सन्दीपका वकिल भन्छन्- ‘माथिल्लो अदालतबाट न्याय पाउँछौं भन्ने आशा छ’

सन्दीपका वकिल भन्छन्- ‘माथिल्लो अदालतबाट न्याय पाउँछौं भन्ने आशा छ’


क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रिय कारगार पठाइएको छ । शुक्रवार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

अदालतले थुनछेक बहसमा प्राप्त प्रमाणलाई आधार मानेर क्रिकेटर लामिछाने निर्दोष हुन् भन्ने कुनै आधार नभएकाले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको सन्दीप पक्षधर अधिवक्ता सुधा रिजालले बताइन् ।  उनले थुनछेक बहसका प्रमाणहरु अहिले अध्ययन नहुने भएकाले पुर्पपक्षका लागि कारागार पठाइएको तर अदालतले कारागार पठायो भन्दै सन्दीप दोषी नै छन् भन्नसक्ने स्थिति नरहेको जिकिर गरिन् । 

उनले भनिन्, ‘आज सम्मानित अदालतबाट सन्दीप लामिछानेलाई थुनामा राखेर मुद्दा अगाडि बढाउने वा थुनाबाट बाहिर राखेर मुद्दालाई निरन्तरता दिने भन्ने बहस पैरवी भएको थियो । र, सम्मानित अदालतको बेञ्चबाट लामिछानेलाई कारगार भित्रै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ । हामी यसको रिभ्यूमा जान्छांैं । हामीसँग प्रमाणहरु छन । सम्भवतः जिल्ला अदालतबाट नपाएको न्याय माथिल्लो अदालतबाट पाउँछौं भन्ने आशा लिएका छौं ।’ 

त्यस्तै, अर्का अधिवक्ता यज्ञमणि न्यौपानले बलात्कारको आरोप लागेका व्यक्तिहरु उच्च अदालतमा जाँदा पनि जिल्ला अदालतकै निर्णयलाई स्वीकार गरिसकेको नजिर रहेकाले सन्दीप पक्षधर वकीलहरुले यसबारेमा सल्लाह गरेर अघि बढ्ने बताएका छन् । उनले नेपालको संविधान पुरानो भएकाले त्यसलाई परिमार्जन गरेर अघि बढ्न आवश्यक रहेको बताए । पुरानो ऐन, कानूनले गर्दा छुट्ने व्यक्तिहरु पनि बाध्यतावश कारागारमा जान बाध्य भइरहेकाले आम मानिसहरुमा नेपालमै बस्ने वा बाहिर जाने भन्ने मानसिकता आउने गरेको उनले उल्लेख गरे । 
 
क्रिकेटर लामिछानेले गत भदौं ५ गते राति काठमाडौंस्थित एक होटलमा लगेर जबरजस्तीकरणी गरेको भन्दै नाबालिकाको तर्फबाट भदौ २१ मा प्रहरीमा उजुरी परेको थियो । त्यसको भोलिपल्ट २२ गते प्रहरीले लामिछानेबिरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान शुरु गरेको थियो । जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले गत सोमवार लामिछानेविरुद्ध १० देखि १२ वर्षसम्म कैद र पीडितलाई अभियुक्तबाटै यथोचित क्षतिपूर्ति भराउन माग दाबी गर्दै काठमाडौं अदालतमा मुद्दा दायर गरेको थियो ।

Logo