नेपाली समाज र दसैंः शक्ति सञ्चयको अनेक अभ्यास

नेपाली समाज र दसैंः शक्ति सञ्चयको अनेक अभ्यास


दसैंको रौनकले यस वर्ष गति थपेकै छ । आ आफ्नो घर दसैंको विदामा जानेको लर्कों देखिए साथै एउटा परम्पराको रुपमा यसलाई मनाउने नेपाली समाजको मनोविज्ञान कायम छ । राज्यले समेत पर्व मनाउन यही समयमा सरकारी कर्मचारी तथा संस्थानका कर्मचारीहरुलाई भत्ता उपलब्ध गराउँदै आएको देखिन्छ । यसरी दसैं नेपालीको पर्व बन्न पुगेको ठहर्छ । 

दसैं मनाउने विधि र मान्यता अलग अलग रहेको छ । पहाडि भूगोलमा दसैंको टीका महत्वपूर्ण मानिन्छ, जहाँ घर घरमा घटस्थापना गरेर हिन्दु धर्माबलम्बीहरु पूजा गर्ने गरिएको छ । टीकाको दिनभन्दा नौ दिन अगाडिसम्म पूजा  गर्ने र दशौं दिन रातो टीका निधारमा लगाएर मान्यजनहरुसंग आशिर्वाद थाप्ने गरिएको पाइन्छ । 

उता सोही समयमा तराई मधेशमा मूर्ति पूजामार्फत दसैं धुमधामसंग मनाउने गरिन्छ । घटस्थापना अगाडिदेखि नै देवस्थलका लागि तयारी गरेको घरमा काली, दुर्गा भगवतीको मूर्ति स्थापना गरेर नौ दिन घरमुलीले पूजा गर्छन् । मूर्ति स्थापना गर्ने काम सम्बन्धित परिवारको निश्चित भाकल संग जोडिएको हुन्छ । 

शहरतिर साझा देवस्थल बनाई दसैंमा मूर्ति स्थापना गर्ने काम हुन्छ । नवौं दिन पूजा र दशौं दिन जात्रा दसैंको मान्यता तराई मधेशमा हुने गरेको छ । अर्थात् दसैंको दशौं दिन नीलकण्ठ खोजी गरेर पूजा गरिन्छ । त्यसै दिन तलाव अथवा नदीमा मूर्तिहरु सेलाइन्छ । यसरी दसैंको अन्तिम दिन जमरा र टीका पूजारीले लगाइदिने पनि गर्दछन् ।

नेपाली समाज वहुजातीय, वहुसाँस्कृतिक विविधतायुक्त रहेको सर्वविदितै छ । यो समाजमा दसैंलाई बुझ्ने र मनाउने परम्परा आफ्नै आफ्नै रहेको कारण यसको विविध कोणबाट विश्लेषण गरिन्छ । त्यसो त दसैंको बारेमा अहिलेसम्म हिन्दू धर्म र परम्परासंग सम्बन्धित तर्क र ज्ञान मात्र पस्किने गरिन्छ । 

दसैंको टीका र आशिर्वाद एउटा मूल्य र मान्यताप्रति समर्पित रहेको छ नै, संगै विजय पराजयको कथामार्फत देवी र दानव अर्थात् देवासुर संग्राम वर्णित हुनु कसैको आत्मगौरवको लागि सुखद होला तर भारतको राजधानी दिल्लीलगायत अन्य विभिन्न ठाउँमा कोजाग्रत पूर्णिमाको दिन महिषासुर वलिदानी दिवस मनाउन थालेपश्चात ज्ञान प्रणालीमा अब प्रतिपक्षी विचार पनि समाहित हुन पुगेको छ । 

नेपाली समाज भित्रका थारु दसैंको सप्तमी (फुलपाती)सम्म उत्साहका साथ आफ्नो आफ्नो घरको प्रवेशद्वारमा कालो र सेतो रंगले डाइन जोगिन (बोक्सी)को आकृतिजस्तो देखिने अनुहार पोतिन्छ । यसले दसैंको वेला सवै दिशाबाट संकट आउन सक्ने सम्भावनालाई इगिंत गर्छ । 

दसैंको समय नयाँ नयाँ तान्त्रिक विद्या सिकाउने कक्षा (चैटसार)को अवसर पनि हो । सिकारु धामी (झाँक्री) आ आफ्नो गुरु थापेर सप्तमी (फुलपाती)सम्म सो को अभ्यास गर्दछ । गुरु दक्षिणाको रुपमा उनीहरुले नयाँ वस्त्र पाउने र एउटा बोका सप्तमीको दिन वलि दिइन्छ । त्यसपश्चात धामीले ग्रामवासीको सेवामा लाग्नुपर्ने शर्त हुन्छ । थारुको दसैं यसरी नै भिन्न विधि मार्फत मनाइने गरिन्छ र कालीका गीतहरु नै दसैंको समयमा प्रधानता पाउँछ । 

दसैंमा गाइने गीतले थारु अरु जातीय समूहभन्दा भिन्न रहेको प्रष्टै देखिने भएकोले थारु जातिमा वैदिकभन्दा पनि शाक्त मतको प्रधानता रहेको बुझाउँछ । दोश्रो, थारु जातिमा टीका लगाउने चलन पहिले थिएन तर अहिले उनीहरु सेतो टीका लगाएर दसैं मनाएको देखिन्छ । यसले निर्माण गरेको भाष्य प्रतिपक्षी मतसंग अर्थात् जय पराजयको कथा भन्दा शान्तिको विचारधारासंग नजिकिएको छ ।

दसैंको वहानामा अहिले राजनीतिक दलहरु शुभकामना कार्यक्रम गाउँ ठाउँमा राख्ने गरेको पाइन्छ । लामो विदा भएकोले यो वेला सबै भेटघाट गर्ने अवसर पनि ठानिन्छ । गाउँ ठाउँमा राजनीतिक दलका कार्यक्रमहरु आयोजना हुनु सकारात्मक विषय हुन् तर कार्यक्रमको उद्देश्य सहजै अनुमान गर्न सकिने देखिन्छ । आ आफ्नो दलको कार्यकर्ताबीच जमघट गर्ने र आफ्नै गाउँलेहरुबीच विग्रह पैदा गर्ने दलीय राजनीतिको लक्ष्य चुनावमा आफ्नो पक्षमा जित सुनिश्चित गराउने काम मात्र ठहर गर्नु न्यायोचित हुँदै होइन । 

धार्मिक आस्थाको हिसावले त गाउँलेलाई विभाजन गर्न नसकेको अवस्थामा दलीय मतमा विभाजन गर्न दसैंको उपयोग गरिआएको देखिन्छ । टकरावको स्थितिमार्फत विग्रह ल्याउने दुस्साहस गरिन्छ र कथित नेता कहलिन्छ । यो विषयमा आलोचना गर्न सक्ने जमात कहिं देखिन्न । कारण अहिले जनता यो वा त्यो स्वार्थवश दलीय भागबण्डामा बाँडिए । विचारले जोड्ने काम गर्छ तर जब विचारशुन्य अवस्थामा राजनीति हावी हुन पुग्छ, त्यसपछि दलहरु चुनावी मोर्चा मात्र हुने विश्लेषक सीके लालले एक दैनिककको अन्तरवार्तामा अभिब्यक्ति दिएका छन् । उनीहरुको कार्यक्रम त्यसपछि नारामा सीमित हुने र इमोसनल ड्रामा दोहरिई रहनेछ ।

अन्त्यमा, दसैंलाई अनेकन मताबलम्बीको संगम मान्न सकिन्छ । यसबारे सबैको आ आफ्नो भाष्य हुनु नराम्रो होइन । साथै हिन्दूहरुको महान पर्व बडा दसैं भनेर प्रचारित भए पनि गैरहिन्दूको पनि अंश रहेको बुझाउन सकिने ठाउँहरु छन् । 

तान्त्रिक मत कुनै हिन्दु सनातन मत होइन, कारण उनीहरुको ज्ञानको मूलश्रोत वेद हो र सोही तान्त्रिक अंश अथर्ववेदमा परेको कारण करिब सय वर्षसम्म वेदको दर्जा अथर्ववेदलाई दिइएन । वैदिक ब्राह्मणहरुको मतअनुसार अथर्ववेदमा अनार्य तत्व मिसियो । तर जब उनीहरुले तान्त्रिक मत विना आफ्नो हिन्दू धर्मलाई अगाडि बढाउन नसक्ने भए अथर्ववेदलाई चौथो वेदको रुपमा स्वीकार गरे । बुद्धिष्टको समस्या पनि सोही देखियो र बज्रयान शाखा सोही तान्त्रिक मत अबलम्बन गर्ने गरी अग्रसर हुँदा बुद्ध धर्म पनि अन्यले स्वीकार गर्न पुगे ।

यसको राजनीतिक कारण विशिष्ट देखिन्छ । वैदिक मतको केन्द्र प्रयाग राज मानिए तर वंगाल जहिले पनि शाक्त मत पक्षधर भए । शैव मत चुरे पर्वत लगायत हिमाली क्षेत्र ठहरिए । शैव मताबलम्बीहरु तर्कज्ञानमा सिद्धी प्राप्त गर्नेभन्दा प्रकृतिको शक्ति संरचनाभित्र सहअस्तित्वको जीवन बाँच्ने भए । त्यसैले उनीहरु विभिन्न रुप र नामले चिनिने गर्दछन् । कतै महादेव त कतै महेश्वर भनिने उही शिब हुन् भनिन्छ । तर शाक्त मताबलम्बी जब सिद्धी प्राप्त गरेर आउँछन्, उनीहरु तान्त्रिक विद्याको बलमा जीवन र जगतको बुझाई बनाउँछन् । 

ब्राह्मणहरुको कुल देवी गायत्रीसंग जुन दिन उनीहरु पापबाट मुक्त हुन ज्ञानको याचना गरे, सोही दिनदेखि उनीहरु अब तर्क र ज्ञान उपर आधिपत्य कायम गर्ने हैसियत बनाए । वेद र वेदांग निर्माण गर्न थाले । तार्किक ज्ञानमार्फत उनीहरु सबैको हैसियत निर्धारण गर्न ज्ञानको प्राधिकार लिए । 

त्यसको विपरित शाक्त मताबलम्बीहरु शुरुदेखि नै शक्ति नै सत्य निर्धारण गर्ने विषय बोध गरे । अहिले पनि यो दार्शनिक मत राजनीतिमा लागु गरिन्छ । विचारधारा अथवा सिद्धान्त नेतृत्वको लागि भए पनि बाँकी कार्यकर्ताको लागि शक्ति नै सत्य भएको मानिन्छ । शक्तिले नै स्वार्थको पूर्ति गर्न सम्भव बनाउने र संयन्त्रको रुपमा राजनीतिक दल स्थापित गर्ने राज्य प्रणालीले अझ टेवा दिने काम गर्न पुगेको हुन्छ ।

त्यसैले दसैंलाई एउटा कोणबाट परम्परा र चाडवाड भनौंला तर यसको व्यवहारिक परीक्षा राजनीतिक भाष्यमार्फत नै हुने गरेको छ । विजय पराजयको कथा र दसैंको मर्म बुझ्दा सारमा शक्ति आर्जन गर्ने माध्यमको रुपमा सबैबाट यसलाई उपयोग गर्ने गरिन्छ । 

द्रविड मूलका मानिसहरु जो महिषासुर वलिदानी दिवस मनाउन तयार भए, उनीहरु पनि अर्को पक्षबाट शक्ति आर्जनकै उपाय दसैंलाई बनाउन आतुर देखिन्छन् । यसको प्रभाव नेपाली समाजमा पर्ने पक्का छ । तर नेपाल भूखण्ड धार्मिक संंगम स्थल भएकै कारण यहाँ धार्मिक आस्थाको आधारमा लामो समय शक्ति संचय गर्न सकिने अवस्था छैन, जुन दुई सय पचास वर्षको राजतन्त्रको शान्तिपूर्ण अन्त्यको अवस्थाले पुष्टि गरिसकेको छ ।
लेखक सम्मान नेपालका संयोजक हुन् ।

Logo