मन्दिरै मन्दिर बनाउने हाेडबाजीमा ‘टीकापुर’

मन्दिरै मन्दिर बनाउने हाेडबाजीमा ‘टीकापुर’


काठमाडौं उपत्यकालाई ‘मन्दिरै मन्दिरको सहर’भनेर चिनिन्छ। त्यस्तै, यतिखेर कैलालीको टीकापुरमा काठमाडौंलाई चुनौती दिँदै धमाधम मन्दिरहरु निर्माण भइरहेका छन्। केही मन्दिरहरु निर्माण भइसके भने अझै केही निर्माणकै क्रममा छन्। यस्तै रफ्तारमा हिंड्ने हो भने टीकापुरले काठमाडौंलाई चाडै उछिन्नेछ। 

टीकापुर नगरपालिका वडा न:१ मा मात्रै करिब ३५-४० को हाराहारीमा मन्दिरहरु बनिसकेका छन् । प्राय: सबै मन्दिरहरुको संरचना उस्तै देखिन्छ। टीकापुर बजारको सबैभन्दा पुरानो मन्दिर चाहिँ शिव मन्दिर हो। यस लगायत टीकापुर नगरपालिकाभित्र राधाकृष्ण मन्दिर, गणेश मन्दिर, दुर्गा मन्दिर, राम मन्दिर, जाल्पादेवी मन्दिर र पद्म प्रकाशेश्वर महादेवको मन्दिर अवस्थित छन्। सत्ती वडा न: ७ मा अवस्थित ऐतिहासिक ’पद्म प्रकाशेश्वर महादेवको मन्दिर’ विश्वकै दुर्लभ र प्राचिन शिवलिंग भएको मानिन्छ। 

टीकापुर नगरपालिका वडा न:१ मा पर्ने ‘रानी जमरा कुलारीया सिचाइ आयोजना’को भवन पछाडि ‘प्राकृतिक स्रोत ब्यवस्थापन कलेज’ जाने बाटोमा एकै ठाउँमा १० वटा मन्दिर निर्माण भएका छन्। उक्त परिसरमा अझै केही मन्दिरहरु निर्माणाधीन अवस्थामा छन्। मूल गेटमा ताला लगाइरहेको देखिन्छ । चौरभरि हरिया घाँसहरु छन्। ती मन्दिरहरु कहिले खुल्छन्,कहिले बन्द हुन्छन्, कसैलाई अत्तोपत्तो छैन । न मन्दिरमा पुजारी छन् न त भक्तजन नै। केवल गाई-भैंसीहरु भक्तजनको रुपमा आएर गेट अगाडिको घाँस चरेर जान्छन्। अचम्मको कुरा त यो छ कि उक्त मन्दिरहरु टीकापुर  विकास समितिको जग्गामा विभिन्न समुदायले आफ्नो छुट्टा छुट्टै रूपमा बनाएका हुन्।

किन यति धेरै संख्यामा मन्दिरहरु निर्माण भइरहेका छन? बजेट कसरी पारित हुन्छ? भन्ने प्रश्नमा टीकापुर नगरपालिका वडा नं १ का अध्यक्ष गंगाराम आचार्य यस्तो बताउँछन्, “टीकापुरमा पहाडि भेगहरु (अछाम,डोटी ,बाजुरा,कालिकोट,जुम्ला,दैलेख) बाट झर्नेहरुको जमात बाक्लो छ। जसका कारणले उनीहरु आफ्नो जातीय पहिचान जोगाउन र कुल पूजाको लागि भनेर आफ्नो छुट्टै मन्दिर बनाउन माग राख्छन्। कतिपय बजेट स्थानिय पालिकाहरुले तर्जुमा गर्छन् भने प्रदेश सरकारले पनि मन्दिरको लागि भनेर  स्वत:  बजेट छुट्टाइदिन्छ। आचार्य पुनः थप्छन्, “यसरी फरक फरक समुदायले आ-आफ्नाे निजी मन्दिर बनाउने हो भने यसले जातीय द्वन्द्व ,सामाजिक असमानता, धार्मिक असहिष्णुता र विभेदको बाटो निम्त्याउनेछ।” 

टीकापुर न.पा का मेयर तपेन्द्र रावलका अनुसार बिभिन्न जातजाति बस्ने स्थल भएका कारणले गर्दा धार्मिक आस्था, सांस्कृतिक सद्भावना र समाजको विविधता मध्यनजर गर्दै  मन्दिरहरु निर्माण भइरहेका छन्। यसका लागि संघीय सरकार र स्थानीय निकायले पनि चासो दिनु स्वाभाविक हो।” रावलकै पहलमा पनि वडा न: १ मै जाल्पादेवी मन्दिर गतवर्ष डेढ बिगाहा जग्गामा निर्माण भएको छ । उनले मन्दिरको एकिन निर्माण लागत भन्न त चाहेनन् तर यसपाली पनि प्रदेश सरकारले पूर्वाधार निर्माण भनेर जाल्पादेवी मन्दिरलाई ५० लाख बजेट  छुट्टाएको छ। 

वीरेन्द्र बहुमुखी क्याम्पस,टीकापुरका स्ववियु सभापति धनन्जय रिमालका अनुसार कतिपय मन्दिरहरु पारिवारिकरुपमा आफैंले उठाएर निर्माण गरेका छन् तर नगर विकास समितिको जग्गा स्वत: कब्जा गरेर जातीयताको नाममा मन्दिरहरु बनिरहेको छन्। यो भन्दा बिडम्बना के हुन् सक्छ र? बरु शिव मन्दिरलाई आकर्षक ढंगले व्यस्थित गर्न सकिन्छ।“ यसैगरी, टीकापुरमा रिमाल, बोहोरा, शाह, चौधरी, रावल सबैले आ-आफ्नो निजी मन्दिर बनाएका छन्।

देश कोरोना महामारीका कारण आक्रान्त छ। यस्तो परिस्थितिमा स्थानीय पालिकाहरु तथा प्रदेश सरकारको ध्यानाकर्षण कता हुनु पर्ने हो? स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ६ का अनुसार, योजना तर्जुमा तथा कार्यान्वन जनताका घरघरमा गएर समस्या, गुनासो र सुझाव लिनु पर्ने ब्यावस्था छ । तर यतिबेला जनप्रतिनिधिहरु कोरोना कहरलाई दोष थुपारेर चुपचाप बसीरहेका छन् । मठ मन्दिरलाई बजेट छुट्याउन ब्यस्त छन्।

सर्वप्रथम टिकापुरका खाली जग्गाहरु व्यवस्थित गर्नुपर्ने देखिन्छ । सार्वजनिक  जग्गाहरुमा  जथाभावी मन्दिर बनाउनुको सट्टा बरु एउटा मात्र कलात्मक हिसाबले प्यागोडा होस् या शिखर शैलीका  मन्दिर बनाउन जरुरी छ। जसले गर्दा हिन्दु धर्मावलम्बीहरु सँगसँगै पर्यटकहरुको  संख्या पनि बढ्ने सम्भावना रहन्छ। यसका अतिरिक्त टीकापुरका सार्वजनिक जग्गाहरुमा खेल मैदान, अस्पताल, पुस्तकालय अथवा रंगमञ्च बनाएको भए टीकापुरले  खेलकुद, स्वास्थ्य,पठन संस्कृति र कला क्षेत्रमा कायापलट गर्न सक्छ। यसमा सम्बन्धित निकायको ध्यान जान आवश्यक देखिन्छ। 

Logo