकि, उसलाई सामाजिक सञ्जालमा समवेदना ‘पोस्ट’ गरी ‘रियाक्ट’ र ‘कमेन्ट’ गणना गर्न हतारो हुन्छ। के त्यो अवस्थामा शोकाकुल परिवारले सामाजिक सञ्जाल चलाएका हुन्छन् होला? 

यदि चलाएको र देखिएकै भए पनि भर्खरै मृत्यु भएको आफन्तको तस्बिर हेर्दा त्यो अवस्थामा कस्तो होला? मनोवैज्ञानिक असर कस्तो पर्ला? सामाजिक सञ्जालमा समवेदना र श्रद्धाञ्जली प्रकट गरिरहँदा आफन्त गुमाउँदाको आलो घाउमा मलमपट्टीको सट्टा नुन छर्ने काम त हुँदैन? त्यसो हामी गरिरहेका त छैनाैं ? प्रश्न यो हो।

पछिल्लो समय फेरि समवेदना–पत्र प्रदान गर्ने चलन स्थापित भएको छ। कालगतिले मृत्यु भएको ठाउँमा समवेदना–पत्र दिँदा केही उचित होला। अकालमा मृत्यु भएको घरमा समवेदना–पत्रमा भएका व्यहोरा पढेर सुनाइरहँदा त्यहाँका बालबालिकाको मन मस्तिष्कमा कस्तो असर पर्ला? कहिल्यै हामीले सोचेका छौँ? मलाई लाग्छ–सोचेका छैनौं।

अनि, एउटा समवेदना–पत्र दिँदा बिसौंँ जना भेला हुन्छौं। तर, हामी आवश्यक सरसहयोगका लागि भेला हुन किन सकिरहेका छैनौं? सोच्नु आवश्यक छैन र?

अर्कोतिर जीवित रहुन्जेल हामी कसैको तारिफ गर्न कञ्जुस्याइँ गर्छौं। कसैसँग क्षमा माग्न या धन्यवाद दिन पनि हिच्किचाउँछौं। तर, मृत्युपछि भने ‘उहाँ यस्तो हुनुहुन्थ्यो’, ‘उहाँले यसो गर्नुभयो, उहाँको निधनले अतुलनीय क्षति भयो’ आदि भनेर सामाजिक सञ्जालमा ‘पोस्ट’ गर्छौं।

जबकि हामीलाई थाहा छ,– मृतकले त्यो तारिफ सुन्न सक्दैनन्। महसुस गर्न सक्दैनन्। तैपनि श्रद्धाञ्जली दिने गरिन्छ। मेरो प्रश्न यहाँ पनि छ,– ‘कसैलाई सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिएर आफ्नो इज्जत बढ्छ र?’ बढ्छजस्तो लाग्दैन। त्यही भएर यो महामारीको समयमा यस्तो काम सकभर नगरौँ ।

देशभरका अस्पतालमा थुप्रै कोभिड संक्रमित मृत्युसँग जुधिरहेका छन्। कोभिडका कारणले निधन भयो भन्दै हार्दिक श्रद्धाञ्जली दिँदा उपचाररत उनीहरूको मनोबल घट्न सक्नेतर्फ सचेत होऔं। त्यस्तो काम नगरौँ। कसरी सकिन्छ, सकारात्मक समाचार मात्रै ‘शेयर’ गरौँ। विवेकशील नागरिकको परिचय दिऔं। 

प्रविधिले मानव जीवन सरल त अवश्य बनाएको छ। तर, यसको गलत प्रयोग तपाईं हामी चेतनशील मानिसले रोकौं।

प्रकाशित: १० जेठ २०७८ ११:०२ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी