1
1
Kendrabindu - News & Articles from Nepal

0 Shares

आदर्श ब्रह्मचारी थिए 'श्रीकृष्ण'

1
1
1
1
1
1
1
1

१६ वर्षको उमेरमा कंसको बध गरेपछि कृष्णलाई मार्गदर्शक र सल्लाहकारको रूपमा लिन थालियो। त्यसपछि, एकदिन उनका गुरु गर्गाचार्यले उनलाई भने, “तिमी जुन कुराको लागि यहाँ आएका हौ, त्यसलाई पूरा गर्न तिमीले शिक्षा लिन जरूरी छ। तिमीसँग अन्य सबैकुरा छ, तथापि तिमीले केही निश्चित शिक्षण व्यवस्था र अनुशासन पालना गर्नुपर्नेछ। जाऊ, गुरु सन्दीपनीको शिष्य बन ।“ अनि, कृष्णले त्यसै गरे । जब कृष्णले ब्रह्मचर्यमा दीक्षा लिए, उनीसँगै आएका बलराम र अन्य केही राजकुमारहरूले खिस्याउँदै भने, “तिमी यति स्वच्छन्द र चञ्चल भएर जीवन बाँचेका छौ, के तिमी ब्रह्मचारी बन्न सक्छौ र ?” कृष्णले जवाफ दिए, "केही निश्चित परिस्थितिहरूमा मैले त्यही गरेँ, जे आवश्यक थियो । तर, म सदैव ब्रह्मचारी रहेको छु। अब तपाईंहरू देख्न सक्नुहुन्छ कि म यो शपथ लिनेछु अनि यसलाई पूर्ण रूपले पालना गर्नेछु ।"

६ वर्षसम्म गुरु सन्दीपनीको मार्गदर्शन र आशीर्वाद प्राप्त गरी कृष्ण ब्रह्मचारीको रूपमा रहे । गुरु सन्दीपनीले उनलाई विभिन्न कलाहरू र अन्य विविध शिक्षाहरूमा निपुण बनाए। उनले सबै प्रकारका शस्त्र चलाउन सिके अनि चक्र प्रहारमा विशेष दक्षता हासिल गरे । उनी सुदर्शन चक्र चलाउनमा पोख्त थिए। यो धातुबाट बनेको चक्र हो, जसलाई सही तरिकाले प्रयोग गरिने हो भने घातक हतियारको रूपमा काम गर्दछ। कृष्णले फरक स्तरमा गएर यसको प्रयोग गरे ।

त्यसबेला, अन्य ब्रह्मचारीहरूसरह कृष्णले बाटोमा भिक्षा माग्दै हिँडे। जब तपाईं भिक्षा माग्न जानुहुन्छ, तपाईंले आफ्नो खानेकुरा छान्न पाउनुहुन्न । तपाईंको भिक्षा–पात्रमा हालिएको खानेकुरा राम्रो होस् वा सडेको होस्, जस्तोसुकै भएपनि तपाईंले त्यसलाई श्रद्धापूर्वक एवं आभार व्यक्त गर्दै खानुपर्दछ। ब्रह्मचारीले कहिल्यै पनि आफूले भिक्षा स्वरूप पाएको खानेकुरा प्रकृति वा स्वादको बारेमा सोच्नुहुँदैन । के खाने र के नखाने भन्नेबारे आफ्नो रुचि वा अरुचि व्यक्त गर्नुहुँदैन । जब तपाईं आफूलाई ब्रह्मचारी भन्नुहुन्छ, तपाईं दिव्यताको पथमा हुनुहुन्छ। भलै, खाना जरूरी भएपनि, तपाईंको पालन–पोषण भोजनमा मात्रै निर्भर रहँदैन ।

अतः कृष्ण आदर्श ब्रह्मचारी बने । कृष्ण, जो सँधै मयूरको प्वाँख भएको मुकुट अनि रेशमी कपडामा सजिएर बस्दथे, उनी एकाएक मृगको छाला लगाउने, आफ्नो साधनामा पूर्णतया समर्पित बनेका थिए । त्यसअघि कसैले पनि यति तेजश्वी भिक्षु देखेका थिएनन् । उनको सुन्दरता देखेर मानिसहरू मन्त्रमुग्ध हुन्थे । जुन समर्पण, ध्यान र शिष्टतापूर्ण तरिकाले उनी गल्ली–गल्लीमा दिनभरिको लागि खाना जुटाउन हिँड्थे, त्यो देखेर मानिसहरू मोहित हुन्थे। उनले चाहेका भए जुनसुकै बेला सम्राट बन्न सक्थे, तर उनले आफ्नो जीवनको पूरै ६ वर्षसम्म गल्ली–गल्ली घुम्दै भिक्षा मागे ।

मनुष्यलाई उच्च सम्भावनासम्म पुऱ्याउनको लागि विभिन्न परम्पराहरूमा फरक–फरक तरिकाहरू रचना गरिएका छन्। ब्रह्मचर्य एउटा तरिका हो । लीला अर्को तरिका हो। लीला भनेको तपाईंको शरीर, तपाईंको मन अनि तपाईंले "म" भनेर ठान्नुभएका सम्पूर्ण कुराहरूबाट मोहभङ्ग हुनको लागि सबैथोकहरू उपयोग गर्ने तरिका हो। चाहे तपाईं जप गर्नुहोस्, नाँच्नुहोस्, खानुहोस्, गीत गाउनुहोस्, वा चाहे जेसुकै गर्नुहोस्, त्यसमा शत–प्रतिशत सहभागी भएर आफूलाई त्यसमा पूरै समर्पित गर्नुहोस्। यसको लागि तपाईं स्त्रैण हुनुपर्छ, अर्थात् तपाईंमा स्त्री सुलभ गुण प्रबल हुनुपर्छ।

स्त्रैणको मूल प्रकृति भनेकै समर्पित हुनु, विलिन हुनु र ग्रहण गर्नु हो। चन्द्रमाको आफ्नो कुनै गुण हुँदैन। उसले सूर्यको प्रकाशलाई प्रतिबिम्बित (परावर्तन) गरिरहेको हुन्छ— तर, हेर्नुहोस् त त्यो कति सुन्दर बनेको छ । यदि चन्द्रमाले आफ्नै केही उट्पट्याङ्ग गरेको भए, यो यति सुन्दर हुने थिएन! सूर्य जीवनको स्रोत हो; सृर्यले जीवन कायम राखेको छ—त्यो फरक कुरा हो। तर, तपाईंभित्र केही दिव्य आयाम जागृत गर्न वा तपाईंमा काव्य वा प्रेमको भावना जगाउने सन्दर्भमा सूर्यको दाँजोमा चन्द्रमाले निकै महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। किनकि, यसको आफ्नो कुनै गुण हुँदैन, यसले केवल प्रतिबिम्बित गरिरहेको हुन्छ।

यदि तपाईं दिव्यतालाई जान्न चाहनुहुन्छ भने, त्यसको निम्ति एकमात्र तरिका भनेको तपाईंमा आफ्नो छुट्टै गुण नहुनु हो। तपाईं केवल प्रतिबिम्ब बन्नुहोस्। यदि तपाईं प्रतिबिम्ब बन्नुभयो भने, तपाईंले के प्रतिबिम्बित गर्नुहुनेछ ? केवल परम–सत्य !

वास्तवमा भन्ने हो भने, कृष्ण सदैव ब्रह्मचारी रहेका थिए । ब्रह्मचर्य अर्थात् ब्रह्म वा दिव्यताको मार्गमा हिँड्नु। भलै, तपाईं जुनसुकै धर्मसँग जोडिनुभएको भएपनि तपाईंलाई सदैव यही भनिएको छ अनि तपाईंको विवेकले पनि यही भन्दछ कि यदि ईश्वरीय उपस्थिति छ भने कि त त्यो सर्वव्यापी (सबैतिर रहेको) छ वा त्यो छँदै छैन, होइन त ? ब्रह्मचर्य भनेको सबैलाई आफूभित्र समाहित गर्नु हो।

यतिखेर तपाईं त्यस अवस्थामा पुग्नुभएको नहोला । तर, त्यहाँ पुग्नको लागि केही गरिरहनु भएको छ भने, तपाईं सही अर्थमा ब्रह्मचर्यको पालन गरिरहनु भएको हुन्छ । तपाईं 'म' र 'तिमी' भनेर विभाजन गर्न चाहनुहुन्न। यो पनि 'म' हुँ अनि त्यो पनि 'म'; न कि यो 'म' अनि त्यो 'तिमी'। यदि तपाईंले कसैलाई अर्को व्यक्तिको रूपमा हेर्नुभयो भने, त्यहाँ स्पष्ट भिन्नता हुन्छ। शारीरिक सम्बन्धको सन्दर्भमा 'म' र 'तिमी' को भिन्नता एकदमै गहिरो रूपमा व्यक्त हुन्छ। यसैकारण, ब्रह्मचारी आफूलाई यो भिन्नताबाट परै राख्न खोज्दछ, किनकि ऊ सबैलाई आफूभित्रै समाहित गर्न चाहन्छ।

कृष्णमा पहिल्यैदेखि आफूमा सबैथोक समाहित गर्ने गुण थियो । बाल्यकालको एउटा घटनामा कृष्णले माटो खाएका छन् कि छैनन् भनेर आमाले मुख खोल्न लगाउँदा उनले कृष्णको मुखभित्र पूरै ब्रह्माण्ड देखेकी थिइन्, जुन यो कुराको प्रतीक हो कि उनले आफूभित्र सबैथोक समावेश गरेका थिए । जब उनी गोपीहरूसँग नाच्दथे, तबपनि सबैथोक उनमै समाहित थियो। उनी र ती गोपीहरूको यौवनावस्थाको कारण केही चिजहरू भएपनि उनले त्यसलाई कहिल्यै आफ्नो सुखको लागि प्रयोग गरेनन् । न नै उनको मनमा त्यस्तो विचार उब्जियो। कृष्णले स्वयंले यो भनेका छन्, "म सदैव ब्रह्मचारी रहेको छु अनि सदैव सदमार्गमा हिँडेको छु। 

अहिले मैले एउटा औपचारकि कदम उठाएको मात्र हुँ। केही पनि मबाट अलग भएका छैनन् । परिस्थितिहरू मात्रै बदलिएका हुन्।" कृष्ण स्त्रीहरूका एकदमै रषिक थिए। यस विषयमा उनको बारेमा अनेक कथाहरू प्रचलित छन्, तर यी सबैथोक तब भयो जब उनी १६ वर्षभन्दा कम उमेरका थिए। १६ वर्ष भएपछि उनी पूर्ण रूपमा अनुशासित जीवन बाँच्न थाले। उनी जहाँसुकै गएपनि स्त्रीहरू उनीप्रति पागल हुन्थे, तर उनले कहिल्यै पनि आफ्नो सुखको लागि कुनै पनि स्त्रीको फाइदा उठाएनन्—एकपटक पनि। यसैलाई ब्रह्मचारी भनिन्छ।

–सदगुरुको प्रवचनमा आधारित

ब्लग

प्रकाशित: ३ पुष २०७८ १२:५२ शनिबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी