सूचना आयोगको स्वास्थ्य मन्त्रालयलाई निर्देशन, ‘कोरोना संक्रमित र मृतकको सबै ठेगाना खुलाउनु’

सूचना आयोगको स्वास्थ्य मन्त्रालयलाई निर्देशन, ‘कोरोना संक्रमित र मृतकको सबै ठेगाना खुलाउनु’


काठमाडौं ।
राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट संक्रमित र मृत्यु भएकाहरुको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगाना मात्रै सार्वजनिक गर्दा अरु विवरण गोप्य रहेको र त्यसले संक्रमणको जोखिम बढाएको भन्दै आयोगले अस्थायी र स्थायी दुवै ठेगाना प्रकाशित गर्न निर्देशन दिएको हो ।

संक्रमित र मृतकका ठेगानाले नागरिकमा भ्रम सिर्जना गरेको भन्दै आयोगले उनीहरुको स्थायी ठेगानाका साथै अहिले बसोबास गरिरहेको ठेगाना उल्लेख गर्न निर्देशन दिएको हो । ‘उनीहरुको स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको ठाउँ फरक हुन सक्छ’, निर्देशनमा भनिएको छ, ‘एउटा मात्रै स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा भ्रम तथा अन्योल भएको पाइएको छ । त्यसरी प्रवाह भइरहेको सूचनामा थप स्पष्ट गराउन आवश्यक छ ।’

केही दिन अघि मकवानपुरको नागरिकता भएको एउटा व्यक्ति संक्रमित भएको सूचना मन्त्रालयले सार्वजनिक गर्‍यो । तर पछि खोजबिन हुँदा उनको नागरिकता मकवानपुरको भए पनि उनी हाल अन्यत्र नै बसोबास गरिरहेको खुल्यो । मन्त्रालयको विज्ञप्तिमा भने मकवानपुर निवासी भन्ने बेहोरा नै उल्लेख थियो । आयोगले यस्तै अन्योल हटाउन निजी गोपनियताका विषयबाहेक ‘कन्ट्याक्ट ट्रेसिङ’लाई सहज हुने स्थायी ठेगाना र बसोबासका सबै विवरण स्पष्ट पार्न निर्देशन दिएको हो ।कान्तिपुरबाट

Skip This
Logo