ओली–देउवा शुक्रबार पनि भेट : संवैधानिक निकायमा ‘भागबन्डा’ मुख्य एजेन्डा

ओली–देउवा शुक्रबार पनि भेट : संवैधानिक निकायमा ‘भागबन्डा’ मुख्य एजेन्डा


काठमाडौं ।

कोभिड–१९ को रोकथाममा प्रभावकारी काम गर्न नसकेको भन्दै सरकारविरुद्ध संस्थागत रूपमा आक्रामक नीति लिएका विपक्षी दलका नेता संवैधानिक निकायका नियुक्तिलाई लिएर प्रधानमन्त्रीसँग लगातार संवादमा जुटेका छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक्लै भेटेका विपक्षी दलका नेता शेरबहादुर देउवाले शुक्रबार नेता रमेश लेखकसहित भेट गरेका छन् । भेटमा प्रधानमन्त्रीसँगै नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी थिए ।

नेम्वाङले प्रधानमन्त्री र विपक्षी दलका नेताबीच विभिन्न संवैधानिक निकायका नियुक्तिमा केन्द्रित भएको जानकारी दिए । ‘उहाँहरूबीच गत १७ असारदेखि निरन्तर छलफल र संवाद हुँदै आएको छ । म पनि दुईपटक संवादमा जोडिएको छु,’ नेम्वाङले भने, ‘छिटो संवैधानिक निकायका विभिन्न पदहरूलाई पूर्णता दिने विषयमा छलफल केन्द्रित थियो ।’ नेम्वाङले २१ असारमा निवासमै पुगेर देउवासँग भेट गरेका थिए ।

संवैधानिक परिषदमा विपक्षी दलका नेता पनि हुने भएकोले छिटै परिषद्को बैठक डाकेर नियुक्तिका विषय टुंग्याउने समझदारी भएको छ । ‘छिटो संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल भयो । तर, कुन संवैधानिक निकायका पदलाई कसरी टुंग्याउने भन्नेबारे निष्कर्ष निस्केको छैन,’ उनले भने, ‘अब पुनः आइतबारतिर प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच संवाद गर्ने भन्ने भएको छ।’ पार्टीभित्र लगातार दबाबको सामना गरिरहेका प्रधानमन्त्रीले विपक्षी दलका नेतासँगको संवादलाई प्राथमिकतामा राखेका छन् । नयाँ पत्रिकाबाट

Logo